Tuesday, May 27, 2008

रकुवा र डेढगाउमा मोटरबाटोको लागि साढे आठ लाख रुपैयाँ


कालिटाइम्स संवाददाता
डेढगाऊँ, नवलरासी
गत वर्षको बाढीले विगारेका मोटर बाटो, पुल, कुलेसा, नहर, खाने पानी लगायत विकास निर्माणका काम हिउँद गइसकेपछि वर्षा यामको सुरुसँगै मर्मत हुन थालेको छ ।
मोटर बाटो मर्मत तथा निर्माणको लागि आठ लाख ५१ हजार रुपैया वैशाखको अन्तिम साता मात्र आएकाले बल्ल काम सुरु गर्न थालिएको बाटो निर्माण समितिका अध्यक्ष लालबहादुर बोहराले बताउनुभयो ।
डेढगाउ र रकुवा गाविसको जेठ ४ गते बसेको संयुक्त वैठकले वौंदीखोलाबाट भुलाड हुदै वाम्दी खोला सम्म पाँच लाख २५ हजार रुपैया तथा वौंदीखोलाबाट फेदी, हटिया हुदै राइकाभञ्याङ्ग सम्मको बाटो मर्मत तथा निर्माणका लागि तीन लाख २५ हजार रुपैया छुटयाएर काम सुरु गर्ने निर्णय गरेको थियो ।
यस्तै पोहोर भदौमा बाढीले भत्किएको डेढगाउँको नहरको काम २०६५ जेठ ६ गतेबाट बल्ल सुरु भयो । नहर मर्मतका लागि आवश्यक रकम वैशाखको अन्तिम सातामा बसेको गाउँ परिषदले छुट्टयाएपछि मात्र काम सुरु हुन थालेको हो ।
नहर मर्मतका लागि गाविसले दिएको दुइ लाख ७५ हजार रुपैया बाहेक प्रति रोपनी एक सय आठ रुपैयाका दरले उपभोक्तासँग रकम संकलन गरी काम सुरु गरिएको हो । "हिउँद भरी सरकारको मुख हेरेर बसियो, अब केही नहुने देखिए पछि आफै पैसा उठाएर भए पनि काम गर्नु पर्‍यो डेढगाउँ जल उपभोक्ता समितिका कोषाध्यक्ष कमल दर्राईले भन्नुभयो ।
यस्तै वौंदी खोलाको झोलुङ्गे पुल मर्मतको लागि पनि केन्द्रबाट रकम निकासा भएपछि ठेकदार गाउँ आएका छन् । स्थानिय टंक पुलामीका अनुसार जेठको पहिलो सातामा आएर जाली राख्न घोल खन्ने काम र ढुङ्गा बोक्ने काम भइरहेको छ ।
पुल मर्मतको जिम्मा पाएका ठेकेदार बहादुर थिङले सात-आठ लाखको हाराहारीमा वजेट जिल्लाबाट आएको कुरा स्थानीय बासिन्दालाई बताउँदै आएका छन् ।
सो रकम मध्ये ढुङ्गा बोक्न भुम बहादुर मल्ललाई एक लाख १५ हजार रुपैया र र जाली भर्न खड्ग बहादुर शारुलाई असी हजार रुपैया दिइएको पुलामीले जानकारी दिनुभयो । पुलामीले वर्षा अगाडि नै मर्मत गर्न नभ्याइए यस वर्षको वर्षामा पुल थप क्षतिग्रस्त हुन सक्ने बताउनुभयो ।