Monday, May 26, 2008

प्रधानाध्यापकले विगारे विद्यालय

कालीटाइम्स संवाददाता,
डेढगाऊँ, नवलपरासी
विद्यार्थी धेरै भएर पढाउन गार्‍ह्रो भएका उदाहरण थुप्रै पाइन्छन्, तर विद्यार्थी थोरै भएर पढाउन असजिलो भएको छ, डेढगाऊँ ४ को बालहित प्रा.वी .मा । बालहित प्रा.वि. मा तीन शिक्षक कार्यरत छन्, तर विद्यार्थी भने जम्मा एघार जना मात्र ।
यस विद्यालयमा यसपटक कक्षा एक र दुइमा तीन-तीन जना र कक्षा-तीनमा २ जना तथा बाल शिक्षा कार्यक्रममा तीन जना विद्यार्थी मात्र भर्ना भएकाछन् । तर, विद्यार्थी थोरै भएकाले सबै विद्यार्थीलाई एउटै कोठामा राखेर पढाउने गरिएको शिक्षकहरु बताउँछन् ।
जापानी सहयोगी संस्था जाइकाले २०५६ सालमा बनाइदिएको दुइ कोठे पक्की भवन र स्थानीय अभिभावकहरुले जनश्रमदानबाट बनाएको दुइ कोठा गरी विद्यालयमा चार वटा कोठा भए पनि विद्यार्थी नहुँदा ती कोठा खालि छन् ।
विद्यार्थी थोरै भर्ना भएकाले अब ११ जना विद्यार्थी पढाएर बस्न नसकिने भन्दै बालहीत प्रावीलाई अन्यत्र लगेर गाभ्नु पर्ने प्रधानाध्यापक भूपराज पोख्रेलले बताउनुभयो । उता स्थानीय अभिभावक जीतबहादुर सारुले भने विद्यालय सार्ने कुराको विरोध गर्दै विद्यालय राम्रो सँग संचालन गरेमा विद्यार्थी थपिनेमा विश्वास व्यक्त गर्नुभयो । अभिभावकहरुले प्राधानाध्यापक पोख्रेलले अत्याधिक मादक पदार्थ सेवन गर्ने र विद्यालयमा ध्यान नदिने गरेका कारण पनि विद्यार्थीहरु सो विद्यालयमा भर्ना नगरिएको बताएका छन् ।
पोख्रलले पनि आफू विद्यालयमा अनियमित हुने गरेको र आफू मादक पदार्थको लतमा लागेको स्विकार गर्नुभयो । प्रधानाध्यापक पोख्रेल यस अगाडीको शैक्षिक सत्रमा पनि विना जानकारी ८ महिनासम्म विद्यालयमा सर्म्पर्क नगरी अन्यत्र गएका थिए ।