Wednesday, May 21, 2008

सिहटारी सामुदायिक बनमा तारबार लगाउने धोको

वृन्दा कोइराला
सिंहटारी, डेढगाउँ

सिहंटारी सामुदायिक बन संरक्षणका लागि डेढगाउँ ८ नम्बर बासीले दैनिक बनमा पहरा दिने गरेका छन् । करीब एक सय पचास रोपनी क्षेत्रफलमा फैलिएको बनको घाँस पात चोरी नहोस् र बनमा डढेलो नलागोस् भनेर पालै पालो पहरा दिने गरिएको सिंहटारी सामुदायिक बनका सचिव डोलराज खत्रिले बताउनुभयो ।

बन कुरुवा पर्ने पालोको सूचना दिन एक दिन अगाडि पालो पर्नेको घरमा एउटा लौरी आइपुग्छ । सिंहटारीबासीले एक दिनमा दुइ घर मिलेर बन कुर्ने गर्छन् । सिंहटारीमा १५ वर्षअगाडि देखि बन जोगाउन सुरु गरिए पनि चार वर्षअगाडि मात्र सिंहटारी सामुदायिक बन दर्ता भएको हो । एक्सन एडले दिएको तीन हजार सिसौका विरुवा वृक्षारोपण गरेर सामुदायिक बनको सुरुवात गरिएको थियो । यस्का साथै कालीपारबाट सालका फूल ल्याएर पनि यहाँ बन बढाइएको स्थानीय व्यक्तिहरु बताउँछन् ।

बनको दाउरा घाँस, बाँस, खर र अम्रिसो बेचेर तथा चोरी गर्नेलाई जरिवाना तिराएर सामुदायिक बन उपभोक्ता समितिले करिब ४५ रुपैया आम्दानी पनि गरेको छ । सो रकमबाट डेढगाउँ प्रा.वीको विद्यालय भवन निर्माणमा सहयोग गर्नुका साथै सिंहटारी बाल विकास केन्द्रका शिक्षिकालाई मासिक पाँच सय रुपैया उपलब्ध गराइएको सचिव खत्रीले जानकारी दिनुभयो ।

वन राम्रो हुँदै गएपछि आजभोलि डेढगाउँका अन्य क्षेत्रका मानिसहरु पनि सिंहटारी सामुदायिक बनको सेन्टारमा वनभोज जाने गरेका छन् । बन कुर्न जाँदा पानी खानका लागि धारो र कुरुवा बस्ने छाप्रो तत्काल निर्माण गर्नु पर्ने उपभोक्ता समितिका सदस्य डीलबहादुर थापाले बताउनुभयो ।
सामुदायिक बनलाई प्रभावकारी रुपमा सुरक्षा गर्न वन वरिपरि तारबार लगाउन आवश्यक सहयोग गर्ने संस्थाको खोजी भइरहेको स्थानीय बासीले बताए ।

1 comment:

  1. Hello, Kalitimes.
    I loved this post and this blog.
    have a nice day

    ReplyDelete

Please leave your comment here