Friday, August 3, 2012

भिजिटिङ कार्ड बाँड्दा

अस्ति एकजना (खोई को हो/हो ?)मोटरसाइकल चालकले मोटरसाइकल लगेर गाडीमा ठोकेछन्। गाडी चालकले क्षतिपूर्ति मागेपछि ' अहिले हतार छ। एउटा जरुरी काम सकेर म दिउसो तपाइलाई फोन गर्छु र गाडी बनाउँदा लागेको खर्च दिन्छु' भन्दै पर्सबाट एउटा भिजिटिङ कार्ड दिएछन् ठोक्याएको गाडी चालकलाई।

गाडी चालक भलादमी रहेछन्, कार्ड हेरेपछि 'हुन्छ नि तपाइको काम सकेपछि मलाई फोन गर्नु' भन्दै आफ्नो पनि कार्ड दिएछन् मोटरसाइकल चालकलाई। साँझतिर मलाई फोन गरे, 'खोई त सम्पर्कै गर्नुभएन' भन्दै। म अलमलमा परें। पछि बुझ्दै जाँदा थाहा भयो, ती मोटरसाइकल चालकले मेरो भिजिटाङ कार्ड पो ती गाडी चालकलाई दिएका रहेछन्। आफू साइकल पनि नभएको मान्छे झन्नै मोटरसाइकल ठोक्काएको आरोपमा हर्जना तिर्नमा फसिएन।
हर्जना तिर्न नपरे पनि गाडी चालकले डाइलग भने मारे - आफ्नो भिजिटिङ कार्ड बाँड्दा खेरि अलिकति होस गरेर बाँड्नु परो नि। फेरि मलाई भेटेपछि मात्र उनको चित्त बुझ्यो। नभेटिन्जेल फोनमा कुरा गरेर चित्तै बुझाएनन्। फोनमा कुरा गरुन्जेल ट्राफिक कार्यालयमा लगेर यही भिजिटिङ कार्ड दिन्छु भन्दै जिद्दी गरिरहे। भेटेपछि भने दुर्घटना गराउने म होइन भन्ने उनलाई पक्का भयो।

पत्रकार मित्र गजेन्द्र बुढाथोकीलाई पनि एकपटक त्यस्तै भएको रहेछ। उहाँले लेख्नुभएको -
'धेरै वर्षअगाडि म नि यस्तै प्रकरणमा फसेको छु, एउटाले सुन्धारातिरको कुनचाहिँ दोहोरी साँझमा गएर मस्त खाएछ, ठूल्ठूला गफ गरेछ । घाटामा गएको त्यो रेष्टुराँ किन्ने गफ दिएछ (लगभग किन्ने अन्तिम निस्कर्षमै पुर्याएछ) र हिँडेछ । मलाई तारान्तार रेष्टुराँको मालिकले लौन सर, डील गर्न आउने होइन भनेर हैरान । म कहिले दोहोरी साँझतिर नधाउने मान्छे, धन्न बिलचाहि तिराएन । म बालबाल बचेँ।'

रमाइलो गर्नेहरु पनि त्यस्तो काम गरिरहेका हुन्छन्। विभिन्न खाले प्रदर्शनीमा जानेहरुले अरुको कार्ड र फोन नम्बर टिपाइदिदाँ रहेछन्। अनि तपाइलाई चिट्टा पर्यो भन्दै त्यो प्रदर्शनीमा सामान/सेवा वेच्न राखेकाले फोन गरेर हैरान पार्छन्। कम्प्युटर कोर्स एक लाख ४० हजारको तपाइको फोन नम्बरलाई चिट्टा परेकाले ३० हजारमा हुन्छ भनेर एकपटक मलाई पनि फोन आएको थियो।

गाडी, कम्प्युटर, सोलार इनर्जी बेच्न राखेका स्टलमा पनि भिजिटरहरुको नाम र नम्बर टिप्ने व्यवस्था हुन्छ, पछि सम्पर्क गर्नका लागि । त्यसमा तपाइको साथीले तपाइको नाम र नम्बर टिपाइदियो भने कहिलेकाही माइक्रो नपाएर झोक्य्राएर बसिरहेको बेला तपाइलाई नयाँ मोडलको गाडी आयो नि भनेर फोन आउन सक्छ।


No comments:

Post a Comment

Please leave your comment here