Thursday, September 22, 2011

विपश्यना अनुभव

दशैं नजिकै आउँदै गर्दा पोहोर साल दशैंको सम्झना आयो। पोहोर दशैंमा विपश्यना शिविरमा जानका लागि नाम लेखाए पनि मेरो नाम प्रतिक्षासूचीमा थियो । महिनाका दुई चोटि हुने अरु बेलाका शिविरमा करिब सय जनामात्र सहभागी हुने भए पनि दशैंका बेला बिदा पर्ने भएकाले शिविरमा जान तीन सय ५० जतिले नाम टिपाएका थिए। शिवपुरीको फेदीमा रहेको शिविरस्थलमा एकपटकमा दुई सय ८० भन्दा धेरैले ध्यान गर्न नमिल्ने रहेछ। प्रतिक्षासूचीमा नाम भएकाले  विपश्यना जाने दिन मध्यान्ह १२ बज्नासाथ घरबाट ध्यान केन्द्रको सम्पर्क कार्यालय ज्योतिभवन कान्तिपथ लागेँ ।

किन ध्यानमा
चार वर्ष अगाडि कान्तिपुर टेलिभिजनमा सँगै काम गर्दा साथी सन्तोष शर्मा ध्यान गरेर फर्केपछि शिविरमा बस्ने रहर पलाएको थियो। उनको अनुभव उतिबेला 'नेपाल' पत्रिकामा पढेको थिएँ। शान्त प्राकृतिक वातावरणमा १० दिन मौन भएर बस्नुपर्ने र हरेक साञ्चारिक गतिविधिबाट टाढा हुनुपर्ने कुराले मलाई खुब लोभ्याएको थियो। राजदरबार हत्याकाण्डका बेला विपश्यना बसेर फर्केकाले वीरेन्द्रको वंशनाथ भएको खबर हत्याकाण्डको ११ दिनपछि शिविरबाट फर्केपछि मात्र थाहा पाएका भनी सन्तोषले लेखेको पंक्तिले मलाई आकर्षित गरेको थियो। त्यत्रो हत्याकाण्डका बारे पनि थाहा नपाई ध्यानमा निर्लिप्त हुँदा कस्तो होला भन्ने लागिरहन्थ्यो।

१० वर्षदेखि मुख्य गरी दैनिक अझ त्यसमा पनि प्रतिक्षण हरेक घटनाको जानकारी राख्नुपर्ने खालको जागिरमा व्यस्त भइरहँदा मोबाइल, फोन, इन्टरनेट, रेडियो, टिभी, पत्रपत्रिका. डायरी सबैबाट टाढा बस्न सक्छु कि सक्दिन भनेर आफ्नै परीक्षा पनि लिन मन थियो।

प्रतिक्षासूचीमा भएकाले ज्योतिभवनमा एकछिन अलमल भइरह्यो। जान पाइन्छ कि पाइँदैन होला भन्ने डर थियो। नपाए पनि ठिकै छ घर फर्कौला के पो बिग्रन्छ र भन्ने लाग्यो। घर परिवार र साथीभाइले पनि ध्यानमा नलाग्न सम्झाउँदै थिए। शिविरमा जान पाए आफू खुसी नपाए घरपरिवार साथीभाइ खुसी भन्ने मनमा थियो।

आखिर जान पाइने भयो । एक जना आचार्यले ज्योतिभवनमै एकघन्टा जति विपश्यना बस्नेले पालन गर्नुपर्ने नियम बताए - बोल्न, लेख्न, पढ्न, कुनै पनि प्रकारको इसारा गर्न नपाइने कुनै जीव हत्या गर्न नपाइने पुरुष र महिलाका लागि फरकफरक स्थान छुट्याइएकाले सकभर देखिन पनि नहुने, एक छाकमात्र खाना खान पाइने र बीचमा शिविर छोड्न नपाइने। शिविरमा बसिन्जेल अरु कुनै प्रकारको ध्यान नगर्न पटकपटक भने। मैले धेरै पहिले सूर्य-प्रकाशको सहायताले आफ्नो र अरुको शरीरको उपचार गर्ने रेकी ध्यान सिकेको थिएँ। यसको उपयोग पनि गरेको थिएँ। रेकीको नामै लिएर त्यसको प्रयोग नगर्न उनले सचेत गराए।

बस चढेर शिवपुरी निकुञ्जको प्रवेशद्वारछेउ शिविरस्थल पुग्दा अपराह्नको चार बजिसकेको थियो। लेखपढ गर्न नपाइने भनेकाले कापी, कलम, किताब बोकेको थिइनँ। एकछिन लाइनमा बसेर मोबाइल र पर्स बुझाएँ। एकपटक विपश्यना बसिसकेकाहरु स्वयं सेवक बनेर सहयोग गरिरहेका हुने रहेछन्। ती मध्येकै एकले मलाई १० दिन सुत्ने कोठामा लगे। एकदम साधा कोठा। दुई वटा बिस्तरा। ट्वाइलेट र बाथरुम भित्रै तर छुट्टाछुट्टै। बाथरुममा चिसो र तातो पानी दुवैको व्यवस्था।

मभन्दा पहिले कोठामा अर्का पाहुना पुगिसकेका रहेछन्। उनले परिचय मागे। साथी विनिता दाहालले ध्यान बस्नुपहिले कसैसँग कुरा नगर्नु है भनेकी थिइन्। ती साथीले परिचय मागी त हाले। आफ्नो नाम थर वतन पेसा सबै बताएँ। उनी छ पटक शिविरमा बसिसकेका रहेछन्। कान्तिपथमा बेड नम्बर बाँड्नेले मलाई भनेका थिए- तपाई लकी हुनुहुँदोरहेछ। तपाईंका रुम पार्टनरले तपाईंलाई डिस्टर्ब गर्दैनन्। तपाईंले पनि नगर्नुहोला। रुम पार्टनर राम्रो पर्नु पनि विपश्यनाका लागि आवश्यक छ। एक जना मात्र पनि हल्ला गर्ने पर्यो भने ध्यान बिगारिदिन सक्छ।

ध्यान शिविरमा जानुपहिले कान्तिपथबाट उपलब्ध गराइएको फारम दुईतीन पटक पढेको हुँ। तर खास ध्यान दिएर पढिएनछ क्याहो। सुत्नका लागि डसना शिविरबाटै उपलब्ध हुने भए पनि सिरक, तन्ना र तकिया आफैंले लानुपर्ने रहेछ। मैले लगाउने कपडाबाहेक पातलो बर्को र तन्नामात्र झोलामा प्याक गरेको थिएँ।
धन्न म सुत्ने कोठामा कसले छोडेको सिरक रहेछ खोल नहालेको। सहकोठे मित्रले तन्ना पनि दिए। मैले तन्ना भएको बताएपछि उनले त्यो तन्ना स्टोरमा लगेर राखिदिन र सिरकको खोल मागेर ल्याउने सल्लाह दिए।सिरकको खोल त पाएँ तर धेरै नै मैलो । ११ रात त्यही सिरकमुनि आफ्नो बर्को उडेर सुतेँ।

खानपान
पहिलो दिन आर्यमौन सुरु हुनुपहिले सहकोठे मित्रले खाना कम खान सल्लाह दिए। जुन पछि असाध्यै काम लाग्यो। हरेक दिन बिहान ४ बजे उठेपछि साढे चार बजे ध्यान सुरु हुन्थ्यो। बिहान साढे ६ बजे पहिलो खाजा दिइन्थ्यो। कहिले खिर, कहिले पाउरोटी, कहिले च्याख्ला, आलुचनाका तरकारी, चियादुध। कसैकसैले थपेर नि खान्थे। पहिले पनि शिविरमा बसिसकेकाले बिहानको खाजामा फलफूल पनि पाउँथे।

नयाँलाई बिहानको नास्तामा फलफूलको व्यवस्था थिएन। जसजसले बिहान फलफूल खाए, ती पुराना साधक भनेर चिनिन्थे। मलाई अचम्म पनि लाग्यो, कोहीकोही नयाँ साधकले पनि बिहानको नास्तामा फलफूल लिन्थे। साँझ नयाँ साधकलाई मात्र दिइने फलफूल पनि तिनले लिन्थे। मलाई कुन साधक नयाँ र कुन साधक पुरानो जान्न मन लागिरहन्थ्यो । बेलुका कागतीपानी मात्र खाने देख्नासाथ यो पुरानो साधक रहेछ भनेर थाहा हुन्थ्यो।

बिहान खाजापछि ८ बजे फेरि ध्यान सुरु हुन्थ्यो। ११ बजे खानाको लाइन। बिहान ११ बजेको खानामा दालभात, तरकारी, रोटी अचार। लसुन, प्याज, टमाटर नहालेको खाना। कहिलेकाहीँ अमिलो अचार पनि दिइन्थ्यो। साँझ ५ बजे नयाँ साधकलाई दुइटा केरा, स्याउका दुई टुक्रा र सानो कचौरामा भुजा अनि चिया दिइन्थ्यो। पुराना साधकलाई कागती-पानी मात्र।

बिहान एक छाक मात्र दिइने भएकाले होला मैले मानिसले त्यति धेरै खाना खाएको अन्यत्र देखेको छैन। ठूला थालमा दुई थाल भात बजाउँथे कतिले । सत्यनारायण गोयन्का जसको डिभिडीबाट दिइएको निर्देशनले शिविर चलाइन्छ, उनले ध्यान बस्नका लागि पेटभरिको खानाले असजिलो गर्छ भने पनि ध्यान बस्न गएकाहरुले दुई छाक पुग्ने खाना एकै छाकमा खान्थे ।

शिविरको पहिलो रात त्यहाँ पनि फेरि कान्तिपथमै भनिएका नियम दोहोर्याइए । सबैलाई एकुन्टा नम्बर बाँडियो। ध्यानकोठामा जुत्ताचप्पल बाहिर राखेर छिरेपछि चकटीहरु लहरै मिलाएर राखिएको थियो । स्वयंसेवकलाई आफ्नो नम्बर भनेपछि पन्थ मारेर बस्न मिल्ने चकटी देखाइदिए। त्यहाँ पनि नम्बर थियो । ११ दिन त्यही चकटीमा बसेर ध्यान।

आनापाना
पहिलो रात ध्यानमा बसेपछि आर्यमौन सुरु भयो। ध्यान भन्नु आँखा चिम्लेर आफ्नो सासलाई मात्र हेर्नु थियो। अन्यत्रजस्तो यहाँ ध्यानमा संगीत थिएन। जति सकिन्छ मनलाई अन्यत्र जान नदिई नाकबाट सास आएको र गएको मात्र हेर्न आचार्यले निर्देशन दिए। त्यसलाई आनापाना भनिँदो रहेछ।

करिब एक घन्टा आँखा चिम्लेर श्वास प्रश्वासमा ध्यान दिन खोजेँ। धेरै त मन डुल्यो। केके कुरा मनमा आए, आए घरिघरि सम्झँदा श्वासप्रश्वासमा ध्यान लगेँ। बिहान चार बजे उठ्नुपर्ने र राति साढे ९ बजे ओछ्यानमा पल्टिनुपर्ने नियम थियो । पहिलो रात छिट्टै निद्रा पर्यो पनि।

पहिलो दिन
बिहान चार बजेको घन्टीसँगै निद्रा खुल्यो। नित्यकर्मपछि साढे ४ बजे ध्यान बस्न सुरु कोहीकोही उठेर ध्यानस्थलमा नआउने भएकाले स्वयंसेवक नै गएर तन्ना तान्दिएर उठाउने रहेछन्। बोल्न र कोट्याउन त मनाही नै। कोहीकोही राति सुत्न नसकेर होला ध्यानस्थलमा आएपछि घुर्थे।

एकाबिहानै पन्थ मारेर बस्नुपर्ने तर कहाँ सक्नु ! घरि खुट्टा यता चलायो घरि उता । अरु कसरी बसेका छन् भनेर आँखा खोलेर यताउता पल्याकपुलुक पारेँ । पहिलो दिनबाटै दिनभर पन्थ मारेर बस्नुपर्दा घुँडा र कम्मरमा पीडा हुन थाल्यो ।

बिहान साढे ६ देखि ८ बजेसम्म तथा ११ बजेदेखि दिउसो १ बजेसम्म र बेलुका ५ देखि साढे ६ सम्म र घरिघरि पिसाब फेर्न पाँच मिनेटको छुट्टीबाहेक अरु बेला दिनको करिब १० घन्टा जतिखेर पनि आँखा चिम्लेर पन्थ मारेर बस्ने काम हुन्थ्यो । दिनभर आँखा चिम्लेर होसमा बस्दा मनमा के मात्र कुरा आएन र ! घरि पुराना कुरा सम्झियो घरि भविष्यका योजना बनाइयो । घरिघरि झसंग हुँदाचाहिँ श्वासप्रश्वास र नाकमा ध्यान लगेँ ।

एकदिन बिराई सहायक आचार्यले चारपाँच जनाको समूहमा बोलाएर ध्यान कस्तो भइराछ भनेर सोध्दा रहेछन्। त्यहाँ अलिक बोलिन्थ्यो। ध्यानका विषयमा केही सोध्न मन लागे उनलाई सोध्न पनि पाइने। ध्यान बस्नासाथै कतिले भगवान देखेँ भन्दा रहेछन्। कतिलाई आत्मा परमात्मासँग साक्षात्कार भयो भन्ने पर्दो रहेछ। साँझ साढे ७ बजेपछि हरेक रात आचार्य गोयन्काको प्रवचनको भिडियो देखाइन्थ्यो । त्यसमा गोयन्काले आँखा चिम्लिएर बस्दा देखिएका ती अनेक आकृति प्रकृति झुटा हुन् भन्थे। तैपनि मानिस अनेकअनेक कुरा महसुस गर्दा रहेछन ।

अन्यत्र कतिपय ध्यानमा श्वासप्रश्वासको व्यायाममार्फत अर्धचेतन अवस्थामा पुर्याइन्छ। त्यसो गर्दा कति मानिस रुने, कराउने, चिच्याउने पनि गर्छन्। तर विपश्यनामा भने गुरु गोयन्काले पूर्ण सचेत भएर सामान्य श्वासप्रश्वासमा ध्यान दिन भनिरहेका थिए।

दोस्रो दिन
दोस्रो दिन सहायक आचार्यलाई अनुभव सुनाउँदा एक जनाले सास पत्ता लगाउनै नसकेको बताए। मेरो दोस्रो दिन त धेरै समय एक जना गाउँले साहित्यकारको विषयमा डकुमेन्ट्री बनाउने, पत्रिकामा कसरी तिनको विषयमा लेख्ने भनेर प्लट बुन्दै बित्यो। ती आफन्त साहित्यकारले खेतबारी बेचेर सुको लाभ नहुने भए पनि बालुवामा पानी हालेझैं पुस्तक निकालेका छन्।

गोयन्काको प्रवचनमा दोस्रो र छैटौं दिनमा कसैकसैलाई शिविर छाड्न मन लाग्ने बताएका छन् । मलाई पनि छैटौं दिनमा हो क्यारे बेकारमा दसैंमा घरमा रमाइलो गरेर नबसेर खुट्टा र कम्मर दुखाउन यहाँ आइएछ भन्ने लाग्यो। घरपरिवार इष्टमित्र साथीभाइका सम्झना आइनै रहे । देशविदेशमा केके घटना भए होलान् भन्ने पनि लागिरह्यो।

तेस्रो दिन
शिविरस्थल एकदम शान्त भएकाले त्यहाँ चरा कराएका भन्दा अरु आवाज सुनिन्थेन। तेस्रो दिन ध्यान नाकमा केन्द्रित गर्न भनेपनि मैले पालैपालो महिला संगीहरु सम्झिरहेँ। मनमा कहिले सुरका कुरा आए कहिले बेसुरका। छिनछिनमा प्रसंगै नमिलेको कुरा पनि आउने रहेछ । मनमा बेसुरले कुरा चलेपछि थाहा भयो- घरिघरि मन त पागल नै पो हुँदोरहेछ।

चौथो दिन
गुरुले चौथो दिन नाकको तल्लो भाग र ओठमाथि जुँगा आउने ठाउँमा मात्र ध्यान केन्द्रित गर्न भने । कतिपयले बस्न नसकेर अडेस लगाउने ठाउँ खोज्न थाले। कतिले चकटी थपे त कतिले तकिया ल्याएर आसन सजिलो बनाउन थाले। घुँडा र कम्मरको पीडा त कति हो कति बढ्दै गयो। बोल्न पाउने भए त कति अनुभव साटासाट हुन्थ्यो होला !

पाँचौ दिन
पाँचौं दिनपछि बिहान, दिउसो र साँझ एक एक घन्टा गरी दिनमा तीन घन्टा हलचल नगरी ध्यान गर्नुपर्ने । बाफ रे अत्यासै लाग्ने। सहायक आचार्यकहाँ अनुभव बाँड्दा एकजनाले ध्यानमा बस्दा वन, पहाड, पहरा, झरना देख्ने गरेको भनेर हँसाए। के गर्नु त्यहाँ हास्न बन्देज। पुरा होसमा ध्यान गर्दा ती कुरा नदेखिनुपर्ने।

पाँचौं दिन त मैले रेकीलाई ल्याएर ध्यानमा मिसाएजस्तो गरेँ । छातीभित्र दाग देखिएको भन्दै मलाई चिकित्सकले मादक पदार्थमा बन्देज लगाएका छन् । मैले सारा ध्यान आफ्नै छातीभित्र लगेँ । ध्यान लगेँ भनेको आँखा चिम्लेर मनले त्यहाँका अंग हेरेँ भनेको । छातीभित्रको दाग कहाँ होला भनेर खोज्ने प्रयास गरेँ । मुटुका धमनीमा पनि बोसो जमेको हो कि भनेर बोसो निकालेर फालेको कल्पना गरेँ ।

पाँचौ दिन अपराह्न विपश्यना दिइँदो रहेछ । नाकवरपरबाट ध्यान तालुमा लाने र तालुबाट बिस्तारै शरीरका अंगअंगमा लैजान गुरुले दिने निर्देशनलाई विपश्यना दिने भनिने रहेछ । आँखा चिम्लेर शरीरका हरेक भागलाई जति सकिन्छ ससानो टुक्रा बनाएर हेर्दै जानुपर्ने रहेछ । यसरी कल्पना गर्दा जहाँ कल्पना गर्यो त्यहाँ केही न केही संवेदना महसुस हुँदोरहेछ । कहिले कुनै अंगमा आनन्द लाग्दा र कहिले कुनै अंगमा एकदम भारी अरट्ठ परेको तथा पीडा हुने संवेदना महसुस हुँदो रहेछ। ती फरकफरक अनुभवलाई समानरुपले हेर्ने आनन्दको अनुभव आउँदा खुसी हुने र पीडाको अनुभव आउँदा दुःखी नहुने दुवै संवेदनामा समभाव राखे जीवनमा दुःखकष्टबाट मुक्ति पाइन्छ भन्ने सन्देश विपश्यनाबाट दिन खोजिएको रहेछ।

गौतम बुद्धले २५ सय वर्षअघि सिकाएको विधि रहेछ विपश्यना । आफ्नै शरीरभित्र उठिरहेका हरेक संवेदनालाई समान रुपले हेर्ने मानिसले सुख र दुःखलाई समानरुपले ग्रहण गर्न सक्छ र त्यो मानिस सधैं शान्तिमा हुन्छ भन्ने विपश्यनाको मुल मर्म हुनुपर्छ । यसका लागि शरीरका बाहिरी र भित्री सबै भाग र अंगमा आफूले चाहेका बेला संवेदना महसुस गर्न सक्ने गराउनु शिविरको साधना रहेछ ।

सातौं दिन
ध्यानको सातौं रात मलाई अचम्म भयो । मैले शरीरमा विभिन्न पाँच चक्र हुने र ती चक्रको जागरणसँगै मानिसको जागरण हुने पढेको थिएँ । रेकीमा पनि चक्रमा उपचार गरिन्छ । विपश्यनाका कारण शरीरका सबै भागमा संवेदना महसुस हुन थालेको थियो । पुरुष जनन्द्रीय र मलद्वारका बीच सातौं दिन बढी नै संवेदना महसुस भएको थियो । चक्रमा विश्वास गर्नेहरु जागरणको पहिलो चक्र त्यहीँ हुने बताउँछन् । विपश्यनामा भने चक्रमा विश्वास गरिँदैन ।

त्यो रात अबेलासम्म निद्रा नपरेर तन्द्रामा थिएँ। आफ्नै घरको तगारोमा दुई जना साथीहरु एकदम कल्याणकारी गफ गरिरहेझैं भइरहेको थियो। त्यत्तिकैमा सास फेर्न बिर्सेजस्तो भयो। श्रीमतीले बाबा भनेर बोलाएको सुनेँ । बिस्तारै होसमा आएझैं लाग्यो। पहिलो चक्रमा हावा चलिरहेझैं संवेदना महसुस भइरह्यो । लौ कुण्डलिनी जागरण भयो भनेजस्तो भयो मलाई। त्यत्तिकैमा आफैंलाई मरेजस्तो भान भयो। कहाँ यो विपश्यनामा आएर शिवपुरीमा मर्न लेख्या रहेछ भन्याजस्तो भावना मनमा खेल्यो। होस बढ्दै गयो। बा घरमा केही पो भयो कि भन्ने चिन्ताले असाध्यै सताउन थाल्यो।

आठौं दिन
आठौं दिन दिनभर ध्यानमा बस्दा पक्का घरमा केही भएको हुनुपर्छ भन्ने लाग्यो । श्रीमती वा बच्चा बिरामी परे कि बुबाआमालाई पो केही भयो कि ! मलाई श्रीमतीले बोलाएर पक्का चेष्टा दिएको हो भन्ने लागिरह्यो ।
पछिल्ला दिनमा त बारमिति पनि बिर्सन थालिसकेको थिएँ । कताकता एफएम रेडियोको आवाज भने ध्यानकेन्द्रमा आउँथ्यो । शिविरनजिकै बस्ती बढेको रहेछ । त्यतैका कसैले ठूलो स्वरमा रेडियो खोलिदिएका हुनुपर्छ । एकदिन त रेडियोमा कृष्णप्रसाद भट्टराई सिकिस्त भनेझैं लाग्यो । किसुनजी गए भन्ने हल्ला पनि पाँचसात वर्षदेखि बेलाबेला चलिरहन्थ्यो । कतिपटक त पत्रकारहरु हल्लाको भरमा किसुनजीको निवास पुगेका थिए।

आठौं दिन नै शरीरमा किरा चलेजस्तो हुन थाल्यो। शरीरको जहाँ ध्यान लग्यो त्यहीँ केही सलबलाएजस्तो चलेजस्तो। सायद शरीरमा हुने रक्तसञ्चार जालोका कारण हो कि ! नवौं दिनबाट विशेषगरी अनुहार र पछाडिको भागमा अमृतको धारा बगेझैं महसुस हुन थाल्यो । साह्रै आनन्द लाग्ने भावना । तर गुरुले त्यो आनन्दमा नअल्मलिन भनेका थिए ।

नवौं दिन
नवौं दिन किशोर अवस्थामा कम्मर सड्केको ठाउँमा पनि आनन्द लाग्न थाल्यो। घरिघरिको ध्यानमा शरीरका कहीँकहीँ भारी भए पनि पन्थ मारेर बस्दा दुखेका खुट्टा पनि बिस्तारै खुल्दै गए। त्यहाँ पनि आनन्दको महसुस हुन थाल्यो। आमाको खुट्टा दुख्ने रोग छ। ल, यस्तो आनन्द हुने रहेछ घर जानेबित्तिकै आमालाई शिविरमा पठाउन पर्यो भनेर सोचिरहेँ। अरु पनि दुख्ने रोग लागेकाहरु यहीँ आए हुन्थ्यो भन्ने लाग्यो।

विपश्यनाका अहिलेका आचार्य गोयन्का पनि टाउको दुख्ने माइग्रेन रोगको कहीँबाट उपचार नभएपछि विपश्यनाको शरण परेका रहेछन् । गोयन्का रोग निको हुनुभन्दा पनि यो ठूलो धर्म हो भन्ने गर्छन् र यसैबाट जीवनले मुक्ति पाउने प्रवचन दिन्छन् । नवौं दिनसम्म प्रवचन सुन्दा कहिलेकाहीँ किन यसलाई धर्म भनेको होला भन्ने लागिरह्यो । आफू नास्तिक, अनि ध्यानमा पनि कुनै मन्त्र र आकृति संस्मरण गर्न नपर्ने भएकाले विपश्यनालाई धर्म भनेको मन परेको थिएन। नियमित श्वासप्रश्वास र शरीरका अंग हेर्ने कुरामा पटकपटक भगवान र धर्मका कुरा गर्दा दिक्क पनि लाग्थ्यो। तर प्रवचनमा दिइने उदाहरण र तर्कले ध्यान गर्नमा उत्साह नै थप्यो।

दस दिन पूर्ण शान्तिमा बसेको मानिस एकैचोटि बाहिरी कोलाहलमय संसारमा आउँदा असर पर्ला भनेर शिविरको दसौं दिन बिहानको खानाअगाडि बोल्न दिइँदो रहेछ। त्यत्रो दिनपछि कतिपयलाई त आवाज निकाल्न पनि समय लाग्छ रे। मैले सँगै कोठामा बस्ने साथीलाई नमस्कार भनेर पहिलो आवाज निकालेँ। आफ्नै आवाज हो जस्तो लागेन, एकछिन कति ठूलो स्वरमा बोलिरहेको छु जस्तो लाग्यो।

ध्यानको अनुभव साटासाट भयो । खानापछि अन्यसँग पनि गफ गर्न थालियो । धेरैले नेताहरुलाई पनि शिविरमा राख्नुपर्ने कुरा गरे । त्यत्रो दिन ध्यानमा बस्दा गोयन्काले सिकाउन खोजेको कुरा एउटै थियो- कसैप्रति र केहीप्रति आशक्ति राग र द्वेष नराख्नु । तर ध्यान सकिन पाएको थिएन धेरैले नेताहरुप्रति द्वेष देखाइहाले। नानीदेखिको बानी १० दिनमा कहाँ छुट्छ र !

शिविर सकेर घर फर्कने दिन बिहान सबेरै मोबाइल र पर्स फिर्ता लिएँ। कान्तिपथसम्म छोड्न बिहान बसको व्यवस्था हुँदो रहेछ। घर आएँ । त्यही दिनदेखि अफिस थियो । जसले पनि ध्यानबाट के फाइदा हुँदोरहेछ भन्न थाले।

फाइदा
फाइदा/घाटाको जिन्दगी सधैं चलिरह्यो र यसबाट अलिकति भए पनि मुक्ति मिल्छ कि भनेर शिविरमा गएको। केही फाइदा होस् कि घाटा समभावले जीवनलाई हेर्नुपर्छ भन्ने विपश्यनाको मन्त्र छ । तैपनि यहाँ फाइदाको नै बात बताउनुपर्नेछ नभए अरु ध्यानमा नजालान्। फाइदा यो हो कि यो शिविर नि:शुल्क छ। तपाइ ११ दिन प्रकृतिको एकदम नजिक पेटलाई आराम हुने खाना खाएर संसारका दैनिक झन्झटबाट टाढा पुगेर बस्नुहुन्छ। र, वचन तथा शरीरले अरुलाई हानी पुर्याउनुहुन्न। जीवन जिउन पक्कै केही नयाँ कुरा सिक्नुहुन्छ। धेरै काम नबोलेर पनि गर्न सकिँदो रहेछ भन्ने लाग्छ।

3 comments:

  1. malai pani jane man chha, faido matrai nabujhau teso bhaye!

    ReplyDelete
  2. try garnu parne kuro rai6 jsto hamlai lagirakhya 6..

    ReplyDelete
  3. दिपक दाइ लाई मैले तेसै 'शब्द सिल्पी' भन्या हैन नी । यो लेख मन परेर आज फेरी दोहोर्‍याएर पढे ।दाइको राम्रो कलम को सधैं जय होस् ।

    मिलन बगाले(www.sabdachittra.blogspot.com)

    ReplyDelete

Please leave your comment here