Saturday, July 23, 2011

माओवादी शिविरका ती दुई बालक


अँग्रेजी स्कुलबाट फर्केका बालबालिकाबीच टाइ लगाएर नाचिरहेका दिपेश घिमिरे पृष्ठभुमिमा शक्तिखोर ब्यारेक 

अखिल क्रान्तिकारीले एकिकृत माओवादीका नेताका छोराछोरीहरुलाई बोर्डिङ स्कूलबाट निकालेर सरकारी स्कूलमा पढाउने अभियान चलाइरहेका बेला दुई वर्ष अगाडि चितवनको शक्तिखोर जाँदा देखेको एउटा पाटोको सम्झना आयो।

शक्तिखोरमा माओवादी छापामारसँग एकदिन बिताउँदा भेटिएका दुई पात्र हुन्, बनेपाका दिपेश घिमिरे र प्युठानका ललित वि.क.। दुवैजना छापामार शिविरमा बस्दथे। बिहान सँगै खाने र खेल्ने भए पनि विद्यालय जाने बेलामा भने यी दुईमा भिन्नता थियो। दिपेश टाइ र पोलिस लगाएको कालो जुत्ता लगाएर अँग्रेजी बोर्डिङ स्कूल जान्थे भने ललितलाई स्कूल जान टाइ र जुत्ता चाहिदैनथ्यो।

कालो पाइण्ट र सेता सर्ट माथि टाई लगाएका दिपेश न्यू सगरमाथा अंग्रेजी मिडियम स्कुलमा दुई कक्षामा अध्ययन गरिरहेका थिए । आकाशे रङको सर्ट र नीलो पाइण्ट लगाएका ललित राष्ट्रिय प्राथमिक विद्यालयमा चार कक्षामा पढ्दै थिए। माओवादी छापामारको तेस्रो डिभिजन हेडक्वार्टर चितवनको सय मिटरको दुरीमा दुबै विद्यालय थिए।

ललित वि.क.
दिपेश र ललीत दुबैसँग मैले छुट्टाछुट्टै कुरा गरेको थिएँ। दुबैका बाबुआमा माओवादी लडाकु होइनरहेछन्। दिपेशका दिदी-भिनाजु तथा ललितका मामा-माइजु त्यही बस्ने छापामार रहेछन्। शिविरका लडाकूहरुले आफ्ना छोराछोरीलाई नजिकैको विद्यालयमा पठाउन थालेपछि छोराछोरी नभएका छापामारले पनि आफन्त बालबालिकालाई शिविरमै राखी पढाउन थालेका तिनीहरुले जानकारी दिए।

शिविरमा त्यो बेला रहेका बालबालिकामध्ये सगरमाथा स्कुलमा एक सय २५ र राष्ट्रिय प्रा वि.मा ६२ विद्यार्थी पढ्दथे। अंग्रेजी स्कुलले नर्सरीमा त्यो बेला महिनाको ३ सय ५० रुपैयाँ विद्यार्थीको शुल्क लिन्थ्यो र कक्षा बढ्दै जाँदा सय रुपैयाँ शुल्क पनि बढ्दै जान्छ भन्थे त्यहाँका प्राध्यापक।

सरकारी विद्यालयमा भने विद्यार्थीले नियमित शुल्क तिर्नुपर्दैन। परीक्षा शुल्कबापत वर्षमा तीनपटक १०/२० रुपैया शुल्क मात्र विद्यालयले लिन्छ। मैले त्यहाँका एक जना कमान्डरलाई किन हो कसैका छोरा छोरी आफन्त बोर्डिङमा कसैका सरकारी स्कूलमा भनेर सोधेका थिए। आफ्नो नाम रुपेश भन्ने कमान्डरले जवाफ दिदै‌ भनेका थिए, 'हामीले कसैलाई पनि निजी विद्यालयमा पढाउनु वा सरकारी विद्यालयमा पढाउनु भनेर भनेका छैनौं, छापामारले आफ्ना नानी जहाँ मन लाग्यो त्यही पढाउन पाउनुहुन्छ।'

सरकारी विद्यालयमा आफ्ना बच्चाबच्ची पढाउने छापामार मध्येकी एक जनाले भने आफ्नो मनखुशीले भन्दा पनि अंग्रेजी स्कुलमा पढाउँदा आफैंले खर्च बेहोर्नुपर्ने भएकाले शुल्क तिर्न नसकेका कारण सरकारी विद्यालयमा पढाएको मलाई बताइन्। एक छापमारले मलाई भनेको सम्झना छ, 'जसले अन्यत्रबाट पनि पैसा ल्याएर शुल्क तिर्न सक्छन्, उनीहरुले बोर्डिङमा राख्छन्, हामीसँग पुग्दो पैसा नभएकाले मेरो छोरो सरकारी स्कुलमा पढ्छ।'

ललित वि. क.ले पढ्ने गरेको सरकारी स्कूल
समानता र समान अवसरका लागि लडेका कोही माओवादी छापामारका सन्तान निजी स्कुलमा कोही सरकारी विद्यालयमा पढाउँदा भएको असमानताले त्यो बेला मन खिन्न भएको थियो। मैले मसँग कुरा गरेकी ती छापामारलाई यस्तो फरक हुँदा ननिको लाग्दैन भनेर सोधेको थिएँ। उनले कुटिल जवाफ दिएकी थिइन्, 'यहाँभित्र त सबै समान नै छ। हामी सबैले खाने, बस्ने र सुत्ने ठाउँ एउटै हो, अब कसैले घरबाट पैसा ल्याएर राम्रो लगाउँछ र राम्रो ठाउँमा बच्चा पढाउँछ भने पार्टीले के गरोस् ?'

त्यसपछि फेरि म शक्तिखोर जान पाएको छैन। समानताका लागि लडेका माओवादी छापामारका छोराछोरी र आफन्त बालबालिकाहरु अहिले एउटै स्कूलमा पढ्छन् होला कि हुनेखानेका छोराछोरी अँग्रेजी स्कूल र हुँदाखानेका छोराछोरी सरकारी स्कूलमा पढ्छन् होला कुन्नि।

1 comment:

  1. दाई को कुरा ठीक हो । म पनि माओवादी भएकै कारण २०६४ सालमा क्याम्पस पढनबाट बञ्चित भएको थिए । कुनै समय उदयपुर माओवादीमा यस्तो नियम थियो क्याम्पस पढनु हुदैन भन्ने । जिल्ला नेताहरु भन्दा कार्यकर्ता शिक्षत भए भने उनिहरुको निहित स्वार्थ पुरा हुदैन भनेर माओवादी उदयपुरले कार्यकर्तालाई पढन रोक लगाएको थियो ।

    ReplyDelete

Please leave your comment here