Monday, July 11, 2011

हाइकिङ, माइकिङ र आँप

'ल अब आँप खानुहोस्,' माइक्रोफोन बोक्ने उमेश श्रेष्ठले भनेपछि डेढसय जना हाइकर (पदयात्री)हरु पखेरोमा बसेर दोस्रो पटक आँप चुस्न थाले। भोकले आत्तिएकाले नियम मिचेरै मैले उकालोमै दोस्रो आँप बोक्रै नफाली कुमरिसकेको थिएँ। 
'अब एक घन्टा जतिमा ढेंडो खान पाइन्छ' उमेशले भनेपछि जीउमा अलिक फूर्ति बढेको थियो। देउरालीमा बसेर पहिलो आँप खाएपछि करिब डेढ घन्टा हिडाएर मात्र उमेशले दोस्रो आँप खान अनुमति दिएका थिए। बिहान ६/७ बजेतिरै दुई तीन लिटर पानी मात्र लिएर हाइकिङमा निस्कन उकास्ने उमेशको समुहसँग यसपटक बुढाबुढी सहभागी भएर हिडिएको थियो, काठमाडौंको भिमडुङ्गातिर। 

पहिले उमेश श्रेष्ठ ललितपुरका एमालेका नेता हुन् रे। अहिले आफ्नो स्वास्थ्य आफ्नै हातमा भन्ने नारा लिएर प्रकृति प्रेमी समुहको नामबाट स्वास्थ्य क्षेत्रमा लागि परेका रहेछन्। 
हाइकिङ जानु अगाडि सितापाइलामा भेला भएकाहरु
प्रत्येक नेपाली महिनाको चौथो शनिबार चाहिँ काठमाडौं वरपरको कुनै डाँडामा एक दिने हाइकिङ सञ्चालन गर्दारहेछन्। यसपटक रामकोट हुँदै भिमडुङ्गा लगेका थिए। सितापाइला चढेको बस रामकोट पुगेपछि ओर्लदाँ अरु तीनवटा बसबाट पनि निला टोपी लगाएका मानिसहरु हुरुरु झरेको देखेपछि हाम्रो समूह (tweet for cause Nepal - tfcNepal) का केही साथी अलमलमा परेका थियौं। पदयात्रीको समूह त्यही एउटा बसमा भएका ४० जना जतिको होला भनेको त प्रत्येक पटकको पदयात्रामा सय जनादेखि कुनै बेला तीन सय जनासम्म सहभागी हुँदा रहेछन्। यसपटक चाहिँ करिब एक सय ५० थिए भन्थे।

हाइकिङ गर्नेको आफ्नै नियम छ, समूहले केही फलफूल र खानको व्यवस्था गर्छ। त्यो भन्दा अरु खाने कुरा हाइकिङमा नखान उमेशले पटक पटक अनुरोध गर्दा रहेछन्। हाइकरले पहिलो पटकको पदयात्रामा चार सय ५० र त्यसपछिका लागि तीन सय रुपैयाँ दिएपछि दिनभर दुई पटकका लागि खाजाको रुपमा फलफूल र एक छाक खानाको जिम्मा समूहले लिँदो रहेछ। सबै हाइकरलाई समूहले निलो क्याप दिदोरहेछ। यसपटक हामीलाई हाइकिङमा जान उराल्ने हरि न्यौपाने (काकाबा)ले हाम्रो पैसा तिरिदिएर खाजाको रुपमा यसपटक बाँडिएको आँप, निलो टोपी र खानको कुपन लिइसकेका रहेछन्।

हाइकिङमा नारायण अमृत, घनश्याम खड्का, शान्ति घिमिरे, सुमन मञ्जरी, राजु दाहाल
'भोकै हिड्दाको पनि अनुभव गरौं' भन्दै हिडेको करिब एक घन्टासम्म पानी बाहेक केही नखान उमेशले भनिरहेका थिए। पहिले पहिले हाइकिङ गइसकेकालाई थाहा भएर होला कोही कोही भोक खप्न नसक्नेहरुले मकै, भटमास, काजु किसमिस बोकेर हिड्दा रहेछन्। भोकले क्याउ क्याउ पारेकाले मैले पनि सुमन मन्जरी, काकाबाले ल्याएका भुटेका मकै र भटमासको फाँको हालिरहेको थिएँ। मैले त्यस अगाडि घरबाटै एक कचौरा सुप खाएर निस्केको थिएँ। त्यसमाथि प्रमोद (फ्रेन्डिकल्स)ले सितापाइलामा चिया र पाउरोटी खुवाए।

हाइकिङमा खाना खाइसकेपछि मन्दिर छेउ विश्राममा
खाइलाग्दो जीउ भएका फेन्डिकल्स अलिक उकालो लागेपछि पछिल्तिर बस्न थाले। नारायण अमृतले त्यसै बेला जोक सुनाए - नेता राधाकृष्ण मैनाली मधेशमा हिड्दै गर्दा एउटा हाँस किचिएर मर्यो रे। गाउँलेले उजुरी गरेपछि पेट ठूला भएका  नेता राधाकृष्ण मैनालीले भुईमा नदेखिएकाले टेकेर हाँस मरेको हो भनी क्षमा याचना गरेछन्। कहिल्यै तेत्रो भुँडी नदेखेका गाउँलेहरुले पक्का पनि पेटका कारण भुइको हाँस नदेखेर झुक्किएरै कुचेको हुनुपर्छ भन्दै मैनालीलाई क्षमा दिए रे। अर्को फेरि - अभिनेता निर शाह नुहाँउदा कहिले कट्टु भिज्दैन रे। सबै पानी पेटले नै छेकिदिन्छ रे। पेट ठूलो भएको कुरा गर्दा यो समूहले हाइकिङमा जानेको पेट र छाती पनि नाप्दो रहेछ। छाति भन्दा पेटको चौडाइ जहिले बढ्छ, तब रोग सुरु हुन्छ भन्दै थिए उमेश। 
बिहानै पाएको खानाको कुपन दोस्रोपटक आँप खाएको एक घन्टा जति पछि ढिडो ओडालेको ठाउँमा आएपछि मात्र काम लाग्यो। मकैको डेढोसँग आलु, साग, सिमीको छुट्टाछुट्टै तरकारी र गोलभेंडाको अचार खाइयो। हाम्रा समुहका डाक्टर सुदीपले त्यो ढिडो खान सकेनन्।

गाउँले बाटोमा हिड्दैगर्दा एक जना दिदीले आफ्नो रुखमा फलेको आलुवखडा टिप्न अनुमति दिएकी
थिइन्। नारायण अमृत रुखमा चढेर हल्लाएपछि केही आलुवखडा झारेका थिए। त्यो पनि हजम गरिएको थियो। गाउँ घुम्दाको मज्जा। यसपटकको १४ किलोमिटर पदयात्रामा उकालो, ओरालो र अलि अलि सम्म, तरपायाँ तरपायाँ थियो। खोल्साखाल्सी, साना भिर, मकै बारीको आली, खर्यान हुँदै हिड्दै  गर्दा कहिलेदेखि तन्किन नपाएका खुट्टा तन्किए। 

हाइकिङमा लामो समयदेखि नभेटेका पत्रकारहरु विनोद ढुङ्गेल र घनश्याम खड्का भेटिए, गफ गरियो एकछिन्। काठमाडौंको धुवाँ धुलो खाइरहेको फोक्सोले नि अक्सिजन पायो। साँझ पाँच नबज्दै स्वयम्भु नजिक लगेर बसले ओरालिदियो। हाइकिङ रमाइलो भयो। काठमाडौंको यति नजिकै यति स्वच्छ हावामा उकाली ओराली गर्दै यति रमाइलोसँग यात्रा गर्न पाइन्छ भनेर मैले कहिल्यै सोचेकै रहनेछु।  
लखतरान काका बा, नेपाल डायरी, आँप खाँदै केपी शर्मा, एस आचार्य, सरोज कोइराला, कमलकुमार
हाइकिङ सकिएपछि पुजारीले ट्विटरमा लेखेका थिए, 'सपनामा माइकिङ गर्या सुनेछु, धन्नै उठेर आँप खाइएन।' खाजा खाने समय होस् कि खाना हरेक पटक केही कुरा भन्न पर्यो भने उमेश श्रेष्ठले माइकिङ गरेर समुहलाई  जानकारी दिने गर्दा रहेछन्। यसपटक खाजामा आँप भएकाले तीन पटक माइकिङ गरेर उमेशले आँप खानुहोस्  भनेका थिए। दुई पटक खाजाको रुपमा आँपमात्र र एकपटक खाना खाइसकेपछि।

( प्राध्यापक अभि सुवेदीको लेख प्राय यस्तै शिर्षक राखेर छापिन्छन्। त्यसकारण यो शिर्षकमा उनको प्रभाव छ। तर लेखमा भने उनको उपस्थिति छैन।)

11 comments:

  1. 'पेट भन्दा छातिको चौडाइ जहिले बढ्छ, तब रोग सुरु हुन्छ भन्दै थिए उमेश।'
    यो कुरो मलाई उल्टो हो जस्तो लाग्यो दाइ ।
    छातीको चौडाइलाई पेटले जित्यो भने पो त समस्या, होईन र ?

    ReplyDelete
  2. हा हा हा !! रमाइलो भएछ त सबै यादहरू पुनः ताजा भए । अनि गल्तीलाई ट्वाक्क सच्याउनु परो । त्यो हाइकिङ अन्तीम शनिबार हैन हरेक महिनाको चौथो शनिबार ।। धन्यबाद दिपक जी अर्को यात्रा पनि छुटाउनु हुन्न है

    ReplyDelete
  3. फेरी #hiking का कुरा सुन्नमा जति मज्जा आउँछ, भोग्दामा उत्ति नाइँ | हिड्न ढिला भा'का कुरा त आइहाल्यो माथि नै, त्यसपछि दिनभरी हिड्दा टाउको पड्केला झैँ भएका, खुट्टा भत्भती पोलेर र दुखेर बिजोग भएका घटना चाहिँ सम्झिन नि मन छैन है मलाई त | अझ दुइ दिनपछि सम्म नि हिड्न असमन्जस भै'रको क्षणलाई चाहिँ कसरि बर्णन गर्नु र खै !! अझ कोइ कोइले यो पाली को हाईकिङको रुट चाहिँ छोटो भयो है पनि भन्दैथे, अलेली तात्याथ्यो र यो दिमाख !! - भो-नकुरागरम :)

    ReplyDelete
  4. यति मिठो ब्लग लागी धेरै धेरै धन्यबाद दिपक दाइ

    ReplyDelete
  5. दीपक जि को प्रयास राम्रो छ !!!

    ReplyDelete
  6. dherai ramro lagyo next time jane belama maiel nee janakari paauna sakchu ki???????? ramesh20083@yahoo.com

    ReplyDelete
  7. दिपक दाई सारै गजप मामाका फोटा मस्त न clever writing आटो हो दा आटो ढिडि हिईन। हाम्रा नेपालसायरि छुटे it was really fun with the @tfc team (hiking bahana matra)

    ReplyDelete
  8. बिचरा साथीहरू माया लागेर अायो ।। तर यो पटक बाटो छोटो, मौसम सफा र खानेकुरा पनि तगडा भाकै हो है ।।
    राजु दहाल

    ReplyDelete
  9. लौ सर यी उमेश श्रेष्ठ सरको कन्ट्याक्ट नम्बर वा कन्ट्याक्ट ठेगाना दिनु पर्यो!

    ReplyDelete
  10. Rajesh jee! म सँग उमेश जीको फोन नम्बर रहनेछ।
    Umesh jee ko facebook bata liyako Contact Information :
    Address
    Post Box 8975, EPC 1963, Kathmandu, Nepal
    Website
    http://www.backtocommonsense.org.np
    Email
    usrestha@gmail.com

    ReplyDelete

Please leave your comment here