Thursday, May 12, 2011

टाइफाइड उल्टेला है...

टाइफाइडको ज्वरो कस्तो हो भन्ने पनि जान्न पाइयो। टाउकाँ त चट्याङ परे झै‍ चट् चट् हुँदोरच। जीउ भुङ्ग्रोमा हालेर निकाले झैं पानी हाल्दा त झ्वाईं पर्ला जस्तो। त्यसमाथि जीउ क्या विघ्न दुखेको हो भने। जताततै तीन जना पहलमानले पिटेजस्तो।

खासमा लन्डनबाट हिड्ने दिन ३१ अप्रिलको बिहान उठेर नुहाउनासाथ जीउ अलि अलि दुखेको थियो। ज्वरो नै आइहाले जस्तो लागेको थिएन। त्यसैले जतिनाम मासु हुसुरियो। त्यसदिन बिहान साथीहरुले एउटा जापानिज रेष्टुराँमा लगेका थिए। जहाँ कुकले पकाउँदै प्लेटमा हालिदिएको खानाको परिकार भान्साबाट एउटा घुमेको फितामा आउँदो रहेछ। टेबल वरपरि त्यो फिता घुमिरहने र टेबलका वरपरि बसेकाहरु मन लागेको खानेकुरा आउनासाथ झिक्दै खाँदै गर्नेरहेछन्। भान्सेले चाहिँ नयाँ नयाँ परिकार फितामा हालेको हाल्यै गर्ने।

अन्तिममा हिसाब गर्दा आफ्नो वरिपरि कतिवटा प्लेट भयो त्यति नै दाम तिर्नुपर्ने रहेछ। खानाको बिल लिन आउनेले प्लेटको रङ अनुसार अलि अलि दाम फरक फरक गरी लिने पनि रहेछन्। जे जे आयो त्यो खाँदै गइयो। कसैले यो मिठो हुन्छ भन्याछ अर्काले त्यो मिठो हुन्छ भन्याछ। त्यही अन्सार खाँदै जाँदा मासुको परिकार पनि धेरै नै खाइयो।

फेरि सामान प्याकिङको तनाव पनि त्यसै दिन धेरै थियो। सामान पोको पारिसक्दा बल्ल जीउमा ज्वरो पनि छ भन्ने लाग्यो। लन्डनबाट दोहासम्मको उडानमा भेज खाना दिइन् विमान परिचारिकाले। पानी खुब खाएँ पनि। एउटी परिचारिकाले पानीको बोतल माग्दा नदिएको देख्दा रिस पनि उठेको थियो। रक्सी बीयर जे खाए पनि छ रे तर बोतलमै पानी दिन चाहिँ पुग्दैन भन्दै थिइ।  तर अर्कीले दिई।

कतारमा उत्रेपछि भने ज्वरोले अलि नै च्याप्यो। एयरपोर्ट कै क्लिनिकमा गएर जाँच गराएँ। ओखती पनि दिए। प्लेनको टिकट काट्दै नभए एक दुई दिन अगाडि अनलाइनबाट भए पनि भेज खाना भर्नुपर्ने तर भेज खाना नभरेकाले दोहाबाट काठमाडौं उड्दा भेज खान सकिइसक्यो भन्दै मासुभात दिइन् परिचारिकाले। नखाई पनि नहुने अवस्था भाथ्यो। ओखतीले भोक पनि लाथ्यो। त्यहीको खसीको मासु र भातले मलाई टाइफाइड नै गराएछ।

मे १ साँझ काठमाडौंमा हावाहुरीले जहाज उत्रिन नसकेर करिब पाँच घन्टा जति लखनउ लगेर राख्यो। त्यहाँ पनि भोकले हैरान पारेर विमानकै परिचारिकाले दिएको दालमोट खाइयो। त्यसले पनि टाइफाइड लगाउनमा सघाउ नै पुर्‍यायो। 

खासमा माछा मासु कम खाने र सकभर खान नपरे हुन्थ्यो भन्ने लाग्छ मलाई। लन्डन बसिन्जेल माछा मासु धेरै खाएर पनि टाइफाइड भएको हो कि झैं लाग्छ। रक्सी बियरबाट टाढा बसे पनि आउने अघिल्लो दिन एक गिलास बियर पनि दन्काइदिएको थिएँ।
खासमा बेलायतबाट फर्केका साथीलाई उता जानु पहिले लन्डन गएपछि गर्नै पर्ने कामको सुची मलाई बनाइदेउन भन्दा उनले दुईटा कुरा भनेका थिए। जस मध्ये एउटा गिनिस बियर खानु पनि थियो। यतिन्जेल खाइएन अब भोलि जाँदैछु एक ग्लास त हो नि भनेर खाएँ त्यसैले पो हो कि टाइफाइड निकालेको झैं पनि लाग्छ।

फेरि बेलायतमा धेरै हिडियो पनि। अन्तिम दिन पनि थेम्स नदीको किनारको चिसो हावामा हिडेर बिबिसीको कार्यालय पुगेको थिएँ। त्यसैले पो हो कि।

जे होस् काठमाडौं आएदेखि ज्वरोले छोडेन। आइतबार राति काठमाडौं आए पनि सोमबार सहेर बसें ठीक होला ज्वरो मात्रै होला भन्दै सिटामोल र डिकोल्ड खाएर।  कहाँ हुन्थ्यो सोमबार राति त टाउको फुट्ला जस्तो भो। क्या विघ्न दुख्यो भनेर रातभर सुत्न सकिन। उता जीउ ज्वरोले गर्दा आगोको भुङ्ग्रोसँग खेलेजस्तो तातो। मंगलबार अफिस जाम्ला भनेको त अस्पताल दगुर्न परो। डाक्टरले ओखती दिए। दिनभर त तै बिसेक भाथ्यो राति त राम राम। असैह्य टाउको दुख्ने र ज्वरो आइरह्यो। डाक्टरले पहिल्यै असाध्य ज्वरो र टाउको दुख्ने क्रम एक दुई दिन हुन्छ भनिदिएको भए सहिन्थ्यो पनि होला। मलाई त डाक्टरले उल्टो ओखती पो दिए कि भन्ने डर लाग्यो। बुधबार बिहान फेरि आफन्त एक डाक्टरकहाँ गएँ। उनले टाइफाइडको लक्षण छ ओखती खाए पनि ३ दिन लाग्छ टाउको दुख्न रोकिन र ज्वरो निको हुन भनेपछि बल्ल मनमा अलिकति धैर्य भयो।

नत्र त मलाई बरु हस्पिटल भर्ना गरिदिए हुने, बेलाबेलामा डाक्टर नर्सले त हेर्थे टाउको फुटेर त मरिन्थेन होला भन्ने लागिरहने। ओखती खाएको चौथो दिनबाट बल्ल अलिक आराम भयो। साथीभाइले आजभोलि फेरि जे गरे पनि टाइफाइड उल्टेला है भनेर हैरान पार्छन। भोक लागेर धेरै खायो भने पनि टाइफाइड उल्टेला। कम्प्युटर अगाडि बसेपनि टाइफाइड उल्टेला। पत्रिका पुस्तक पढे पनि टाइफाइड उल्टेला। अस्ति खगेन्द्रले सुनाउँदै थिए उनलाई टाइफाइड भएको १० दिनपछि चाउचाउ खान मन लागेर दुइ चम्चा सुप के मुखमा हालेका थिए रे टाइफाइड उल्टिएर फेरि १५ दिन सुते रे। होला त...











1 comment:

  1. बिरामी हुदाको पोष्ट पनि कम्ति रोचक रैन'च ! १० दिनपछि २ चम्चा सुपले टाइफाइड उल्टयो रे ? हैन होला, गफै दिएका होलान ।

    ReplyDelete

Please leave your comment here