Tuesday, March 1, 2011

३७ वर्ष पुरानो सम्झना, जहाँ मेरो विजारोपण भयो

सरकारी जागिरको सिलसिलामा करिब चार दशक पहिले डेढ दुई वर्ष बाले बिताउनु भएको सुर्खेतमा बा आमाको ३७ वर्ष पुरानो फोटो (२०३१ सालमा खिचिएको) सुरक्षित रुपमा भेटिएला भन्ने लागेकै थिएन। तर मलाई लागेका कुरा मात्र हुनुपर्छ भन्ने के छ र ? 

बा आमाको यो फोटो म जन्मिनुभन्दा अघिको हो। सुर्खेत गणेश चोकमा बस्ने राधिका कँडेल (राधिकाको बिहे पहिलेको थर) ले बा आमाको फोटो मलाई देखाएपछि मैले त्यस्को फोटो खिचेको हुँ। सक्कली फोटो मैले मागिन। मागे पनि दिनुहुन्थ्यो कि हुनुहुन्नथ्यो कुन्नि।

यो फोटोमा हेडबिन लगाउने मेरो आमा हुनुहुन्छ भने उहाँसँग अँगालोमा बाँधिने राधिका कँडेल। उहाँहरुको पछाडि राधिकाको भतिजी भनेजस्तो लाग्यो धेरै पछाडि देखिएका किशोर चाहिँ राधिकाकाको भाइ श्याम कँडेल।
------------------------------------------------------------------------------------------
२०६७ फागुनको दोस्रो साता म जीवनमा पहिलोपटक सुर्खेत पुग्दा मसँग आमाले धेरै वर्ष अगाडि भन्नुभएको 'एकपटक सुर्खेत जाने मन छ' र बुबाले दुई दिन अगाडि भन्नुभएको 'त्यहाँ उतिबेला राधिका होटल खुब चर्चामा थियो। ती राधिका वा तिनका भाइ श्याम कसैलाई मिलेमा भेट्नु है' भन्ने वाक्य मथिगंलमा घुमिरहेको थियो। 

श्याम कँडेल चाहिँ मेरो दाहिने तर्फ हुने र राधिका कँडेल चाहिँ देब्रे तर्फ हुनुहुन्छ।

कार्यालयको काममा सुर्खेत आएपनि म आउनासाथ सुर्खेतमा जो जसलाई भेटें ती सबैलाई करिब ३५ वर्ष पहिलेको राधिका होटल,  राधिका र श्यामका बारेमा सोधें। सोध्दै जाँदा पत्ता पनि लाग्यो। मैले श्याम कँडेलाई फोन गरेँ। ३६/३७ वर्ष पुरानो कुरा उहाँ(माथिको दोस्रो फोटोका किशोर। त्यतिबेला ११/१२ वर्ष हुनुहुन्थ्यो रे ) ले सम्झनुभएन। तर उहाँले आफ्नी दिदी राधिकालाई यस विषयमा सोध्नुभएछ। राधिकाले पुरानो कुरा सम्झनु मात्र भएन तीन वटा फोटा पनि तुरुन्तै फेला पार्नुभएछ। 
त्यसपछि उहाँहरुले नै मलाई फोन गर्नुभयो। म तुरुन्त उहाँहरुको घरमा पुगें र भेटें। 

 यो तस्विर बुबा आमा र मेरो हो। नापी विभागमा काम गरेका बुबा आमा सुर्खेतबाट सरुवा भएर सायद भैरहवा जानुभयो होला। राधिकाका अनुसार यो फोटो बुबाले 'हाम्रो छोरा जन्मियो' भन्दै हुलाकबाट राधिका परिवारलाई पठाउनुभएको थियो।



पुरानो राधिका होटल रहेको घर जहाँ अहिले श्यामको परिवार बस्छ।
बा आमा पनि यही घरमा बस्नुभएको रहेछ। हुन त मलाई यो कुरा मेरा पिता मातालाई सोध्न असाध्यै अप्ठेरो लाग्छ। सायद सक्दिन पनि होला। जन्म मितीलाई हेर्दा मेरो विजारोपण भएको समय बुबा आमा सुर्खेत गणेश चोकस्थित यही घरमा भाडामा बस्नुहुँदोरहेछ।

माथिका तस्बिरहरु अहिलेसम्म सुरक्षित राख्ने राधिकाले म जानासाथ आफूलाई सानिमा भन् भनेर चिनाउनुभयो। श्यामले आफूलाई मामा भन भन्नुभयो। मैले ल्यापटपमा भएको बुबा आमाको अहिलेको फोटो देखाएँ। उहाँहरु छक्क पर्नुभयो आमा मोटाएको देखेर। मैले काठमाडौंमा हुनुभएको बुबा र नवलपरासी डेढगाउँमा हुनुभएको आमासँग राधिका सानिमालाई फोनमा सम्पर्क गराएँ।

मेरी आमा कँडेलकी छोरी भएकाले पनि राधिकाका बुबा आमाले मेरी आमालाई आफ्नै छोरी झैं मानेर माया दिनुहुन्थ्यो रे।३७ वर्ष पुरानो ब्ल्याक एन्ड व्हाइट फोटा जस्ताको तस्तै भेटिनु र त्यसबाटै मायाको साइनो गासिनुले सुर्खेत बसाई अविश्मरणीय भयो।

आजभोलि धुलाइएका फोटा यसरी यत्रो लामो समयसम्म रंग नउडिकन बस्ला जस्तो मलाई लाग्दैन। कति सक्कली तस्बिर र त्यस्तै सक्कली माया पनि। नत्र ३५ वर्षदेखि सम्पर्कमा नरहेको एक सरकारी जागिरे कुनै दिन आफ्नो होटलमा खाना खान्थ्यो र होटलमा बस्थ्यो भन्दैमा यसरी तिन्का फोटो कसले पो जतन गरेर राख्थ्यो र ?

3 comments:

  1. साह्रै मन पर्यो तपाइको यो पोस्ट । शेयर गर्नु भएकामा हार्दिक धन्यवाद है ।

    ReplyDelete
  2. गज्जब दाजु यो कुरालाइ अझ ठूलो जनमानसमा पुग्ने संचार माध्यममा लैजानु पर्यो । मलाइ निक्क‍ै मन पर्यो ।

    ReplyDelete
  3. दाई राम्रो लाग्यो www.nepalico.blogspot.com

    ReplyDelete

Please leave your comment here