Wednesday, December 8, 2010

हुलाकीहरु शुभ समाचार लिएर फर्कन्नन्

हुलाकीहरु कहिल्यै
शुभ समाचार लिएर फर्कन्नन् !

भ्रमणका लागि सँधै र्‍याल काड्ने
फर्केर आउँदा
देशको चिन्ता विदेशीले लिएको सन्देश दिने
पूर्व होस् या वर्तमान
राजा होउन् या प्रधानमन्त्री
प्रजातन्त्र होस् या गणतन्त्र
नेता हुन् या मन्त्री
एयरपोर्ट झरेपछि तिनीहरु एउटै खबर दिन्छन -
‘हाम्रा विषयमा विदेशीले चासो देखाए;
देश विग्रन्छ कि भनेर चिन्ता देखाए !’


हुलाकीहरु कहिल्यै
शुभ समाचार लिएर फर्कन्नन् !

तिनीहरु देशमा भन्दा बिदेशमा बढ्ता रमाउँछन
कोही भारत जान्छन्; कोही चीन
कोही युरोप पुग्छन, कोही अमेरिका
र आफ्नो हैन उनीहरुको चिन्ता बोकेर आउँछन -
‘नेपालको विषयमा भारतीय नेताहरु गम्भीर छन्
नेपालको विषयमा चिनीयाँहरु चिन्तित छन्
अमेरिकाले नियाँलिरहेको छ
नेपालमा प्रजातन्त्र मासिन्छ कि
युरोपले आँखा लगाइरहेको छ
नेपालमा मानवअधिकार बिग्रन्छ कि’

नेपालमा शान्ति-स्थिरता आउन नसकेको खवर
विदेशीलाई सुनाएर फर्किएकाहरु
दुई हात फैलाएर भिख मागेर फर्किएकाहरु
क्यामेरा अगाडि ङिच्च हास्छन् र भन्छन्
‘उनीहरु नेपाल प्रति चिन्तित छन्
उनीहरु नेपाल प्रति गम्भीर छन्
उनीहरु यो देशप्रति सशंकित छन् !’

लाज लाग्नुपर्ने हो हुलाकीहरुलाई
त्यो चिन्ता त तिमीहरुले पो गर्नुपर्ने हो
गम्भीर त तिमीहरु पो हुनुपर्ने हो
चासो त तिमीहरुले पो दिनुपर्ने हो

भो हुलाकीहरु
अब तिमीहरु विदेश नगएकै राम्रो
विदेशीको चासो र चिन्ता सुन्न नपरेकै वेश

हुलाकीहरु
कहिल्यै लाज मान्दैनन्
हुलाकीहरु कहिल्यै
शुभ समाचार लिएर फर्कन्नन् !

दीपक भट्टराई
२०६७ मंसिर २१

(२०६७ साल मंसिर २२ गतेको नागरिक दैनिकमा छापिएको कवितामा थोरै थपेको मात्र हुँ।)

1 comment:

  1. तर समाचार लिन जान चैँ छोड्दैनन् फेरि...यी हुलाकिहरू...

    ReplyDelete

Please leave your comment here