Thursday, February 18, 2010

हो हत्या मैले गरें


यो हत्या हो- मैले गरेको हत्या
तिमीले गरेको हत्या
आत्महत्या भनेर ढाक्न खोज्दा खोज्दै
म नाङ्गिइएको छु/तिमी नाङ्गिएको छौ
यो हत्या हो
परिवारले आफ्नै सदस्यमाथि गरेको हत्या
छिमेकीले छिमेकलाई गरेको हत्या
शिक्षकले अभिभावक र विद्यार्थीलाई गरेको हत्या
नेताले कार्यकर्ता र मतदातालाई गरेको हत्या
धनीले गरीबलाई गरेको हत्या
स्वास्थ्यकर्मीले विरामीलाई गरेको हत्या
समाजले गरेको हत्या
सरकारले गरेको हत्या !
आफ्नै घरकाको मर्ने अवस्थासम्म थाहा नपाउने परिवार
दिनभर छिमेकमा झुण्डिएको शव नदेख्ने छिमेकी
विद्यार्थीलाई जीवन बाँच्न नसिकाउने शिक्षक
आफ्ना मतदाताको दुःख नबुझ्ने नेता
मृत्युसँगै नर्क लान नसक्ने धन थुपारेका धनी
विरामीलाई ओखती उपलब्ध गराउन नसक्ने डाक्टर
गरिबीले आत्महत्या गरेको हेरेर बस्ने समाज
गरिबको मृत्युमा वेदनासम्म नदिने नकचरो सरकार
थुक्क टाठाबाटा-पत्रिकामा लेख्दैछौ
रेडियोमा बोल्दैछौ र टिभीमा औंला ठड्याउदैछौ
गरिबले न्यानो कपडा नपाउँदा
जाडोलाई मृत्युको दोष दिने पत्रकार
गरिबीलाई भजाएर महल ठड्याउने कर्मचारी
सबैको हात रगतले लतपतिएका छन् !

हामी सबै मिलेर हत्यारा समाज निर्माण गर्दैछौं
हत्यारा संसार निर्माण गर्दैछौं
म हत्यारा हुँ
तिमीहरु सबै हत्यारा हौ !
कमस खाउँ अब गरिबले औषधी नपाएर मर्ने छैन
छिमेकीको मृत्युमा चुपचाप कोही बस्ने छैन
सक्दैनौं भने- आऊ मसँगै आत्महत्याको लाममा
हाम्रो मृत्युपछि 'ओली परिवार' हरुको थप मृत्यु हुनेछैन
गाउँलेहरुले खोलेको सट्टा बिष माग्ने छैनन्

दीपक भट्टराई
२०६६ फागुन ४

(रुकुमको भालक्चा गाउँमा छारे रोगले ग्रस्त छोरी तुलसालाई उपचार गर्न नसकेपछि छोरीसँगै आत्महत्या गर्ने आमा कली र बाबु दलहबहादुरलाई समबेदना)