Tuesday, July 29, 2008

पहाडी भेगको समस्या समाधान नगरी नवल परासी क्षेत्र नम्बर २ को विकास हुन्न

काली टाइम्स संवाददाता
काठमाडौं ।
नवलपरासी क्षेत्र नम्बर दुइबाट संविधान सभा निर्वाचनमा विजयी संविधान सभा सदस्यहरुलाई नवलपरासी बुङ्गदी काली काठमाडौं सर्म्पर्क समितिले गत साउन ११ गते एक कार्यक्रमका बीच काठमाडौंमा अभिनन्दन गर्‍यो ।
अभिनन्दन कार्यक्रममा नवलपरासी क्षेत्र नम्बर दुइबाट प्रत्यक्ष निर्वाचन प्रणालि अन्तरगत विजयी संविधान सभा सदस्य महेन्द्र ध्वज जी सीले डेढगाउँ, रकुवा, मिथुकरम सहितका गाविसमा रहेका विभिन्न समस्याका विषयमा आफूलाई थाहा भएको बताउँदै ती समस्या समाधान गर्न आफ्नो तर्फाट पहल हुने आश्वासन दिनुभयो ।
उहाँले डेढगाउँमा मोटर चल्ने पक्कि पुल बनाउने, डेढगाउँको उपस्वास्थ्य चौकीलाई स्वास्थ्य केन्द्र बनाउने, डेढगाउँ सम्मको मोटरबाटोलाई थप सुधार गर्ने लगायतका विषयलाई आफूले प्राथमिकता दिनेमा जोड दिनुभयो ।
जि सीले पहाडी भेगको समस्या र तिनका समाधानका बारेमा आफूलाई समय समयमा सुझाव दिइरहन बुङ्ग्दी काली समाजका सदस्यहरुलाई अनुरोध पनि गर्नुभयो ।
यस्तै क्षेत्र नम्बर दुइबाटै समानुपातिक निर्वाचन प्रणालि अन्तरगत नेकपा एमालेका तर्फाट संविधान सदस्यमा निर्वाचित रोशन गाहा मगरले नवलपरासी क्षेत्र नम्बर दुइका बासिन्दाका लागि आफ्नो तर्फाट आवश्यक सहयोग सँधै रहने बताउनुभयो । क्षेत्र नम्बर दुइ अन्तरगत पहाडी भाग विकट भएको भन्दै मगरले पहाडलाई प्राथमिकता दिएर काम गर्न सकेमा मात्र आफ्नो क्षेत्रको विकास हुन सक्ने बताउनुभयो ।
कार्यक्रममा वुङ्गदी काली काठमाडौं सर्म्पर्क समितिका सल्लाहकार होमनाथ भट्टर्राईले पहाडी भेगको समस्याका बारेमा जानकारी दिदैं मधेसको थारु भिलेज देखि पोखरा सम्म पर्यटकीय मार्गको रुपमा पहाडी भेगलाई प्रयोग गर्न सके त्यस क्षेत्रको विकास हुनेमा जोड दिनुभयो । उहाँले पहाडी भेगको समस्या समेटेर संविधान सभा सदस्यहरुलाई वितरण गर्न तयार पारिएको माग पत्र पढेर सुनाउनुभएको थियो ।
कार्यक्रममा वुङ्गदी काली काठमाडौं सर्म्पर्क समितिका अध्यक्ष श्रीलाल ठाडा र प्रमुख अतिथि रकुवा गाविसका पूव अध्यक्ष दुग बहादुर राना मगरले संविधान सभा सदस्यहरुलाई अभिनन्दन गर्नुभएको थियो ।
नवलपरासी क्षेत्र नम्बर एकका संविधान सभा सदस्य शशांक कोइरालालाई पनि अभिनन्दनका लागि बोलाइएको भए पनि कार्यक्रममा उपस्थित हुनुहुन्थेन ।
कार्यक्रमा इन्जीनीयरहरु तेज प्रसाद ओझा, देवीराम थापा, वाणिज्य बैंकका उच्च पदस्थ अधिकृत ज्योति चन्द्र ओझा, नेपाल प्रहरीका डी एस पी रामप्रसाद श्रेष्ठ, सनलाइट बोर्डिङ स्कूलका प्रिन्सीपल हरी ओझा, कान्तिपुर टेलिभिजनका पत्रकार सुरेन्द्र पाण्डे अल एसीया इन्टरनेशनलका प्रवन्ध निर्देशक रामचन्द्र ओझा सहितका व्यक्तिहरुको सहभागीता थियो ।