Monday, May 12, 2008

राम्रा कामका लागि फागु

सम्पादकीय
राम्रा कामका लागि फागु

पाहुनै आए,
हामीलाई हैन गाउँलाई हो,
यही रमाइलो ठाउँलाई हो ।

रंगहरुको पर्व फागु पूणिर्मा फेरी एकपटक आयो । वसन्त ऋतुसँगै आउने फागु पर्व यस भेगमा बस्ने हामीहरुका लागि विशेष महत्वको छ । हामीले जसरी गीत गाउँदै घर घर घुमेर देउसी भैलो झै गरी फागु पूणिर्मा मनाउछौं, यस्तो चलन अन्यत्र देखिएको छैन ।
फागु पूणिर्मा आउनु एक साता अगाडि देखि नै रंगसँग खेल्ने र लोला हान्नेहरु तर्राई तथा शहरमा होलान् । तर, उनीहरु हामी झैं फागुका लागि घरघरमा पुग्दैनन् र नाच गान गरेर पैसा पनि उठाउँदैनन् । तिहारमा देउसी भैलो खेल्ने चलन आजभोलि गाउँमा बढे पनि २० वर्षअगाडि सम्म त्यस्तो चलन यस क्षेत्रमा एकदमै कम थियो ।
यस भेगमा भएको फागुको यो मौलिक विशेषतालाई जोगाई राख्नु हाम्रो कर्तव्य हो र यस्मा हामीले गर्व पनि गर्नुर्ुपर्दछ । फागुका अवसरमा हामीले बनाएका गीतहरु अन्यत्र कतै सुन्न पाइएको छैन ।
फागु खेलेरै विद्यालय भवन बनाएको, डेस्क वेञ्च थपेको र पुस्तकालयमा पुस्तक जम्मा गरेको सम्झना हाम्रा पाको पुस्तामा अझै छ ।
फागु खेलेर संकलन गरिएको रकमबाट क्बलहरु बनेका र तिनले जनहीतका थुप्रै कामहरु पनि गरेका छन् । तर, पछिल्लो समयमा आएर फागु पूणिर्मालाई पैसा उठाउने र एक दिन रमाइलो गरेर त्यो सबै पैसा भ्याउने चलन पनि बढ्दै गएको छ । यस्ले गर्दा फागु प्रतिको मानिसको भावना पनि राम्रो हुन सकेको छैन भने केही राम्रो सामाजिक कामको लागि रकम संकलन गर्न सकिने अवसर पनि गुमेको छ ।
तीन चार दिन नाच गान गरेर उठाएको पैसा एकै दिनमा सिध्याउँदा केही क्षणको आनन्द भए पनि त्यो उठेको रकमबाट दिगो र धेरै जनालाई फाइदा पुग्ने काम गर्दा मिल्ने आत्मसन्तुष्टि असाध्यै रमाइलो हुन्छ ।
तपाईहरुले खेलेको फागुमा उठेको रकमबाट गाउँमा कम्प्युटर ल्याउन पाए कति रमाइलो हुन्थ्यो । त्यस्तै सानै भए पनि पुस्तकालय खोल्न पाए कति विद्यार्थीले प्रगति गर्न सक्थे । कुनै खाली जमिनमा वृक्षारोपण गरी स्याहार सुसार गर्ने काममा खर्च गर्न पाए वातावरणलाई फाइदा पुग्दथ्यो । विद्यालयको छात्रवृत्ति कोषमा जम्मा गर्न पाए कति बालबालिकाले निशुल्क पढ्न पाउँथे ।
त्यसैले हामी भन्छौं
फागु खेलौन हो फागु खेलौं न
फागुको पैसाले केही गरौं न ।

No comments:

Post a Comment

Please leave your comment here