Saturday, October 19, 2019

पहाडिने मान्छे, एसबी क्षत्री: नेपालीभाषी बर्मेलीको संघर्ष र सफलताको कथा

 

एस. बी क्षेत्री र उनकी श्रीमती विद्या

उनको 'बिजनेस कार्ड' मा एसबी क्षत्री लेखिएको थियो।

'बर्मेलीले ज्ञवाली उच्चारण गर्नै जान्दैनन्, त्यसैले क्षत्री लेख्दिएको,' उनले कार्ड मतिर सार्दै भने, 'ज्ञवाली भनेपछि गुल्मीबाटै आएको होला पुर्खा।'

रंगुनको ४० डिग्री उखरमाउलो गर्मी छल्न १७ डिग्रीको उनको वातानाकूलित कोठामा पंखासमेत घुम्दै थियो। म बर्माको पुरानो राजधानी रंगुनमा बस्न थालेको दुई वर्ष भयो। यहाँ तीनवटा मात्र मौसम छन्- गर्मी, अझ गर्मी र दर्के झरीसहितको थप गर्मी।

'म त पहाडिने मान्छे हो नि,' क्षत्रीले मलाई नयाँ शब्द सिकाए।

पहाडिने, अर्थात् पहाडतिर डुली हिँड्न रुचाउने। पहाडिने क्षत्रीलाई चिसै प्यारो। त्यही भएर पनि होला, नेपाल धेरैपटक गएका छन् उनी।

'एभरेस्ट बेस क्याम्प पुगेँ, स्याङ्जाको सिरुबारी गएँ, लमजुङको घलेगाउँ गएँ, पोखरा नजिकको घान्द्रुक पनि गएँ,' नेपाल भ्रमणको वृत्तान्त सुनाएर उनले मलाई सोधे, 'साँच्चै हाम्रो पुर्ख्यौली थलो गुल्मी चाहिँ कस्तो छ, पहाड हो कि तराई? गर्मी ठाउँ हो कि शितल?'

सन् २००८ मा बिम्स्टेक सम्मेलनमा भाग लिने म्यानमारको सरकारी टोलीमा सहभागी भएर पहिलोपटक नेपाल पुगेका रहेछन् क्षत्री। त्यति बेला नेपालका पर्यटन मन्त्री प्रदीप ज्ञवाली थिए। क्षत्रीले 'हाम्रा बूढाबाबु गुल्मीको हो' भनेपछि 'म पनि गुल्मीको हो, जानुपर्छ' भनेका थिए रे ज्ञवालीले।

क्षत्रीका हजुरबा कमलापति ज्ञवाली नेपालबाट बर्मा आएका हुन्। कमलापतिका चार जना छोरा यतै जन्मिए। तिनका दुई छोरा बेलायती फौजमा भर्ती हुन भारतको दार्जिलिङ गए। गोर्खा रेजिमेन्टमा भर्ती भए र दोस्रो विश्वयुद्ध लड्न बर्मै आइपुगे।

जापानी र बेलायती सैनिकबीचको त्यो युद्धमा बर्माको राजधानी रंगुन ध्वस्त भएको थियो। बर्मामा मात्र करिब १४ हजार मान्छे मारिए, ४४ हजार घाइते भए। चौध हजारभन्दा धेरै हराए। त्यसरी हराउनेमा उनको आमातिरका हजुरबा पनि एक हुन्।

'हजुरआमा १०६ वर्षको उमेरमा बित्नुभयो,' क्षत्रीले १४ वर्षअघि निधन भएकी हजुरआमालाई सम्झँदै भने, 'दोस्रो विश्वयुद्धमा हराएका हजुरबाको ६३ वर्षसम्म बाटो कुरेर बस्नुभयो।'

यहाँ आएका नेपालीले सबभन्दा बढी दुःख त्यही जापानले बर्मा लिएका बेला भोग्नुपर्यो। परिवार छुट्टिए। कति बर्मामै मरे। कति भागेर नेपाल जान खोज्दा बाटोमै बिते। कति हराए, कति भारतसम्म पुगेर उतै बसे। कति भने बल्लतल्ल नेपाल पुगे।

अंग्रेजहरूले बर्मामा शासन गर्दा 'हिल स्टेसन' बनाएको पहाड पि उँ लिनमा सन् १९६० मा जन्म भएको हो, गणेश ज्ञवालीको। एसबी क्षत्रीको न्वारनको नाम यही हो। 

एस बी क्षत्री।

रंगुनबाट सात सय किलोमिटर परको उनको जन्मथलोलाई नेपालीभाषीहरू 'पिउँले' भन्छन्। अहिले पनि गर्मी छल्न चाहने बर्मेलीका लागि रोज्जाको पर्यटन गन्तव्य यही हो। नेपालीभाषीले बर्मामा आफू बस्ने ठाउँलाई आफ्नै नाउँ दिएका छन्। पिउँले नजिकका गाउँ हुन्, बरबटे, सिलाङ, झिलबस्ती, नयाँ बस्ती, गोराबारी।

'दोस्रो विश्वयुद्ध सकिएपछि बाले बिहे गर्नुभएछ। घरबाट करिब दुई सय किलोमिटर परको लासियोमा। मेरी आमा सुरूमा बाबाको साली हुनुहुन्थ्यो। पछि उहाँले सालीलाई पनि ल्याउनुभएछ,' विनोदी स्वभावका क्षत्रीले भने, 'गुन्द्रुक पकाउन पर्दैन, सालीलाई फकाउन पर्दैन। यो उखान पनि नेपालबाटै ल्याएका थिए हाम्रा पुर्खाले।'

'हामी ज्ञवाली भए पनि क्षत्री हुम् है, बाहुनबाट खसेका। हजुरबाले सायद क्षत्रीनी बिहे गरेर होला,' उनले अनुमान लगाए।

उनको परिवारमा जेठी आमातिरका एक भाइ, चार बहिनी गरी पाँच जना र आफ्नै तीन भाइ गरी आठ जना केटाकेटी थिए। उनीहरू दुई आमा र बासँगै सिलाङमा बस्थे।

'बाले फेरि अर्की बिहे गर्नुभयो,' हाम्रो कुराकानी सुनिरहेकी आफ्नी श्रीमती विद्यातर्फ हेर्दै क्षत्रीले बाल्यकाल सम्झिए, 'तीन गुँड भएपछि छुट्टभिन्न भयो। बा कान्छीआमासित सिलाङमै बस्नुभयो। जेठीआमालाई बाले 'पेन्सन' दिनुभयो। जेठीआमा आफ्ना सन्तान लिएर पिउँले सहर जानुभयो। मेरी आमाको भागमा बाको खेतबारी भएको बरबटे पर्यो। हामी तीन छोरा लिएर आमा बरबटे झर्नुभो।'

'अनि तपाईंको पढाइ नि,' मैले सोधेँ।

बर्मामा सन् १९६२ मा सैनिक शासन सुरू भएपछि यहाँको शैक्षिक स्तर खुस्किँदै गयो। पहिले बच्चैदेखि अंग्रेजी सिकाइने भए पनि सैनिक शासनपछि पाँच कक्षाबाट मात्र अंग्रेजी पढाइ सुरू हुन्थ्यो।

क्षत्री बरबटेमा खेतबारी गर्दै हुर्किए। बिहान राँगा जोत्यो, दिउँसो स्कुल गयो। साँझ गोरी गुरूमाको पाउ मिच्न गयो। उनको दैनिकी यस्तै थियो।

बेलायतले सन् १९४८ मा बर्मालाई स्वतन्त्र छाडेर गए पनि केही गोरागोरीहरू उता फर्कन मानेनन्। तिनलाई बर्माको हावापानी र बर्मेली मायाले यतै रोक्यो। तिनैमध्ये एक जना पाको उमेरकी गोरिनी क्षत्री पढ्ने स्कुलकी शिक्षिका थिइन्। उनले सिकाउने अंग्रेजीमा क्षत्रीको मन गढ्यो। पाँच वर्षजति तिनै गोरिनीको खुट्टा मालिस गरेर अंग्रेजी भाषा सिके।

'ती अंग्रेजका सन्तान बस्ने ठाउँलाई नै नेपालीले गोराबारी नाम दिएका होलान् है,' क्षत्रीलाई सोधेँ, 'बेलायत नफर्केका गोरागोरीका कोही-कोही सन्तान अहिले पनि बर्मामा होलान्?'

'छन् छन्,' उनले भने।

बर्मामा गर्नुपर्ने कामको सूचीमा अब अर्को एउटा काम पनि थपियो। बेलायतले छाडेर गए पनि बर्मा नछाडेका गोरागोरीका सन्तान भेट्ने।

'हामी तीन भाइले २४ कक्षा पढेम्,' रौसिए क्षत्री, 'सबै जना आठ, आठ, आठ क्लास। जोड्नुस् त।'

म फिस्सिएँ, फिस्स हाँस्नु के!

'दाजु आठ चढेपछि मोगोक जानुभयो, पत्थर खोज्न,' बर्माका १० प्रतिशतजति नेपालीभाषी रुबी, जेड, सफायर, निलमजस्ता अनेक नामका मणिमाणिक्य खोज्ने र बेच्ने काममा हिँड्छन्। त्यसले केही नेपाली परिवारलाई अर्बपति बनाइदिएको छ भने दर्जनौंलाई करोडपति। सयौं परिवारलाई लखपति र अरू सयौं परिवारलाई सडकपति।

'जसको भाग्य छ, त्यो मात्र चम्किने हो पत्थरमा, हाम्रो दाइको चम्केन,' दाजु मोगोक लागेपछि माइला छोरा क्षत्रीमा परिवारको दायित्व बढ्यो। आमालाई खेतबारी सघाउने र सानो भाइ हुर्काउने।

उनी खोरिया खन्थे। हलो जोत्थे। डल्ला फोर्थे। मकै, धान लगाउँथे। गोड्थे। काट्थे। थन्काउँथे। अर्मपर्म गर्थे। खेताला जान्थे। गोठाला जान्थे। खरले घरगोठ छाउँथे। यस्तै कामको चापले क्षत्रीले आठ कक्षापछि स्कुल छाडिदिए। खेतबारी नै थामेर बसे।

'बस्तीमा दुःख थियो, खानबस्नको हैन,' क्षत्रीले भने, 'पैसा हातै नपर्ने। 'क्यास फ्लो' नै नहुने।'

पैसा हात पार्न राति राति 'सेक्युरिटी गार्ड' को काम गरे उनले। दिनभर बरबटेमा खेतबारी स्याहार्ने, राति पिउँलेमा सेक्युरिटी गार्ड।

पिउँले फूलका लागि प्रसिद्ध छ। बर्मामा जताततै बौद्ध गुम्बा छन्। पुरानो काठमाडौंको भनाइजस्तै, मान्छेभन्दा मूर्ति धेरै, घरभन्दा मन्दिर धेरै। बर्मामा पनि मान्छेभन्दा बुद्धका मूर्ति धेरै छन् र घरभन्दा बौद्ध गुम्बा।

बुद्धलाई फूल चढाउने चलन असाध्यै धेरै छ। हरेक घरमा बुद्धका मूर्ति राखिएकै छन् र तिनमा हरेक दिन नयाँ फूल-पानी चढाउने गर्छन्। गाडीमा पनि फूलै राख्छन्। पसलमा पनि फूलैफूल।

रेल चढेर पिउँलेका फूल बर्माका सबै सहरमा पुग्थे, अझै पुग्छन्।

क्षत्रीले सागसब्जीभन्दा फूलबाट पैसा आउने निधो गरे। सेक्युरिटी गार्डको काम छाडे र लागे बारीमा नगद पार्ने फूल रोप्न- हलान्डिया फूल। त्यो फूलको यति धेरै व्यापार बढ्यो, बीउकै हाहाकार। नजिकका आफन्तले समेत हलान्डियाको बीउ आफन्तलाई नदिने। लुकाएर आफू मात्र लगाउने। क्षत्री फूलको बीउ खोज्दै खोज्दै ठूला सहरसम्म पुगे।

बाह्रै महिना पानी लाग्ने बारी छँदै थियो। जति पनि काम गर्ने जाँगर छँदै थियो। हातहातै पैसा पर्ने फूल लगाएपछि केही वर्षमै पिउँलेमा फूलको नम्बरी किसान भए, क्षत्री।

त्यसपछि उनले मोगोकबाट दाइलाई बोलाए। दाइको बिहे भयो। जन बढ्यो। बारीमा पसिना बढी बगे। अनि बढ्यो फूलको उत्पादन र व्यापार।

क्षत्रीलाई अंग्रेजी सिक्ने धुनले छाडेको थिएन। गोराका कोही न कोही सन्तानसित हरेक साँझ पिउँले पुगेर अंग्रेजी सिकिरहन्थे।

उनले २३ वर्षको उमेरसम्म फूलको खेतीपाती गरे। पैसा पनि भयो। फूल खेतीमै लाग्दा क्षत्रीले थाहा पाए किसानभन्दा हुनुपर्ने त व्यापारी रहेछ। पैसाको तराजु जहिले उस्कैमा धेरै जो ढल्किन्छ।

बस्तीमा हलो जोत्दा तालु माथिबाट हवाइजहाज उडेर गएको उनी देख्थे। मुन्टो बटारेर जहाज हेर्दै सोच्थे, 'यो जहाज जहाँ गएर ओर्लन्छ, त्यही ठाउँमा भविष्य खोज्न जाने हो म पनि।'

दाइभाउजू खेतीपाती गर्न सक्ने थिए। सघाउने आमा र भाइ थिए। गाउँको जिम्मा उनीहरूलाई छाडेर क्षत्री सहर छिरे, त्यो बेलाको राजधानी, रंगुन।

सुरूमा उनले गाडी चलाउन सिके। बर्मेली पाराको समाजवादी सरकारले त्यो बेला विदेशबाट नयाँ गाडी ल्याउन दिन्थेन। पुराना गाडी बिग्रिरहन्थे। मेकानिकको राम्रै माग थियो। यही देखेर उनी मेकानिक भए।

गाउँबाट ल्याएको पैसाले सहरमा कति पो थेग्थ्यो र? लाखौं मान्छेले हजार तरिकाले पैसा तान्ने बल्छी थापिरहेका हुन्छन् सहरमा। घरबाट ल्याएको पैसा सकिन थालेपछि एक छाक मात्र भात खान थाले उनले।

भात दोकानदारले उनको यो मर्का बुझेछ। निश्चित पैसा तिरेपछि दिउँसो दुई घन्टासम्म जति खाए पनि दिने भयो।

क्षत्रीले जुक्ति निकालेर एकदेखि तीन बजेसम्म खान थाले। यसो गर्दा बिहानको र साँझको छाक एकैचोटिमा टर्थ्यो। यस्तो अवस्थामा उनले घर फर्केर पैसा मागेनन्, 'स्वाभिमान' भन्ने चिज जो थियो।

उनी सहर पुगेपछि जहाज झर्ने विमानस्थल गइरहन थाले। कहिलेकाहीँ गोराहरू भेट्न रेल्वे स्टेसन पनि जान्थे। अलमल परेका गोरासँग एयरपोर्ट र रेल्वे स्टेसनमा अंग्रेजी बोल्थे। कसैलाई ट्याक्सी मिलाइदिन्थे, कसैलाई होटल। कसैलाई सहर घुमाइदिन्थे, कतिलाई पैसा साट्न मद्दत गर्थे।

समाजवादी सरकारले विदेशी चुरोट र मदिरामा बन्देज गरेको थियो। तर खाने मान्छेको कहाँ कमी थियो र? पर्यटकले ल्याएका एक बोतल ह्विस्की बेच्दा ८-१० डलर कमाई हुन्थ्यो।

रंगुनमा पनि विस्तारै पैसा फल्न थाल्यो। यही क्रममा सन् १९८७ को कुनै एकदिन क्षत्री गोरालाई पुर्याउन विमानस्थल गएका थिए। बंगलादेशको जहाज बेलामा आएन। जहाजका कर्मचारी, होटल फर्किन चाहने पर्यटक र ट्याक्सी ड्राइभर सब एकअर्कासँग भाषा नबुझेरै बाझाबाझ गरिरहेका रहेछन्। क्षत्रीको अंग्रेजी भाषाले त्यहाँ कमाल गरिदियो। उनले गरेको मध्यस्थतामा सबै जनाको चित्त बुझ्यो।

एकाधिकार गरिरहेका 'एयरपोर्ट ट्याक्सी'वालाहरूले क्षत्रीको भाषा दख्खल देखेर प्रस्ताव गरे, 'तिमीले चाहे एउटा गाडी किनेर हाम्रो समितिमा छिराऊ। हाम्लाई भाषाको अलमल पर्दा सहयोग गर। गाडी बरू हामी सस्तैमा मिलाइदिन्छौं।'

उनी घर गए। फूल बेचेर जम्मा पारेको पैसा धुरीखम्बा खोपेर लुकाइएको थियो। त्यति बेलाको ५० हजार च्याट रहेछ। त्यही सोहोरेर रंगुन आए। गाडी किने। आफ्नै ट्याक्सीमा पर्यटकलाई होटल पुर्याइदिने, सहर घुमाइदिने र लामो दुरी लगिदिने गर्न थाले।

जिन्दगीले रंगुनमा पनि रफ्तार लियो।

गाडी किनेको तीन महिनामै सरकारले रंगुनमा ३० वर्ष पुराना गाडी चलाउन नपाइने नियम ल्याइदियो। क्षेत्रीको सपना र आम्दानीमा ब्रेक लाग्यो। उनले रंगुनबाहिर लगेर आधा दाममा गाडी बेचे।

गाडी बेचेको १० दिनमै समाजवादी सरकारले नयाँ नियम ल्यायो। पुराना २५, ३५ र ७५ दरका बैंक नोट नचल्ने। उनीसँग गाडी किन्नेले तिनै दरका नोट दिएको थियो।

यस्तै गर्थ्यो, बर्माको सैनिक सरकार। त्यसअघि पनि 'बर्मेली मूलको समाजवादी बाटो' भन्दै दुईपटक आममानिससँग भएका बैंक नोट नचल्ने बनाइदिएर सबैलाई बराबरीमा झारेको थियो। उक्त निर्णयपछि थुप्रै भारतीय र चिनियाँ व्यापारी आफ्नै देश फर्केका थिए।

उता, पिउँलेमा फूलका बिरुवामा विकासे कीरा लाग्न थाले। फूलको व्यापार घरखर्च चलाउन पनि धौधौ हुने गरी बिग्रिँदै गयो।

'अरे यार मान्छे, म शून्यमा झरेँ,' क्षत्री मज्जाले हाँसे, 'जानेको टुरिस्ट गाइडको काम थियो। त्यही गरेर गुजारा चलाएँ।'

त्यति बेला नेपालमा 'पिसकोर' स्वयंसेवक भएर अमेरिका फर्केका जोडीले स्थापना गरेको टुर कम्पनी 'जर्निज एड्भेन्चर्स ट्राभल'ले नेपालमा पर्यटक पठाइरहेको थियो। पर्यावरणमैत्री र सामुदायिक पर्यटनका लागि प्रसिद्ध 'जर्निज ट्राभल' ले बर्मामा पनि पर्यटक पठाउने भएछ। बर्मा घुमेर गएका कुनै पर्यटकले अंग्रेजी भाषामा पोख्त क्षत्रीको नाउँ 'जर्निज ट्राभल' लाई सिफारिस गरिदिएछन्।

'जर्निज'ले समूह-समूहमा पर्यटक पठाउन थाल्यो। तिनलाई बर्मा घुमाउने जिम्मा क्षत्रीको थियो। उनले विमानस्थलनजिकै डेरा लिए र अघोषित 'ट्राभल एजेन्ट' भए। यी सबै कामका लागि 'गाइड लाइसेन्स' चाहिन्थ्यो, जुन उनीसँग थिएन।


एसबी क्षत्रीको होटलमा विदेशी पर्यटकहरू।

पर्यटन व्यवसायी एसबी क्षत्री पर्यटकलाई यसरी हलो जोत्ने अनुभव पनि गराउँछन्।

क्षत्रीलाई कुन दिन कसले सरकारमा सुट्के लाइदेला भन्ने पीर परिरहेको बेला थियो। नेपाली मूलका सैनिक कर्नेल टंकध्वज नेपाललाई सरकारले पर्यटन विभाग प्रमुख बनाएर पठायो। खासमा टंकध्वज नेपाल सेनामै माथि जान सक्थे। बर्मेली नभएकै कारण उनी सरकारी कोपभाजनमा परेर पर्यटन विभाग आइपुगेका थिए।

उनको सरुवा क्षेत्रीका लागि भने गाइड लाइसेन्स पाउने बाटो बन्यो।

'गुहार माग्न गएँ। गुरुबा! म गोरा घुमाउने गर्छु। सरकारी कागज छैन। गाइडमा रेकमेन्डसेन गरिदिनुपर्यो,' क्षत्रीले बिन्ती बिसाए।

बर्मामा सैनिकको बोली नै कानुन हुन्थ्यो। क्षत्री लाइसन्सवाला टुरिस्ट गाइड बने। उनको जीवनले फेरि रफ्तार लिन सुरू गर्यो। अफिस खोले। आमा र दाजुको परिवारलाई रंगुन बोलाए।

पर्यटन फाप्दै थियो। यसैबीच सन् १९८८ मा बर्मामा प्रजातान्त्रिक आन्दोलन चर्कियो। हजारभन्दा बढी मान्छे मारिए। सेनाले प्रजातान्त्रिक आन्दोलन दबायो। पश्चिमा देशले आफ्ना नागरिकलाई बर्मा नजान सल्लाह दिए। पर्यटक आउन छाडे। क्षत्रीको व्यवसाय डुब्यो।

'फेरि शून्यमा झरियो,' क्षेत्रीले थपे, 'बाँच्न त पर्यो।'

उबेला समाजवादी सरकारले एक दिनमा एउटा गाडीलाई २४ लिटर मात्र इन्धन उपलब्ध गराउँथ्यो। मान्छे दिनभर पेट्रोलपम्पका अगाडि गाडी राख्थे। इन्धनको कालोबजारी थियो।

क्षत्रीले जुक्ति निकाले। लाइनमा बस्न नचाहने ठूलाबडाका गाडीलाई पेट्रोलपम्पको लाइनमा राखिदियो। दिनभर घस्रिएपछि पाइने तेल भाग लगायो, साहुलाई आधा आफूलाई आधा। आफ्नो भागको तेल उनी कालो बजारमा बेच्थे।

दुःख परे पनि क्षत्रीले अंग्रेजी सिक्न भने छाडेनन्। त्यही बेला भर्खरभर्खर बर्मामा आएको कम्प्युटर र हिसाबकिताब राख्न 'बुक किपिङ' पनि सिके। आफ्नो सीप बढाउनुपर्छ भन्ने निकै ख्याल थियो उनलाई।

बर्मामा अनेक प्राकृतिक स्रोतमा इन्धन प्रमुख छ। सन् १९९० को सुरू-सुरूमा संसारका नाम चलेका ठूल्ठूला पेट्रोल कम्पनी उत्खनन् गर्न आए। 'हेलिकप्टर लिएर गाउँ-गाउँ, जंगल-जंगल गएर सर्वे गर्थे,' क्षेत्रीले ती दिन सम्झिए।

क्षत्रीको एयरपोर्ट जाने क्रम छुटेको थिएन। अंग्रेजी जानेको मान्छे पाउनै मुश्किल बेला थियो। क्षत्रीलाई पेट्रोल उत्खनन् गर्ने एउटा कम्पनीका व्यवस्थापकले छाड्दै छाडेन। उनी त्यहाँ दोभाषे भए। आवश्यक सरकारी कागजपत्र मिलाइदिन थाले।

गाडी चलाउने, बिग्रे बनाउने, पर्यटनको अनुभव भएको, अंग्रेजी जानेको, सरकारी कागजपत्र मिलाइदिन सक्ने उनको सीप देखेका विदेशीले बुझे, 'क्षत्री भयो भने काम सजिलो हुन्छ।'

न्वारनको नाम गणेशलाई परिवर्तन गरेर क्षत्रीका बुबाले स्कुल पढ्ने बेला राखिदिएको 'सीपबहादुर' नामको यहाँ काम आयो।

मेसिनरीमा रूचि भएका क्षत्रीले हेलिकप्टरका पार्टपुर्जाबारे केही दिनमै चाल पाइहाले। पहिलो महिनाको तलब भनेर कम्पनीले दियो, दुई हजार अमेरिकी डलर। रन्थनिए, क्षत्री। चिमोटे आफैंलाई।

त्यसपछि कम्पनीले दियो, घर। सेक्रेटरी। गाडी। ड्राइभर।

हवाइ उड्डयनमा त रेडियोमार्फत् सञ्चार गर्नुपर्ने। त्यो पनि क्षत्रीले टिपिहाले। त्यसमा पनि सामान्य बिग्रिए, बनाउन सक्ने भए। छ महिनाभित्र उनी आफ्नै सीपको बलमा 'असिस्टेन्ट म्यानेजर' भए। सातवटा हेलिकप्टरका मुख्य हर्ताकर्ता।

उनी गोराको संगतमा गल्फ मैदान पनि जान थाले। गल्फ खेल्न सिके।

'बर्मामा टिक्ने हो भने गल्फ खेल्नुपर्छ, जर्नेलहरू त्यहीँ हुन्छन्। शासन सत्ताको बागडोर तिनैसँग छ। सब सूचना गल्फ कोर्समै पाइन्छ,' राष्ट्रसंघका एक पूर्व हाकिमले मलाई भनेको सम्झेँ।

गोरालाई संगत दिन उनले साँझका 'पार्टी ज्वाइन' गर्नुपर्यो। 'वाइन पिउन सिकेँ, चिज खान सिकेँ,' क्षत्रीले सुनाए।

सेनाका गल्फकोर्स, अमेरिकन र ब्रिटिस क्लबको पेय, अनि हेलिकप्टरको व्यवसाय- क्षत्रीको पहुँच, उठबस, खानपिन, कुराकानी सबै सत्ता नजिककासँग हुन थाल्यो।

सन् १९९२ मा फेरि पर्यटनका लागि बर्मा खुल्यो। क्षत्रीले ट्राभल कम्पनी खोले। 'पहाडिने मान्छे, एड्भेन्चर टुरिजममा मन,' क्षत्रीले सुनाए, 'राम्रा र बलिया गाडी किनेँ, अनि लागेँ गोराहरूसँग पहाड घुम्न।'


बर्मामा त्यो समय गाडी किन्न कि सेनाको जर्नेल हुनुपर्थ्यो कि राजदूत कि तिनको विश्वास जितेको बर्मेली।

सन् १९९० को चुनावमा विजयी भएर पनि आङ साङ सू चीको पार्टीलाई सत्ता हस्तान्तरण नगरेको भन्दै बर्मेली सेनाको युरोपेली र अमेरिकी संसदमा विरोध भयो। बर्मामाथि नाकाबन्दीका कारण बर्मामा लगानी गरेका त्यताका कम्पनीहरू फिर्ता जाने भए। उनको हेलिकप्टर पनि युरोप फर्कियो।

क्षत्रीले अब फेरि शून्यमा झरेँ भन्छन् कि भनेको भनेनन्, 'जागिर गयो, तर आफ्नै टुरिजम् बिजनेस चलिरह्यो।'

उनले अब रंगुनमा जग्गा किन्न थाले। घर बनाउन थाले। सुखका दिनसँगै सबै परिवार पिउँलेबाट रंगुन आए।

'बिहेको कुरै निकाल्नुहुन्न त,' जिस्काउने पाराले सोधेँ।

'स्पष्ट थिएँ म,' क्षत्रीले जवाफ फर्काए, 'कि कामियाब भएर मनपरेकी बूढी बिहे गर्छु, सकिएन भने धनीकी छोरी बिहे गर्छु। त्यसैको गुलामी गरेर बस्छु।'

मोगोक नेपालीभाषीको सबभन्दा बाक्लो बस्ती भएको म्यानमारी सहर हो। मोगोकका पत्थर व्यापारी यामबहादुर पोख्रेलकी छोरी विद्या भारतको बम्बईमा 'टुरिजम' पढ्थिन। बर्माको 'रुबी'लाई बम्बई लगेर बेच्ने र बम्बईको 'हिरा' बर्मा ल्याएर बेच्ने गर्दा केही भारतीय र बर्मेली धनी पत्थर व्यापारीबीच पारिवारिक सम्बन्ध छ।

साथीभाइको सुरमा विद्यालाई भेट्न क्षत्री बम्बई पुगे। मनपराए। पर्यटनमा लागेका क्षत्रीलाई 'टुरिजम' पढेकी जोडा मिल्यो।

सन् १९९५ मा उनीहरूले बिहे गरे।

एस बी क्षत्री र श्रीमती विद्या।

बिहेपछि क्षत्री पर्यटन व्यवसायमै लागे भने विद्या हिरा व्यापारमा लागिन्। पत्थरको व्यापार विश्वासमा अडेको हुन्छ। खास ग्राहक को हो, पत्तै हुँदैन।

सन् १९९७ को एकदिन बर्मेली बिचौलियाले विद्याबाट दुई करोड च्याटको हिरा लिइन्, 'ग्राहक राम्रो छ, किन्छ' भन्दै। तर न पैसा दिइन्, न सामान फर्काइन्।'

'आफूलाई अरूले धोका दिए पनि आफूले अरूलाई धोका दिन भएन। अपार्टमेन्ट बेचेँ। पाँचवटा गाडी बेचेँ। घडेरी बेचेँ। भएका सम्पत्ति सबै सकेर ऋण तिरेँ,' क्षत्रीले बल्ल यसपालि भने, 'यार! अनि फेरि झरेँ शून्यमा।'

क्षत्रीसँगैको सोफामा बसेकी विद्यालाई भने दुई करोडको नोक्सानले धेरै कुरा सिकायो। २२ दिने छोरा च्यापेर सुत्केरी विद्या ती बिचौलिया महिलाको पछि लागिन्। पैसा उठ्ने छाँट नदेखेपछि अदालत गइन्।

'अदालतको भाषा जानेँ। कानुन जानेँ,' विद्याले थपिन्, 'कसरी कमाउने र कसरी ऋण तिर्ने भनेर अनेक उपाय निकाल्न बाध्य भइयो।'

सन् १९९६ म्यानमार भ्रमण वर्ष - क्षत्री पर्यटक बोलाउन युरोप, अमेरिका जान थाले। विद्या काखेछोरा च्यापेर हिराकै व्यापारमा लागिन्।

हिराले पुर्‍याएको क्षति हिरा व्यापारबाटै सन् २०१३ मा पूर्ति भयो। त्यसपछि विद्याले त्यो कारोबार छाडिन्। क्षत्री भने पर्यटन व्यवसायमा लागिरहे।

उनी सन् २००७ मा होटल खोल्न पुटाओ पुगे। पुटाओ बर्माको एक मात्र हिउँ पर्ने पहाड हो। त्यहीँबाट हिन्दकुश हिमालय क्षेत्र सुरू हुन्छ। बर्मामा पनि ट्रेकिङ रुट छन्, हिउँले ढाकिएका पहाड छन्, तिनमा चढ्न सकिन्छ भनेर विदेशी र बर्मेलीलाई थाहा दिए क्षत्रीले।

उता उनको ट्राभल कम्पनीसँग अस्ट्रेलियाली कम्पनीले साझेदारी गर्न चाह्यो। उनले ४० प्रतिशत शेयर आफूसँग राखेर अस्ट्रेलियाली कम्पनीलाई ट्राभल चलाउन दिए। समूहका समूह पर्यटक ल्याएर कम्पनीले नाफा गर्दै गयो। त्यसको हिस्सा क्षत्रीले पाउँदै गए। जीवनमा फेरि बहार आयो।

क्षत्रीको रूचि वातावरणमैत्री र दीगो पर्यटनमा हो। 'सफा तातो खाना, आरामदायी बिछ्यौना र नुहाउँदा चिसो, तातो पानी अनि सफा शौचालय, त्यत्ति मात्र गर्ने हो पर्यटकका लागि, अरू वरिपरिको वातावरण केही मास्नु-बिगार्नु हुँदैन,' क्षत्रीले पर्यटनको मन्त्र सिकाए।

'यही टुरिजम सिक्न म नेपाल गइरहेँ,' म्यानमारको पर्यटन मन्त्रालयका सल्लाहकार क्षत्रीको अनुहार खुसी र सन्तोषले मुजा पर्यो।

सन् २०१४ मा कलाउ भन्ने पहाडी ठाउँमा उनी अर्को होटल खोल्न पुगे। नेपालीभाषीको बाक्लो बस्ती भएको कलाउको पहाडले नेपाली पहाडकै झल्को दिन्छ। होटलमा लगानी गर्दै जाँदा ६० लाख अमेरिकी डलर खर्च भयो। आफूले मात्र धान्न सकिन्न होला भन्ने भएपछि नेपालीभाषी अन्य दुई जना रुबी व्यापारीलाई साझेदार बनाए।

तीस एकडमा फैलिएको होटलको क्षेत्रभित्रै गाउँले बस्ती बसाए। खेतबारी जोत्न खन्न मिल्ने बनाए। गाई, गोरु, भैंसी, बाख्रा पाले। अर्गानिक फार्मिङ गरे। अहिले त्यहाँ जाने पर्यटकले मौसमअनुसार किसानको जीवन बाँच्न पाउँछन्। गोरु लगाएर जोत्छन्। धान रोप्छन्। साग गोड्छन्, मकै भाँच्छन्।तिनैले टिपेका तरकारी, तिनैले मारेका कुखुरा पर्यटकलाई खुवाउँछन्। पर्यटक दंग, उनी पनि।

'अब त्यहाँ घोडा राख्ने तबेला बनाउँदै छु,' क्षत्रीले नयाँ योजना सुनाए, 'पहिले पहिले हाम्रा पुर्खा पहाडमा घोडामा यात्रा गर्थे। अंग्रेज शासनकालमा गोराहरू घोडा चढेरै त्यो कलाउको बाटो हिँड्ने रहेछन्।'

क्षत्री दम्पतीले दुई वर्षअघि बर्माकै सबभन्दा धेरै पर्यटक पुग्ने इन्ले ताल किनारमा फेरि अर्को होटल खोले। कलाउबाट दुई-तीनदिने 'ट्रेकिङ' गरेर इन्ले तालमा झरे पनि भयो। इन्लेबाट उक्लँदै कलाउ पुगे पनि भयो।

अर्को होटल खोल्ने सुरमा लागेका क्षत्रीले पिउँलेबाट लाश्यो जाने सडकमा नेपालीको बस्ती भएकै पहाडी ठाउँमा जग्गा किनिसकेका छन्।

'त्यहाँ जातीय अधिकारका लागि लडिरहेका सशस्त्र विद्रोहीले बेलाबेला आक्रमण गर्ने भएकाले अहिल्यै होटल खोल्न मिल्दैन,' क्षत्रीले सुनाए, 'त्यो ठाउँमा भविष्यमा होटल बनाउँदा हरियाली होस् भनेर रूखबिरुवा हुर्काइरहेका छौं। एकदिन त विद्रोह सकिएला अनि वातावरणमैत्री होटल खोल्ने हो।'

क्षत्रीका अरू योजना पनि छन्। बर्माका उत्तरी पहाडमा संसारकै उत्कृष्ट साहसिक कार, मोटरसाइकल र साइकलमा 'अफरोड ड्राइभिङ र बाइकिङ' रुटहरू बनाउने। बर्माकै पहिलो जीप लाइनिङ र बन्जी जम्पिङ स्थलहरू बनाउने, रक क्लाइम्बिङ र प्याराग्लाइडिङका लागि डाँडाहरू खोज्ने।

उनले भनेका साहसिक पर्यटनको फेहरिस्त दोहर्याएर पढ्दा पो थाहा भयो, करिब दुई हजार किलोमिटर सामुद्रिक किनारा भएको देश म्यानमारमा जन्मेर पनि उनको कुनै योजना समुद्रसँग जोडिएको छैन। सबै पहाडी भूभागसँग जोडिएको छ।

साँच्चै 'पहाडिने' क्षत्री।

(पहिलोपटक सेतोपाटी अनलाइनमा प्रकाशित मिति: बुधबार, कात्तिक ६, २०७६)

No comments:

Post a Comment

Please leave your comment here