'बा बिरामी हुनुहुन्थ्यो। आमा ‘पर सरेका’ ले हामी आठदेखि १२ वर्षका केटाकेटीले खाना पकाएर बाआमालाई दिन्थ्यौं। हाम्ले खान्थ्यौं। बिरामी बा एक दिउँसो घरमा ढल्नुभयो। म सानै थिएँ। आमालाई बोलाएँ। आमा बाको नजिक आउनुभयो। तर, बालाई छुँदै छुनुभएन। ‘छुई’ भएका बेला पुरुषलाई छुनुहुन्न भन्ने धारणा उहाँको मनमा गडेको थियो। बा त्यही दुर्घटनापछि बितेर जानुभयो।'
नन्दु ज्ञवालीले पहिलो भेटमै मलाई सुनाइन्। उनीसँग यो भेट जुराउन मलाई हम्मे परेको थियो।
मेरो जागिर सेलिब्रेटीहरूसँग काम गर्ने छ। नेता हुन् वा खेलाडी, उद्यमी-व्यापारी हुन् वा कलाकार। पत्रकार हुन् वा लेखक। उनीहरूलाई भेट्यो, टिभी कार्यक्रमका लागि बोलायो। गाउँ-बस्तीमा उनीहरूलाई लग्यो। त्यहाँका बासिन्दासँग अन्तर्क्रिया गरायो। खिच्यो। अनि प्रसारण गर्यो।
नेपालमा टिभी/रेडियो कार्यक्रम ‘साझा सवाल’ मा जे गर्थेँ, बर्मामा त्यही गरिरहेको छु। पोहोरदेखि बर्मामा नेपाली सेलिब्रेटी खोज्ने धुन चढेको, अझै रोकिएको छैन।
यहाँका पत्रपत्रिका, टिभीमा को-को बर्मेली नेपालीको चर्चा छ भनेर खोजिरहन्छु। मलाई बर्मेली भाषा आउँदैन। त्यसैले यहाँका अंग्रेजी पत्रिकामा कतै गोर्खालीबारे छापिइहाल्छ कि भनेर खोजिरहन्छु। गुगल गरिरहन्छु।
फेरि यहाँका गोर्खालीका नाम बर्मेलीकरण भइसकेका छन्। को नेपाली हो, को होइन भनेर छुट्याउन अप्ठ्यारो।
बर्मेलीकरण गर्ने धूनमा यहाँ के हिन्दु, के मुसलमान, सबैजसोको नाम बर्मेली बनाइएको छ। जस्तो- दोभाषे भएर मलाई सहयोग गर्ने बर्मेली नेपाली साथीको नाम तिहा आङ। मसँगै काम गर्ने बर्मेली मुसलमान साथीको नाम च्व मिउ टुन।
तिहाले मलाई एकदिन आफ्नो खास नाम कैलाश हो भनेर सुनाए। अनि च्व मिउले अफसर मोहम्मद।
आफ्ना पूर्खाबाट आएका जातीय, धार्मिक र क्षेत्रीय नाम थर राख्दा विभेद हुन्छ भनेर परिवर्तन गर्नेहरू बर्मामा लाखौं छन्।
'गोर्खाली सेलिब्रेटी' खोज्ने धुनमा फेला परेकी हुन् नन्दु ज्ञवाली।
‘जम्मा २३ वर्षको युवावयकी नन्दु बर्माकी सबभन्दा चर्चित महिलावादीमध्ये एक हुन्,’ भ्वाइस अफ अमेरिकाले नोभेम्बर २१, २०१८ मा लेखेको थियो।
मैले नन्दुलाई पोहोर फागुनमा पत्ता लगाएको हुँ। गुगल गरेरै। बर्माको चर्चित टिभी च्यानल डिभिबीको वेबसाइटमा नन्दुले अंग्रेजीबाट बर्मेली भाषामा अनुवाद गरेर प्रकाशन गरेको किताबबारे समाचार थियो।
प्रसिद्ध महिलावादी लेखिका दिची चीमामान्ता ङोजीको 'वी शुड अल बी फेमिनिस्ट' (हामी सबै नारीवादी हुनुपर्छ) किताब नन्दुले अनुवाद गरेकी थिइन्। त्यसै अवसरमा डिभिबी च्यानलले अंग्रेजी संस्करणको वेबसाइटमा नन्दुको अन्तर्वार्ता राखेको थियो।
अन्तर्वार्ता पढेपछि मैले नन्दुलाई फेसबुकमा खोजेँ। म्यासेन्जरमा सन्देश पठाएँ, ‘म नेपाली पत्रकार। तपाईंसँग कुरा गर्न समय चाहन्छु।’
उनले दुई साताको प्रतीक्षापछि जवाफ फर्काइन्, 'म अहिले 'योनीका कथाहरू' (भजाइना मनोलग) लाई पहिलोपटक बर्मामा प्रस्तुत गर्ने काममा व्यस्त छु। तपाईंलाई फुर्सद भए शनिबार कार्यक्रम हेर्न आउनू। त्यहीँ भेटौं।'
म उनले भनेको समय र स्थानमा पुगेँ। ‘हल’ भरिइसक्यो भनेर त्यहाँका स्वयंसेवकले भित्र छिर्न दिएनन्। नन्दुको न फोन उठ्यो, न फेसबुक म्यासेन्जरमा जवाफ आयो।
डेढ घन्टाजति हलबाहिर कुरेर म निराश भई डेरा फर्कें।
त्यसको भोलिपल्ट नन्दुले माफी माग्दै जवाफ फर्काइन्, ‘अब छिट्टै भेट्नुपर्छ।’
त्यो साताभर बर्माका अंग्रेजी र विभिन्न अन्तर्राष्ट्रिय समाचारमा 'भजाइना मनोलग' कार्यक्रम पहिलोपटक प्रस्तुत भएको समाचार थियो। म काम गर्ने संस्था बिबिसीमा पनि नन्दुको अन्तर्वार्ता आयो। मैले भने अझ भेट्न पाएको होइन।
नन्दु विभिन्न गोष्ठी र सम्मेलनमा अतिथि वक्ता बनेर गएको समाचार आइरहन्थ्यो। नेपालभन्दा करिब पाँच गुणा ठूलो देश बर्मामा उनी कहिले पूर्वीउत्तरका डाँडामा पुग्थिन् त कहिले दक्षिण-पश्चिमका तराईमा।
मलाई ‘यात्रामा छु’ भनिरहन्थिन्।
‘मलाई भात खुवाउने त ट्रान्सलेसनको कामले हो नि। विभिन्न संस्थाको कार्यक्रममा गएर बर्मेली-अंग्रेजी वा अंग्रेजी-बर्मेलीमा अनुवाद गर्छु,’ व्यस्तताबारे म्यासेन्जरमा जवाफ फर्काउँथिन्, ‘हरेकपटक भाषण गर्न मात्र हिँडेकी हैन है।’
झन्डै छ महिनापछि, गत भदौमा बल्ल नन्दुसँग भेट्ने मौका जुर्यो।
मैले 'किन महिलावादी भएको' भन्दै कुराकानी सुरु गरेँ।
उनले परिवारमा भएको दुर्घटना सम्झँदै भनेकी थिइन्, ‘आमा छुई भएको दुई दिन भएको थियो। महिनावारी बेला पतिलाई छोए पतिको आयु घट्छ भन्ने आस्थाका कारण आमाले बिरामी बालाई छुनुभएन।’
अहिले नन्दुकी आमालाई पछुतो छ। मुर्छा परेका बालाई धर्मराउनेबित्तिकै लड्न नदिएकी भए वा लड्नासाथ आमाले तत्काल बोकेर उपचारका लागि दौडाएकी भए, बा बाँच्नु पो हुन्थ्यो कि?
त्यो घटनाले नन्दुलाई पोलिरह्यो। उनले महिला र पुरुषबीच फरक खोज्न थालिन्।
बौद्धमार्गी देश बर्माका सबैजसो गुम्बामा बुद्धको मूर्ति नजिकै जाने अनुमति पुरुषलाई मात्र छ। हिन्दु महिलाले महिनावारी बेला भोग्नुपर्ने विभेद त कति कति। ‘पर सर्ने’, ‘छुई हुने’ यस्ता चलन बर्मेली नेपालीले आफूसँगै नेपालबाट लिएर आएका हुन्।
‘फेमिनस्ट आर मेड, नट बर्न – महिलावादी बन्ने हुन्, जन्मँदै हुने होइन,’ नन्दुले मलाई व्याख्या गरिरहेकी थिइन्।
'हामीलाई सानैदेखि विभेद हुन्छ। आमाले मलाई छिटो उठाउनु हुन्थ्यो। छोरी भएर यस बेलासम्म सुत्ने हो भन्दै। मेरा दाइभाइलाई त कहिल्यै त्यसो नभन्ने,' नन्दुले विभेद पत्तो पाइहालिन्।
‘भोलि बुहारी भएर गएपछि यसले कसरी गरेर खाली,’ नन्दुले अरू महिलाले भन्दा फरक त केही सुनेकी होइनन्, ‘खाना पकाउने पनि ढंग छैन, बढार्न जानेकी छैन, बिहान अबेलासम्म सुत्छे।’
उनका दाजुभाइले खाना पकाउन, बढार्न, सिलाउन नजानेको, भाँडा माझ्न अल्छी मानेको, सिंगारपटार नगरेकोमा कहिल्यै गाली खानु परेन। स्कुलमा पनि त्यस्तै हुन्थ्यो। कुन काम केटाले गर्ने, कुन काम केटीले गर्ने।
धेरैलाई त यी कुरा सुन्ने यस्तरी बानी परेको हुन्छ, उनीहरूलाई विभेद भएको पत्तै हुँदैन। सामान्य लाग्छ। एअरपोर्ट नजिक घर भएकाले जहाज उडेको र बसेको आवाज वास्ता गर्न छाडेजस्तो।
नन्दुलाई लाग्यो, महिलाका लागि यो संसार राम्रो छैन। त्यसपछि चित्त नबुझेका कुरा फेसबुकमा लेख्न थालिन्। फेसबुकमा धेरै साथी बर्मेली नेपाली थिए। समस्या आइलाग्यो। उनका लक्षित पाठक आमाबाहरूसम्म त्यो नपुग्ने। कतिपय नेपालीलाई बर्मेली भाषा पढ्न, लेख्न आउँदैन।
मोबाइलमा नेपाली भाषामा लेख्न उनलाई नआउने। अनि निस्क्यो, छोटा भिडियो। उनले बर्मेली र नेपाली भाषामा महिलामाथि हुने विभेदबारे प्रश्न गर्दै थुप्रै छोटा भिडियो बनाएर फेसबुकमा अपलोड गर्न थालिन्। कति भिडियो हजारौं र कति लाखौंपटक हेरिएका छन्।
भिडियो बनाएपछि बुझ्न, बुझाउन दुवै सजिलो र प्रभावकारी पनि। सुरुमा उनले त्यही ‘छुई’ बारे भिडियो बनाइन्। प्रतिक्रिया आइहाल्यो, ‘आफूले नबारे पनि अरूलाई भाषण छाँट्दै किन हिँड्न परो?’
प्रश्न नन्दुलाई मात्र होइन उनकी आमालाई पनि सोध्न थालियो।
बर्मेली महिला महिनावारी बार्दैनन्। बर्मेली नेपाली परिवारमा भने अझै छोइछितो उस्तै छ। नन्दुलाई रंगुन र मान्डलेजस्ता ठूला सहरका नेपालीभाषीका घरमा महिनावारी हुँदा बार्ने चलन घटेको हो कि जस्तो लाग्छ। तर, दुई-चार दिन गोर्खालीको घरमा बस्यो भने फेरि उस्तै देख्छिन्।
बर्मेली नेपाली गाउँका त के कुरा गर्नु!
‘म पहिलोपटक महिनावारी हुँदा छिमेकीको घरमा गएर बस्नु पर्यो। चलनै त्यस्तो। घरका पुरुषले कहीँ कतै देखिहाल्लान् कि भनेर। सूर्य अस्ताएपछि र नउदाउँदा मात्रै घरबाहिर दिसापिसाब गर्न निस्कन दिइन्थ्यो। मन लागेजति पानी खान पाइनँ। अँध्यारो कोठामा, पुरानो गुन्द्रीमा सुत्न पर्यो। खानामा न दूध हुन्थ्यो न तागतिला कुरा,’ नन्दुले विगत सम्झिइन्।
महिनावारी हुँदा मान्छे त के जनावर, रुख-विरुवा छोए त्यो पनि अपवित्र हुन्छ भनेर विश्वास गर्नेमध्येकै थियो उनको परिवार पनि। अहिले परिवर्तन भएको छ। उनले आमालाई बुझाउन सकिन्। महिनावारी प्राकृतिक कुरा हो। यसमा सफासुग्घर बस्ने हो। बार्न पर्ने कुरा केही छैन।
‘फेमिनिस्ट चाहिँ कसरी बन्नुभयो त?’ मैले फेरि सोधेँ।
उनले मलाई बोलाएको रंगुनको शान रेस्टुरेन्टमा मेरो एक जना बर्मेली साथी पनि सँगै थियो।
'म फेमिनिस्ट भेट्न जाँदैछु नि' भन्ने बित्तिकै उसले ‘तिनीहरू व्यवहारिक हुन्नन्’ भनेर ट्याक्सीमै मलाई अनेकौं तर्क सुनाइरहेको थियो।
‘महिलालाई समान न्याय नभएको हाम्रो देश, समाज र घरको वातावरणले मलाई त्यस्तो बनायो,’ नाकमा नत्था, लामो कपाल अनि छोटो स्कर्ट लगाएकी नन्दुले फेरि दोहोर्याइन्, ‘आमाले खाली दाइभाइलाई फेभर गर्ने। घरव्यवहारको कुरामा त हामी दिदीबहिनीको कुरै नसुन्ने। घरको खर्च-आम्दानीका सबै निर्णय दाइभाइले मात्र गर्ने।’
उनले मलाई सम्झाउन थालिन्, ‘त्यसमा आमाबाको गल्ती होइन है। उहाँहरू त्यस्तै वातावरणमा हुर्कनुभयो। त्यही सिक्नुभयो। अहिले त आमाले घरायसी निर्णय गर्ने जिम्मा दाइभाइलाई भन्दा मलाई बढी दिनुहुन्छ।’
आमा परिवर्तन भए त राम्रै हो। तर, नन्दुका दाइभाइ अहिले काम गर्न थाइल्यान्ड गएका छन्। त्यसैले पो हो कि? मैले मनमनै सोचेँ।
‘फेमिनिस्ट मात्र होइन। तपाईं त फेमिनिस्ट लेखक पनि। त्यो कसरी हुनुभयो,’ हेर्दा चाउमिनजस्तो देखिने शान खाना ‘खाउसे’ लाई जानी-नजानी चपस्टिकले बेर्दै मैले सोधेँ।
‘घरमा किताब पढ्ने वातावरण थियो। बाआमा निकै पुस्तक पढ्ने। त्यस्तो हुँदा अन्तबाट पनि किताबै उपहार आउने। अंग्रेजी किताबहरू पनि उपहार आउँथे। त्यो पनि पढ्ने। त्यसले मेरो अंग्रेजी राम्रो हुँदै गयो। अनि लेख्न पनि मन लाग्न थाल्यो,’ नन्दु पहिला धेरै कविता लेख्दी रहिछन्।
मैले पनि उनको एउटा कविता पढेको थिएँ, ‘हो, म महिला हो र मेरो रगत बग्छ। हरेक महिना रगत बग्छ’ शीर्षकको।
अहिले भने अनुवादमा उनको रस बसेको छ। ‘ट्रान्सलेसन पनि आर्ट वर्क हो- अनुवाद पनि कला हो,’ नन्दुले मलाई बुझाइरहेकी थिइन्।
‘महिला र पुरुषका लागि किन संसार एउटै छैन भन्ने नै लेख्छु, बोल्छु र अनुवाद गर्छु,’ नन्दुले बर्मेली भाषामा मेरो साथीलाई पनि बुझाइन्, ‘हामीले चाहेको बराबर अवसर हो, पुरुषको खोसेर हामीलाई देऊ भनेको हैन।’
बर्मेली भाषामा उदाहरणलाई ‘उपमा’ भन्छन्। संस्कृतबाट आमन्त्रित शब्द।
नन्दुले उपमा दिइन्, 'मानौं मेरा बालाई खाना पकाउन रुचि छ। मीठो पनि पकाउनुहुन्छ। आमालाई रुचि छैन। तर, हामीले यस्तो समाज बनाएका छौं, बाले खाना पकाउनुभयो भने खिसिट्युरी हुन्छ। अचम्म हुन्छ। आमाले ‘खाना पकाउन रुचि छैन, म पकाउन्न’ भन्नुभो भने खिसिट्युरी हुन्छ। अचम्म हुन्छ। हो, यस्ता दैनिक जीवनका स-साना चिज परिवर्तन गर्नुपर्छ। यसले पुरुषलाई पनि फाइदा गर्छ।'
नन्दुले फेरि अर्को उपमा थपिन्, ‘मेरा भाइलाई सिंगारपटार गर्न मनपर्छ। घरको काम गरेर घरै बस्न मनपर्छ। बाहिर काम गर्न मनपर्दैन। तर, मलाई सिंगारपटार मनपर्दैन। बाहिरफेर काम गर्न मनपर्छ। हामी त्यहीँ समस्या देख्छौं। यसले त पुरुषलाई परिवारका लागि कमाउनैपर्छ। परिवार पाल्नैपर्छ भनेर कस्तो दबाब पर्छ। हामीले त्यही हटाउन खोजेको हो। आ-आफ्नो रुचिअनुसार महिला-पुरुषले काम गर्न पाउनुपर्छ। त्यसमा सामाजिक, कानुनी केही विभेद हुनुभएन।’
मेरो साथीले बुझेझैं गरी टाउको तल-माथि गर्यो। नन्दुले मलाई आफ्ना कुरा उल्था गरी सुनाइन्।
'यो संसारले छोरी मान्छेलाई अर्कै तरिकाले देख्छ। रेस्टुरेन्टमा सँगै गयो भने केटा मान्छेलाई ‘ग्रिट’ गर्छ। केटीलाई गर्दैन,' नन्दु हामीभन्दा पहिले रेस्टुरेन्टमा पुगेकी थिइन्। हामीलाई ढोकैमा सुरक्षाकर्मीले हानेको सेल्युट सम्झेँ। सायद उनलाई सेल्युट गरेको थिएन कि?
'बर्मामा पनि ‘मी टु’ अभियान चलेको छ है,' मैले उनको सहमति खोजेँ।
‘दुई साताअघि यहीबारे बोल्नुपरेको थियो,’ उनले जर्मन संस्थामा मी टु अभियानबारे बोलेको समाचार मैले पत्रिकामा पढेको थिएँ।
‘यहाँ पनि गत वर्ष सुरु भयो। तर महिलाको भोगाइ, तिनका पीडा, व्यथा सुनिन्छ मात्र। विश्वास गरिँदैन,’ नन्दुले थपिन्, ‘कुनै महिलाले ममाथि बलात्कार भएको थियो भनिन् भने 'अहिले किन भनेको? पहिला किन नभनेको?' जस्ता प्रश्न सोध्छन्। अरूखाले दुर्व्यवहारबारे त के कुरा गर्नु?’
‘आफ्नो पीडा, भोगाइ महिलालाई मन लागेको बेला भन्ने छुट पनि छैन। भनिहालियो भने 'तँ त्यो बेला किन त्यहाँ थिइस्, किन पुरुषसँग थिइस्, के लगाएर गएकी थिइस्, किन बियर खाएकी थिइस्' भनेर झाँको झारिन्छ। त्यही प्रश्न पुरुषलाई किन सोध्दैनन्?’ नन्दुले यस्तरी सोधिन् मानौं त्यो प्रश्नको उत्तर मैले दिनुपर्ने हो। र, आँखा ठूलो पार्दै भनिन् ‘त्यही भएर म महिलावादी भएँ।’
बर्मेली साथीले टाउको हल्लाइरहेको थियो।
‘हाम्रो भाषा नबुझे पनि यसले भाव बुझिरहेको छ,’ म गमिरहेको थिएँ।
हुन त नन्दुले अंग्रेजी पनि निकै मिसाएकी थिइन्। हामी नेपालीभाषीलाई जाँड खाँदा मात्र होइन रिस उठ्दा, उत्तेजना आउँदा पनि अंग्रेजी शब्द अलि बढी मुखमा आउने हो कि?
'म सानै हुँदाको कुरा। मित बुढा बा भनेर चिनिने एक जना ६० कटेका पुरुष हाम्रो घर आउँथे। मलाई समातेर माया गरेजस्तो गर्थे। मन नपर्ने ठाउँमा छुन्थे। मलाई घृणा लाग्थ्यो। आमालाई गुनासो गर्थेँ। आमाले गुनासो सुन्नुहुन्थेन। ‘तँलाई कति माया गर्नुहुन्छ’ भन्नुहुन्थ्यो। तिनले मलाई ११-१२ वर्षको उमेरसम्म ‘मोलेस्टेसन’ गरे,' एउटा सम्मेलनमा उनले सुनाएको त्यो अनुभव समाचार बनेर आएको थियो।
मैले त्यस घटनाबारे सोधेँ।
‘उनी मरेर गए। मैले माफी दिएकी छैन,’ नन्दुले थपिन्, ‘नजानीकन हाम्रा परिवारका सदस्यले हामीलाई सानै उमेरदेखि यौन प्रताडना सहन बाध्य बनाउँछन्। सानोमा भन्दा कसैले नसुनेपछि बिस्तारै गुनासो गर्न छाडिन्छ। त्यसले महिलालाई जे भए पनि सहेरै बस्नुपर्छ भन्ने बानी पर्छ। अझ कतिपटक त सानोमा गुनासो गर्दा कारबाही हुन्छ। अनि आवाज सधैं दबेर जान्छ।’
नन्दुले अरूलाई पनि बोल्न सजिलो होस् भनेर ‘मी टु’ अभियानकै क्रममा आफ्नो विगत सम्झेको बताइन्।
‘यौन दुर्व्यवहारमा जो पनि पर्न सक्छ। त्यसबारे जहिले पनि बोल्नपर्छ भन्ने बर्मामा सिकाउनु छ,’ नन्दुले थपिन्, ‘हाम्रो संस्कृतिमा पीडितलाई कमजोर देखाउने चलन छ। मलाई त्यसको उल्टो प्रमाणित गर्नुछ। यौन दुर्व्यवहार हुने महिला कमजोर भएर हैन। ‘स्ट्रङ वुमन’ पनि हिंसामा, दुर्व्यवहारमा पर्न सक्छन्। त्यसैले हामी महिला बोल्न छाड्न हुँदैन।’
एक अर्को लेखनमा नन्दुले १४ वर्षको उमेरमा स्कुलबाट घर फर्किँदा आफ्नै घरमा शरण दिएको एक अधबैंशे पुरुषले गरेको दुर्व्यवहारबारे लेखेकी छन्।
‘उसले मलाई देखाएर हस्तमैथुन गर्यो। त्यो घटनाले धेरै रातसम्म म सुत्न सकिनँ। कतै घरमा एक्लै हुँदा वा राति त्यो पुरुषले बलात्कार गर्छ कि भन्ने डर भइरह्यो। उसले मलाई केही गरिहाल्यो र अरूलाई मैले भनेँ भने पत्याउलान् कि, के भन्ने हुन् भन्ने पीर लागिरह्यो। मैले आमालाई भनेँ। तर, आमाले कहिल्यै त्योबारेम ऊसँग कुरा गर्नुभएन,’ लेखनको सुरुआत यस्तो छ।
नन्दुको प्रश्न छ, ‘यस्ता घटनाले किशोरीको मनस्थितिमा कस्तो प्रभाव पार्छ भनेर किन कोही बुझ्दैनन्?’
'पछि आमाले बुझ्नुभयो। कतिले ‘किन छोरीलाई यस्तरी बोल्न, जताततै हिँड्न स्वतन्त्रता देकी छस्’ भन्दाभन्दै उहाँले अवरोध गर्नुभएन। र, म यत्ति बोल्न सक्ने भएँ, लेख्न सक्ने भएँ। हाम्री आमाजस्तै सबै आमाबालाई बुझाउन अहिले म लागिरहेकी छु,’ नन्दुलाई कतै आफ्नी आमाबारे पाठकलाई नराम्रो छाप पर्ने हो कि भन्ने डर छ।
बर्मामा महिलावादी साहित्यको प्रचारप्रसार गर्न सजिलो होस् भनेर पोहोर ‘पर्पल फेमिनिस्ट ग्रुप’ स्थापना गरेकी छन् नन्दुले। दोस्रो किताबमा काम गरिरहेकी नन्दुको नयाँ किताबले छोराछोरीलाई कसरी समान बनाएर हुर्काउने भनेर सिकाउनेछ।
‘महिलावादी किताब नेपालीमा अनुवाद नगर्ने,’ प्रश्नमा नन्दुले आफ्नो नेपाली राम्रो नभएको भन्दै तर्केलिन् भन्ने सोचेको थिएँ। उनी त हौसिइन् पो, ‘नेपालीमा पनि उल्था गर्ने हो, मेरो नेपाली भाषा सम्पादन गरिदिने मान्छेको खाँचो छ। तपाईं गर्दिनुहुन्छ?’
कुनै संस्थाले सहयोग गरे नेपालमा किताब निःशुल्क बाँड्ने उनको मन रहेछ।
‘नेपाली महिलाबारे अन्तर्राष्ट्रिय समाचारहरू राम्रो आउँदैनन् नि,’ नन्दुलाई छाउपडीका समाचारले दिक्दार बनाउँदो रहेछ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा सुनेका र बर्मेली नेपालीको घरपरिवार देखे-भोगेको आधारमा महिला हिंसा बर्मामा भन्दा नेपालमा धेरै छ कि जस्तो लाग्छ नन्दुलाई।
नेपाल र बर्मा दुवैको गृह मन्त्रालयले उपलब्ध गराएको तथ्यांक हेर्दा गत वर्ष बर्मामा १४०५ वटा बलात्कारका घटना दर्ता भएका छन्। नेपालमा त्यही समय १५ सय बलात्कार र सात सय बढी बलात्कार प्रयासका उजुरी परेका छन्। पटक-पटक गरिएका अनुसन्धानबाट दुवै देशमा महिला हिंसा र यौन दुर्व्यवहारका हजारौं घटना प्रहरीसम्म नपुग्ने प्रस्ट देखिन्छ।
नन्दु ज्ञवालीलाई नेपाल जाने मन छ। उनका पूर्खा कहाँबाट बर्मा आए, थाहा छैन। तर, हजुरआमाको दिदी हेटौंडामा हुनुहुन्छ भन्ने थाहा छ। शान प्रदेशको मान्साङ गाउँमा जन्मेकी नन्दुको नेपाली भाषा अन्यत्रका नेपालीभाषीको भन्दा कमजोर छैन। उनको गाउँमा ५० घर नेपाली छन्। अरु एक सय जति घर चिना, शान र टान समुदायका छन्।
नेपाली भाषा जोगाउनै भनेर स्कुलको तीनमहिने गर्मी बिदामा नेपाली भाषा पढाइ हुन्छ।
‘हाम्रो गाउँका सबै घरमा नेपाली नै बोल्छन्,’ नन्दुलाई मैले उनको नेपाली भाषाबारे सोधेको थिएँ, ‘हामीले नेपाली भाषालाई महत्व दिएका छौं। गाउँमा नेपाली बोल्न प्रोत्साहन गरिन्छ।’
‘नेपाल कहिले जाने हो त?’ मेरो यो प्रश्न पनि बर्मेली नेपालीलाई सोध्दासोध्दा भुत्ते भइसक्यो। तर, सोध्न छाडेको छैन।
उनले भनिन्, ‘यो २०१९ मा जसरी पनि जाने हो। धेरै योजना बनाएर जान खोज्यो भने के-के झ्याङ्लो आएर गइँदो रैनछ। अब पैसा जम्मा हुनासाथ नेपालको टिकट काट्ने हो।’
(यो लेख पहिलोपट सेतोपाटी अनलाइनमा आईतबार, पुस २९, २०७५ मा प्रकाशित भएको थियो।)