पहिलो कुरा, बर्मेलीलाई नाम सोध्दा थर भनेनन् भने अचम्म हुँदैन। किनभने, बर्मेलीको थर हुँदैन। नाम मात्र हुन्छ, जसरी यिनले भनिन्- चन्द्रमाया।
धेरै बर्मेलीका तीन शब्दका नाम हुन्छन्- फियो वाइ लिन, थेट उ मान।
कसैकसैको दुई शब्दको हुन्छ- राष्ट्रपति वी मिन्ट।
कसैकसैको चार शब्दको, परराष्ट्रमन्त्री आन सान सू ची। आन र सान भने बर्मेली नाममा धेरै प्रयोग हुने दुई शब्द हुन्।
दोस्रो कुरा, बर्मेली भाषामा नेपालीजस्तो अंक गणना हुँदैन। उनीहरूको गणनामा पचासी, चवालीस, त्रिसठ्ठीजस्ता शब्द छैनन्। उनीहरू अंग्रेजीमा झैं एट्टी फाइभ, फोर्टी फोर भन्छन्। नेपालीभाषी बर्मेली चन्द्रमायाले पनि आफ्नो उमेर त्यसैगरी बताइन्।
असी-पाँच। उनले पचासी भनिनन्।
तेस्रो कुरा, नेपालीभाषीले बर्माका सहर र गाउँलाई आफ्नै नाम दिएका छन्। जस्तो- चन्द्रमायालाई जन्मघर सोध्दा 'फापुङ' भनिन्।
मैले तीन-चार पटक सोधेपछि बल्ल थाहा पाएँ, उनले भनेको फापुङ त बर्मेलीले पा-हाँ भन्ने ठाउँ रहेछ। अंग्रेजीमा लेख्दा Hpa-An लेखिन्छ।
बर्मामा मान्छे वा स्थान जेको नाम पनि अंग्रेजी र बर्मेली उच्चारण फरक पर्छ। मेरो एक जना साथी छिन्, ट ट खाईं। उनी आफ्नो नाम अंग्रेजीमा Htet Htet Khine लेख्छिन्।
अब चन्द्रमायाका बारेमा कुरा गरौं।
चन्द्रामायाको जन्मघर फापुङ करेन राज्यमा पर्छ। करेन राज्यको नाम पनि अंग्रेजले शासन गर्दा बिगारिदिए भन्छन्, बर्मेलीहरू। अंग्रेजीमा Kayin State लेखिन्छ। बर्मेलीहरू 'कयेन' भनेर उच्चारण गर्छन्। विदेशीहरू 'करेन' भन्छन्।
म्यानमारमा करेनीको जनसंख्या बर्मेली र श्यानीपछिको तेस्रो स्थानमा छ।
चन्द्रमायालाई आफ्नो पुर्खा नेपालबाट आएको थाहा छ, तर कहाँबाट भन्ने यकिन छैन। यत्ति भन्छिन्, 'नेपालबाट सिधै फापुङ नै आएका हुन्।’
उनले भनेको फापुङमा अहिले एक जना पनि नेपालीभाषी भेट्न गाह्रो छ। मैले पाँच दिन प्रयास गर्दा पनि भेट्न सकिनँ। नेपालबाट आउनेहरू मेचिना, प्युलेँ, मोगोक, नाउँछ्यो, च्याउमे, लाश्यो, कलौ, टाउन्जी, मान्डलेमा धेरै भेटिन्छन्।
चन्द्रमायाले आफ्नो जन्मगाउँ जाने बाटो सम्झिइन्, ‘रंगुनबाट रेल चढेर थालिन नदीको किनारमा रहेको सहर, मलम्वाई। त्यसपछि लाइबुई, स्वेवाईं पट्वागाईं हुँदै बल्ल फापुङ।’
उनलाई मैले बर्माको पुरानो राजधानी रंगुनबाट करिब पाँच सय किलोमिटर उत्तरको ल्वेको सहरनजिकै '६ माइल' भन्ने गाउँमा भेटेको थिएँ। उनी भर्खरै गाईगोठबाट फर्केकी थिइन्।
बर्माका सहर र गाउँमा दुरी हिसाब गर्ने माइलसँग जोडिएका ठाउँका नाम प्रशस्तै भेटिन्छन्। सहरको केन्द्रबाट कुनै ठाउँको दुरी जति माइलको छ, त्यो ठाउँलाई त्यति नै माइल नाम दिने चलन छ। त्यसैले, यहाँ सहरैपिच्छे चार माइल, पाँच माइल, छ माइल, सात माइल भनिने ठाउँ छन्।
नेपालमा पनि त जिरो किलोमिटर भन्ने थुप्रै ठाउँ छन्।
चन्द्रमायाको बिहे १३ वर्षकै उमेरमा भयो। सात दशकअघि रजश्वला नहुँदै छोरीलाई कन्यादान दिने तागाधारीको चलन नेपालीले आफूसँगै बर्मा लिएर आएका थिए। चन्द्रमाया त्यसमा अपवाद हुन सकिनन्।
उनका मातापिता फापुङमै बिते। फापुङमा आम्दानी नभएपछि नेपालीहरू विस्तारै बसाइ सर्न थाले। चन्द्रमाया पनि श्रीमानलाई पछि लगाएर मोचीमा बसाइ सरिन्।
‘जन बढे, जग्गा बढेन, त्यसैले हामी सर्यौं,’ उनले भनिन्।
छ/सात दशक अघिसम्म यहाँ कस्तो चलन थियो भने, जुन ठाउँ सहर-बजार हुन थाल्छ, नेपालीभाषीहरू त्यो ठाउँ छाड्थे। त्यहाँबाट जंगलको छेउछाउ सर्थे। खेतीपाती गर्थे। गाईभैंसी पाल्थे। र, यसैगरी जीवन चलाउँथे।
किन त यस्तो?
यो प्रश्नमा चन्द्रमायाले भनिन्, ‘अरू जातिका नजिक बस्दा सबैभन्दा त जातधर्म नासिएला भन्ने पिर। अर्को, सहर-बजारको रहनसहन के हो हो!’
त्यति बेला ७० कटेका नेपालीभाषी बर्मेलीको पिरै 'कतै छोराछोरी ‘खोस्टे’ सँग सल्केलान् र जातधर्म नासिएला' भन्ने थियो। नेपालीभाषीले बर्मेलीलाई खसालेर भन्ने शब्द हो, खोस्टे।
करेनबाट हिँडेको चार दिनमा उनीहरू मोची पुगेका थिए। चन्द्रमायाको जोडीले फापुङबाट बसाइ हिँड्दा जोडा हात्तीमा सामान लादेका थिए। ‘व्यापार गर्ने भनेर पाँच सय बीसा गुड र पाँच सय बीसा नुन हात्तीमा हालेर ल्याका थिएम्,’ चन्द्रमायाले भनिन्।
बीसा भनेको बिसौली। बर्मामा अझै पनि मानापाथीजस्तै ढक र बीसाको चलन बाक्लो छ। एक बिसौली अर्थात् आधा धार्नी, एक किलो दुई सय पचास ग्राम।
‘थोरा आपतले आइएन त्यो चार दिनको बाटो,’ चन्द्रमायाले यात्रा वृत्तान्त लगाइन्, ‘हामी बाटोमा आउँदा आउँदै लौ बर्मेली घुसे रे मोचीमा भन्ने सुन्नमा आयो। चुनीमा पुगेपछि हात्तीधनीले सामान बाटामा अलपत्र फालेर करेन फर्के।’
बर्मा भर्खरै अंग्रेज शासनबाट मुक्त भएको बेला थियो। सन् १९४८ सम्म छुट्टै राज्यको अभ्यास गरिरहेका करेन, कया, श्यानमा त्यही बेला बर्माले आफ्ना सैनिक पठाएको थियो।
‘४५ च्याट तिरेर सामान नदी पार गर्न लगाइयो,’ त्यो बेलाको ४५ च्याट भन्नाले अहिलेको करिब ४५ हजार नेपाली रुपैयाँ हुनुपर्ने अनुमान मैले लगाएँ।
‘भिरै भिर हिंडेर आएको, जहाँ पाइताला टेक्यो, त्यहाँबाट ढुङ्गा गुड्थे,’ चन्द्रमायालाई भिरको मात्र पिर थिएन, ‘तल नदी किनारमा चिना जाति थिए, चिनाले पाए मार्छ भन्ने डर उत्तिकै थियो।’
‘बल्ल बल्ल बाँचेर आएको त्यो चार दिन चार वर्षभन्दा लामो भयो। सामान छन्, चोरडाँकाको डर छ, जंगलमा बास छ। जंगली जनावरको डर छ। खाने पिउने ठेगान छैन,’ चन्द्रमायाको कुरा नटुङ्गिदै मैले सोधेँ, ‘यहा आएका अरू नेपालीले पनि त्यस्तै दुःख पाए त्यति बेला?’
‘हाम्रा दुःख केही हैनन्, जापानीले मेचिनामा बम खसालेपछि नेपालीहरू चार महिना कहिल्यै नहिँडेका जंगलका बाटो वर्षामा लड्दैपड्दै भारतको लिडो पुगेका थिए रे,’ चन्द्रमायाले दोस्रो विश्वयुद्धताका नेपालीले पाएको दुःख विस्तार लगाइन्, ‘त्यति बेला हजारौं नेपाली हिँड्दा हिँड्दै हिँड्न नसकेर, बिरामी परेर बाटामै बिते। सबैभन्दा दुःखको कुरा त, बोक्न परेका बिरामी बालक, वृद्ध बाबुआमा, आफन्त, श्रीमान वा श्रीमतीलाई अलपत्र बीच बाटामै मर्न छाडेर भागेर नेपालीले ज्यान जोगाएका थिए।’
मलाई चन्द्रमायाको कुरामा विश्वास भएन। मान्छेले आफ्नै छोराछोरी, बाआमालाई मर्न छाडेर आफ्नो मात्र जीउ बचाउन हिँड्ला?
रंगुन फर्केर दोस्रो विश्वयुद्धताका नेपालीहरूले पाएको दुःखबारे प्रकाशित सामग्री खोज्न थालेँ।
त्यसरी हिँडेका टंकध्वज नेपालको पुस्तक फेला पर्यो। उनले लेखेका छन्, ‘बाटाभरि केटाकेटी, वृद्धका शव देखिन्थे, आफ्नो स्वार्थका लागि आफू बाँच्न मायामोह, आइनो-साइनोको नालीबेली सबै बिर्साएका थिए। … आज नपत्याउने कुरा भनिएला तर वास्तविकता। अलि समय अगाडिसम्म बाबुआमाको आँखाका तारा, मायाको पोका। तिनका लागि सर्वस्व त्याग्न तत्पर हुने बाबुआमा। आज तिनै केटाकेटीलाई बीच जंगलको बाटोमा अलपत्र छाडेर, तिनका रोईकराई नसुनेर आफ्ना जीउ बचाउन हिँडेका थिए। दया माया भन्ने शब्दको त्यहाँ कुनै अर्थ लाग्दैनथ्यो।’
त्यति दु:ख गरेर मोची आएपछि चन्द्रमायाको मनमा आशा पलाएछ। त्यो बेला मोचीमा राज गर्ने श्यानी रजौटाले उनीहरूलाई स्याबासी नै दिएछन्।
‘तिमीहरू करेनी छाडेर मेरो सरकार भनेर यता आयौ। ल यता जे जति जग्गा चाहिन्छ लिएर बस,’ श्यानी रजौटाले त्यसो भने पनि त्यहाँका सुरक्षाकर्मीले भने चन्द्रमायाका श्रीमानलाई दुई-चार थप्पड हानेछन्, कतै जासुस पो हो कि भनेर।
दुई वर्ष मोचीमा बसे पनि चन्द्रमायाको मन रमाएन। मोचीमा ठूलो फलाम खानी थियो। फौजीका साथ लाएर सुरु सुरुमा बर्मा आउने नेपालीहरू ती खानीमा काम गर्न आउँथे। अहिले मोचीमा पनि ज्यादै थोरै नेपालीभाषी बाँकी छन्। चन्द्रमायाले जस्तै अरू नेपालीभाषीले पनि मोची छाडेछन्।
‘यहाँ अमाजु, अमाजुको देवर, देवरका छोरी ज्वाईं र हामी गरी चार घर आएका हौं,’ चन्द्रमायाले मोचीबाट तीन सय किलोमिटर पश्चिम ल्वेको बसाइ सरेको सम्झना गरिन्।
‘मैले जीवनमा सबै काम गरेँ,’ चन्द्रमायाले कामको व्याख्या गरिन्, ‘मोचीमा होटल गरेँ। फापुङमा खेतीपाती र पसल गरेँ। अहिले कयामा गाईपालन गरेकी छु।’
उनले भनेको होटल बर्मेलीले भन्ने 'भात दुकान' हो, चिया र भात-तरकारी पाइने।
मलाई उनले हात्तीमा ल्याएको गुड र नुनको बारेमा बुझ्नु थियो।
‘त्यो त मोचीमा बिक्री भइहाल्यो नि,' चन्द्रमाया मज्जाले हाँसिन्, 'निकै नाफा भयो।’
‘अनि कयासम्मको बसाइ र अहिलेको बसाइ कस्तो छ त,’ दुईतले सिमेन्टले पोतेको घरको भुइँतलामा मैले उनलाई सोधिरहेको थिएँ।
‘१६ वर्षको उमेरमा आएको हो, ल्वेको। ७० वर्ष पहिले। जंगल त थियो। जंगल फाँडेर घरगोठ बनाइयो। खरघारी मात्रै थियो,’ चन्द्रमायाले थपिन्, ‘साता-दस दिन रूखैमुनि बसेर घर बनाएको हो। कसैले खर काट्ने, कसैले त्यही खरले घरगोठ छाउने गरियो।’
‘पैसा/तिरो तिर्नु परेन कसैलाई वन फाँड्न?’ मेरो प्रश्नले चन्द्रमायालाई अचम्म बनायो, ‘पैसा कल्लाई तिर्ने हो र? सरकारै को हो थाहा थिएन। सित्तैमा जति फाँडे पनि पाइन्थ्यो जंगल उतिखेर।’
‘मोचीबाट त दुई दिनमा आइयो, ल्वेका। जंगलीको डर हुन्थ्यो,’ उनले भनिन्।
नेपालीभाषीले बर्माका सशस्त्र विद्रोहीहरूलाई 'जंगली' भन्छन्। स्वायत्त शासनसहित संघीयता र सैनिक शासन पूर्ण अन्त्यको माग गर्दै ६ दशकदेखि सक्रिय सशस्त्र समूहहरू बर्मामा अहिले पनि कतिपय युद्धरत त कतिपय शान्ति प्रकियामा छन्।
‘यहाँ आएपछि जंगलीले दुःख दिएनन्?’ मैले सोधें।
‘खासै दिएनन्, बरु पिछेपिछे चोर लाएर, डाँका लाएर कति दुख पाइयो त्यो नभनम्।’
‘चारचोटि डाँका लागे। यहाँ आउँदा सुरु सुरुमा पनि लागे। अस्ति भर्खरै (१० वर्ष पहिले) नि डाँका पर्यो। कयनी डाँका आउँदाखेरि ढोका खोल् खोल् भन्छन्। के के सामान छ ले भन्छन्,’ चन्द्रमायाले डाँकाहरूलाई आफूले छक्याइरहेको बताइन्।
‘केही पैसा र रसद पानी त लान्छन्, तर गरगहना र ठूलो धन अहिलेसम्म लगेका छैनन्,’ चन्द्रमायाले एकपटक डाँका लाग्दाको घटना विवरण सुनाइन्, ‘राति ११ जति बजेको हुँदो हो। डाँका आए। बाउ-छोरालाई गोठमा लगेर बाँधे। बुहारी र मलाई बाहिर लगेर आँगनमा बाँधे। कोठाकोठा, बाकस सबै खोलेर हेरे। मैले सुनका गहना बाकसमा नराखेर तिल राखेको डालामा राखेकी थिएँ। बाकसमा एउटा चाँदीको आठ आनीको हार थियो। डाँकाको सर्दारले चाँदीको हार झिकेर कम्मरमा बाँध्यो, कम्ति राम्रो देखिएको थिएन जुनको उजेलोमा।’
डाँकासँग जोगिएको सुनका गहना चन्द्रमायाले माइला छोरालाई दिँदै भनिन् रे, ‘ला डाँकाले लगेको भए लगिहाल्थ्यो, यो बेचर मोटरसाइकल किन्।’
छोरा खुसी भए। वर्षौंदेखि मोटरसाइकलका लागि आमासँग गनगन गरिरहेका थिए।
मोटरसाइकल भएपछि दूध बजार लगेर बेच्न पनि त सजिलो हुन्छ। अहिले पनि चन्द्रमायाको गोठमा २५ वटा गाईबाच्छा छन्। ‘पहिले त ६०, ७० वटा थिए। अब काम गर्न कसले जाँगर मान्छ र,’ यसो भन्दै गर्दा चन्द्रमायाले आफ्नो श्रीमान् सम्झिइन्।
उनको श्रीमान् बितेको १६ वर्ष भयो। नौ जना छोराछोरीकी आमा चन्द्रमायाका जेठो र कान्छो छोरा खसे। माइलो छोरा सहरमा छन्। किराना पसल गर्छन्। अन्य छोराछोरी छिमकमै छन्। खेतीकिसानी गरिरहेका छन्।
‘दूध बेचेरै हुर्काइयो सबै सन्तानलाई। काँधमा दूध बोकेर मेरा बाहुन ६, ७ किलोमिटर पर जानुहुन्थ्यो दिनदिनै। सुरसुरुमा साइकल किन्ने पैसा पुग्थेन। पैसै भए पनि साइकल चलाउन जान्न पर्यो। पछि सिक्नुभयो र साइकलमै दूध पुर्याइयो,’ चन्द्रमायाले पुराना दिन सम्झिइन्।
विदा मागेर हिँड्नुअघि चन्द्रमायालाई मैले आजकाल मनमा के कुरा खेल्छ त भनेर सोधेँ, ‘आनन्द लाग्छ। बसाइ सर्ने पिर छैन। चोर डाँका लाग्लान् भन्ने चिन्ता पनि रहेन। उही हो, अब नातिनातिनाका राम्रा खबर मात्र सुन्न पाइयोस्। काठमाडौंमा पशुपतिनाथ छन् नि, तिनले सबै सन्तानका रक्षा गरून्, त्यत्ति हो।’
चन्द्रमायाको हाँसो मनमा गडिरह्यो।
(यो लेख पहिलोपटक सेतोपाटी अनलाइनमा बिहिबार, असोज ११, २०७५ मा प्रकाशित भएको थियो।)