Friday, August 12, 2011

पासपोर्टले मान्यता पाएन

नागरिकताको परिचय पत्र हराएको सजाय स्वरुप अबको चुनावमा भोट हाल्न पाइन्न जस्तो छ। चुनाव स्वच्छ गराउनको लागि निर्वाचन आयोगले अब हुने चुनावका लागि फोटोसहितको भोटर कार्ड वितरण गर्ने र त्यो कार्ड हुनेलाई मात्र चुनावमा भोट हाल्न दिने तयारी गरिरहेको छ। अहिलेको संविधान अनुसार नेपालमा भोट खसाल्न १८ वर्ष हुनुपर्छ। अब दुई वर्ष अगाडि चुनाव हुन्न भनेर होला अहिले १६ पुगेकाले पनि भोटर कार्डका लागि फोटो खिचाउन पाउँछन्। अझ यसपटक खिचाइएको फोटो भोटर कार्डका सँगसँगै राष्ट्रिय परिचय पत्रका लागि पनि हुने निर्वाचन आयोगले बताइरहेको छ।

तर मैलै भने फोटो खिचाउन पाइन। राष्ट्रिय परिचय पत्र तथा मतदाता परिचय पत्रको फोटो खिचाउन नागरिकता लिएर जानुपर्ने रहेछ। मेरो नागरिकता हराएको दुई वर्ष जति हुन लाग्यो। नागरिकता हराएकाले पासपोर्ट र नागरिकताको फोटोकपी सम्मलाई त मान्यता देलान् भनेको दर्ता गर्ने र फोटो खिच्ने निर्वाचन आयोगका कर्मचारीले मान्दै मानेनन्। जिल्ला प्रशासन कार्यालय काठमाडौं गएर एक घन्टा जति यताउति भौतारिरहें। कोही अलि उपल्ला कर्मचारी भए तिनलाई भन्न पर्यो भनेको त निर्वाचन आयोगले काममा लगाएका कर्मचारीमा खडदार भन्दा माथिल्ला पदका कोही भेट्न सकिएन।

स्थायी ठेगानामा नै बस्नेका लागि त उनीहरुको घर / वडामा नै पुगेर निर्वाचन आयोगका कर्मचारीले फोटो खिचे। तिनले भोट हाल्न पाउने नै भए। तर रोजगार तथा विभिन्न कारणले शहरमा आएर अस्थायी रुपमा बसेकाले पनि भोट खसाउन पाउन् भनेर निर्वाचन आयोगले शहर केन्द्रीत फोटो खिच्ने अभियान चलाएको पनि दुई महिना हुन लागिसक्यो। नामावली संकलन अहिले सबै नगरपालिकामा भइरहेको छ। आफू जहाँ बसिन्छ त्यहाँको निर्वाचन कार्यालय वा जिल्ला प्रशासन कार्यालयमा गएर फोटो खिचाउन पाइन्छ। तर त्यो कार्ड भने भोलिपर्सी आफ्नो स्थायी ठेगानामा पुग्ने रहेछ। काठमाडौंमा अस्थायी बसोबास गर्नेले यहाँ नाम सूचीकृत र फोटो खिचाए पनि आयोगले उनीहरु सबैको नाम र कार्ड स्थायी ठेगानामा नै पठाउने छ भनेर त्यहाँका कर्मचारीले भने।

हुन त तेत्रा विदेश गएका मान्छेले नि भोटर कार्ड र नेशनल आइडि कार्डका लागि फोटो खिचाएका छैनन् होला। राष्ट्रिय कार्ड चाहिने बेला र नयाँ चुनाव हुने बेलासम्म केही न केही उपाय लाग्ला। तर पनि विदेशमा नागरिकता जतिकै मान्यता पासपोर्टलाई पनि दिन्छन् भनेको सुनेको। नागरिकता नभइकन त पासपोर्ट झिक्न पनि पाइदैंन। त्यही भएर पासपोर्ट सम्मलाई मान्यता दिंदा के बिग्रन्थ्यो होला र ..
नेपालको कानुन दैवले जानुन्।

No comments:

Post a Comment

Please leave your comment here