Friday, September 10, 2010

के डेरा के घर


घरबेटी बा 
आफ्नै हो जस्तो
र होइन जस्तो पनि लाग्ने
यो पृथ्वी माथिको घर
तपाइँको पनि डेरा हो।
म मात्र हैन तपाइँ पनि
यो स्थायी माटोको अस्थायी बासिन्दा, करार बासिन्दा।
-कवि सुरेश हाँचेकाली

बस चढ्नु अगाडि मलाई लागेको थियो, म सापिन जाने आफन्त दाइहरुको डेरा भएको ठाउँलाई बागबजार भन्छन्। 'ए त्यसो भए त तिमी बस्ने ठाउँ र क्याम्पस नजिकै रहेछ,' बस चढाउन आएका मामाले भन्दा म अलमलिएँ। भृकुटीमण्डपस्थित रत्नराज्य क्याम्पस, आफन्त दाइहरु डेरा गरी बस्ने ठाउँ भन्दा निकै पर थियो। सिट नपाएर मुडामा बसेर रातभरको यात्रा गरिरहँदा मैले सम्झें, म जाने ठाउँको नाम बागबजार होइन नयाँबजार हो। त्यो बेला काठमाडौं भित्र बाहिर गर्ने सबै बस अहिलेको पुरानो बसपार्कबाट चल्थे। बसपार्कबाट नयाँबजार जान नसकेपनि नयाँबजारको मामा कन्फेक्सनरी गल्लीमा पुर्याइदिएपछि दाइको डेरा पत्ता लाउन सक्छु भन्ने विश्वास थियो। दुई तिर अग्ला अग्ला पर्खाल भएको साँघुरो गल्लीको सम्झना थियो। म एक्लै काठमाडौं आउनु पहिले बा र म दाइको डेरामा बसेर भर्नाका लागि क्याम्पसहरु चहारेका थियौं।


बुटवल-काठमाडौं चल्ने नाइटबसबाट बसपार्कमा उत्रिदाँ तीन पाङ्ग्रे काला टेम्पुका लाइन थिए । १८ वर्ष पहिले काठमाडौ झर्दा दरीले बेरेको सिरक-डसनाको पोको, एउटा ठूलो झोला र दाइहरुले चामल-तरकारी किन्ने पसलेको फोन नम्बर साथमा थिए। मोलमलाईमा तीस रुपैयाँ मन्जुर गरेर बसपार्कबाट एउटा कालो टेम्पु समातें । डेरा पत्ता लगाउन सक्छु कि सक्दिन्न भन्ने डरले धेरै बेर सताएन। डेरामा पुग्दा दाइहरु सुतिरहेकै थिए। अत्यावश्यक संवाद मात्र गर्ने एकाघरका दाजु-भाइ बसेको एक कोठे डेरामा म बिस्तरासहित आउँदा उनीहरुले अप्ठेरो माने झैं लागेन। महिनाको चार सय ५० रुपैयाँ तिर्नुपर्ने कोठामा म थपिदाँ भाडा पनि बाँडफाँड हुन्थ्यो।

दुई तले घरको तल्लो तलामा रहेका सात वटै कोठा भाडामा लगाइएका थिए। एउटा कोठामा जागिरे श्रीमान-श्रीमती बस्थे। अरु सबै ६ कोठामा विद्यार्थीहरुले डेरा जमाएका थिए। प्रत्येक कोठामा दुई जना भन्दा कम थिएनन्। घर बाहिर टिनले छाएर बनाइएको एउटा सानो बाथरुम र ट्वाइलेट थियो। सबैले त्यसको प्रयोग गर्ने हुँदा बिहान ६ देखि आठ बजेबीच शौचादी क्रियाका लागि पालो पर्खन पर्दथ्यो। कसैलाई बिहानै दुई तीन पटक पखाला जानुपर्ने स्थिति आएमा अरमरिएर बस्नुको विकल्प थिएन।

तीन जना छोरीका पिता नेवार घरबेटी डेरा भाडाको मामिलामा असाध्यै कडा थिए। 'यो बुढाको अरु आम्दानीको स्रोत छैन, त्यसैले भाडा बेलैमा दिनुपर्छ' दाइहरुले भन्थे। प्रत्येक महिनाको तीन गते बिहान सानो रसिद र कापी लिएर घरबेटी आइपुग्थे। प्रत्येक कोठाको ढोकामाथि बिजुलीको मिटर हुन्थ्यो। मिटर हेरेपछि ढोका ढकढकाउथें र बिजुली पानीको महसुलसमेत जोडेर भाडा माग्थे। भाडा पाएमा कापीमा रकम उतार्थे र रसिद दिएर जान्थे। उनले वर्षको ५० रुपैयाँ भाडा बढाउने नियम बसालेका रहेछन्।

घरबेटी माथिल्लो तलामा बस्थे। सानो कुकुर पालेका थिए र भर्याङमा फलामे ढोका लगाएका थिए। हामी छतमा जान पाउँदैनथ्यौं। घर र ट्वाइलेटबीचको अलिकता खाली जग्गामा डोरी बाँधेर कपडा सुकाउने व्यवस्था गरिएको थियो। डेरा गरी बस्ने कसैकहाँ पनि टेलिभिजन थिएन। घरबेटीले सातामा दुई दिन मंगलबार र शुक्रबार साँझ मात्र टेलिभिजन हेर्न माथिल्लो तलामा जाने अनुमति दिन्थे । म दाइको पछि लाएर नेपाल टेलिभिजनबाट उतिबेला मंगलबार प्रसारण हुने नेपाली फिल्म सम्बन्धी कार्यक्रम गिताञ्लली र शुक्रबार प्रसारण हुने रामायण हेर्न जान्थें। काठमाडौं आएपछि नै मैले पहिलोपटक टिभी देखेको थिएँ। आइएमा पत्रकारिता पढ्दैगर्दा मलाई खुब टेलिभिजन हेर्न मन लाग्थ्यो। तर अरु दिन भर्याङको गेटमा ताला पड्काइएको हुन्थ्यो। कुनै दिन ताला नपड्काएको देखेर माथि गइहालें भने म गएको १०-१५ मिनेटपछि बुढाले खाना खाने भन्दै टिभी बन्द गरिदिन्थे।

त्यहाँ बस्न थालेको दुई महिनापछि मसँगै एसएलसी पास गरेका गाउँका अर्का साथी पनि क्याम्पस पढ्न काठमाडौं आए। उनी पनि हामीसँगै बस्ने भए। कोठामा दुईटा खाट, किताब राख्ने बाँसका दुईटा र्याग, एउटा कुनामा दम दिने स्टोभ, दुईटा टिनका बाकस र कपडा झुण्डाउने बाँसको स्टान्ड भन्दा अरु सामान थिएन। हामीले धेरै किने एकपटकमा चामल चार किलो र त्यो दिनलाई पुग्ने तरकारी मात्र किन्थ्यौं। गाउँबाट ल्याइएका घिउका एक दुई सिसी, गुन्द्रुक र मस्यौरा पोका पारिएका केही प्लास्टिक मात्र हाम्रो भण्डारण थियो।

कोही कोही घरबेटीले एउटै कोठामा धेरै जना बस्न दिन्नन् भनेको सुनेको थिएँ। तर तिनले हामी चार जना त्यहाँ बस्दा पनि गुनासो गरेनन्। समयमै भाडा पाए जति जना बसेपनि उनको गुनासो हुन्नथ्यो। सामान धेरै नभएकाले चारै जना दुःख सुख अट्टियाथ्यो। दाइहरु खुब पढेन्ते थिए। एक जना सुत्दा अर्को उठेर पढ्ने भएकाले पनि सुत्न त्यति सारै अप्ठेरो थिएन। फागुनपछि दाइहरु खोल झिकेर सिरकलाई पनि डसना मुनि ओछ्याउँथे। दशैं बिदाबाट नफर्किएसम्म सिरकको खोलमात्र ओड्थे। मलाई त बिहानपख चिसोले सताउथ्यो। नचाहेर पनि चिसोले गर्दा पाँच बजे उठेर पढ्नुपर्थ्यो।

मलाई टिभी हेर्न नपाएको झोंकमा डेरा सर्न मन लागिराथ्यो। टिभी हेर्न दिने घरबेटीकहाँ डेरा खोज्न पाए भन्ने लागिरहन्थ्यो। तर दाइहरु पढ्ने ठमेलको सरस्वती र अमृत साइन्स क्याम्पस त्यहाँबाट नजिक भएकाले उनीहरु डेरा सर्न रुचाउँदैन थिए। मेरो भने क्याम्पस पनि टाढा अनि टिभी हेर्न पनि नपाउने। तैपनि काठमाडौं आएको पहिलो वर्ष आफन्त दाइहरुसँग त्यही डेरामा बित्यो।

दोस्रो वर्ष आमाको आफन्तका छोरा मामा पनि काठमाडौं आउने भए। म उनीसँग बस्ने भएँ। मामालाई सर्त सुनाएँ, टिभी हेर्न दिने घरबेटी। नभन्दै क्षेत्रपाटी नजिक भुरुङखेलमा डेरा पाइयो घरबेटीले टिभी हेर्न दिने भए। अरु कुराको ख्यालै नगरी डेरा सरियो। गएपछि थाहा भयो पानीको त एकदम दुःख रैछ। मामा र म पालैपालो दुई घन्टा जति ढुङ्गेधारामा लाइनमा बस्थ्यौं। कहिलेकाहीँ त राति ९ बजेसम्म लाइन बस्नुपर्थ्यो। राती १० बजेपछि र बिहान ४ बजे अगाडि मात्र नुहाउन पाइन्थ्यो। पुरै जीउ सातामा एकपटक पनि मुश्किलले नुहाइयो होला। पानीको मात्र तनाव भइरहने ठाउँमा के को टिभी हेरेर बस्न पाउनु।

कृषि पेशामा आश्रित नेवार घरबेटी भने रमाइला थिए। तिनकी आमाले भन्थिन - तिमीहरु पढेर भोलिपर्सी मन्त्री बन्ने हो ? सायद उनको माइतीमा डेरा गरी बस्ने कोही पछि मन्त्री पो बनेका थिए कि। उनलाई थानकोट बाहिर पनि नेपाल छ भन्ने पत्याउन निक्कै मुश्किल थियो। हामी नेपाली नै हौं र थानकोट बाहिर पनि यहाँ जस्तै वस्ती छ भनेर हामीले पटक पटक भन्थ्यौं। तिनका नाती भने हामी त्यहाँ बस्दाबस्दै मनकामना पुगेर आए। नातीको मनकामना यात्रा बिबरण बाउ, आमा, हजुरआमाले जंगबहादुरको बेलायत यात्राको संस्मरण झै गरी सुनेका थिए।

पानीकै दुखले एक वर्ष पनि हामी त्यहाँ टिकेनौं। मामाले पढाइ राम्रो भएन भन्दै काठमाडौं छोड्ने निधो गरे। गाउँका अर्का भाइ एसएलसी पास गरेर आएपछि मैले उनीसँग मिलेर अन्तै डेरा सर्ने बिचार गरें। बाले सामान लाने साहुजीको कोटेश्वर तीनकुनेमा बन्दै गरेको नयाँ घरमा हामी सरियो। भविष्यमा गार्मेन्ट कारखाना चलाउने भनेर बनाइएको चार तले घर हामी सर्दासम्म खाली थियो। हामीलाई दिइएको कोठा एकदम ठूलो, हाम्रो सामान केही थिएन। बोल्दा पनि ह्वाङ ह्वाङ हुने। त्यतीबेला एउटा दुईटा घर मात्र थिए तिनकुनेबाट कोटेश्वर जाने बाटोमा । साँझ परेपछि घर बस्न पनि डर लाग्ने। एयरपोर्ट नजिक भएकाले राती जहाज अवतरण गर्दा र उड्दा निन्द्रा सँधै खलबलिने। हामी त्यो घरमा उती सारो रमाइएन। चार महिना नहुँदै कोठा खोज्न हिंडियो।

घर-घर, पसल-पसल सोध्दै हिड्दा पकनाजोल नजिकै एउटा कोठा पाइयो। सामान सारियो। पानीको राम्रै सुविधा। टिभी हेर्न पनि पाइने। तर टिभी कोठामा मर्न लागेका घरबेटीका बाउ बस्दा रहेछन्। बुढालाई देखेपछि दुई चार पटक भन्दा धेरै टिभी हेर्न जान मन लागेन। घरबेटीले भने हामीलाई टिभी हेर्न आइरहे हुन्थ्यो झैं गर्दथे। पछि कारण बुझ्दै जाँदा, एकछिन भए पनि रोगी बाउ हामीसँग हुन्थे भन्ने रैछ। नजिकैको सामल पसलेले हामीलाई कहाँ बस्ने भनेर सोधे। हामीले घर र कोठा बताइदिएपछि उनले जिउरो टोक्दै भने- तर्साउँदैन ?

हामी बसेको कोठामा पहिले घरबेटीको बाउ आमा बस्ने रैछन्। आमा चाहिँको प्राणपखेरु हामी बस्ने कोठामा नै उडेको रहेछ। सिकिस्त र एक्लै भएपछि उनीहरुले बाउलाई टिभी कोठामा सारेका रैछन्। अनि मात्र हामीले त्यो कोठा भाडामा पाएको । त्यो कुरा सुनेपछि हाम्रो होस उड्यो। राति राति एकजना बुढी महिला कोठामा आएको, सुस्तरी बोल्दै श्रीमान् खोजेको जस्तो लाग्न थाल्यो। नेपाल भाषामा के-के आवाज सुनिन थाल्यो। घरबेटीका बुढा बाउ पनि नजिकै कोठामा अन्तिम क्षणसँग जुध्दै थिए। राति बेलाबेलामा चिच्याउने। हामी असाध्यै नरमाइलो मान्न थाल्यौं।

एकपटक त राती नडराउन भनेर दुई भाइ भट्टीमा छिरेर एक एक ग्लास कडा एला पिएर आइयो, तर त्यसले पनि डर थामिएन। त्यही बस्दै गए जीउ सुक्ने पक्का भो। त्यसैबीच घरबेटीका बाउ पनि बिते। घरबेटीले राती नै हामीलाई ट्याक्सी खोज्न लगाए। ट्याक्सीमा शव राख्न हामीले पनि सहयोग गर्यौं। घरबेटीका आफन्तहरुले पशुपति लगेर दाहसंस्कार गरे । त्यो रातपछि सपनामा पनि तन्द्रामा पनि ती बुढा आउन थाले। डरले हाम्रो सातो गयो।

किरिया बसेका घरबेटीले भोलिपल्टदेखि तिमीहरु पनि बाहुन नै हो भन्दै पुजारीले गर्नुपर्ने कतिपय काम हामीलाई गर्न लगाए। मनमा सैह्य नभए पनि हामीले विरोध गर्न सकेनौं। तर कोठा सरेको तीन महिना नहुँदै अर्को डेरा खोज्न तिर लाइयो। त्यतिबेलै काकाको सरुवा काठमाडौं भएछ। उहाँले ताहाचहलमा दुई कोठा लिनुभएको थियो। 'म फिल्डमा गइरहनु पर्छ, तिमीहरु यही आएर बस' भन्दै एउटा चाबी दिनुभयो। हामीले खाट फुकाल्यौं र बेडिङ बिस्तारा कस्यौं । घरबेटीलाई कोठा छोड्ने जानकारी दियौं। 'हामी किरिया बस्दाबस्दै नसर' भने। भाडा क्लियर थियो र तीन पाङ्ग्रे लामो कालो टेम्पुको व्यवस्था गरिसकेका थियौं। हामी अलमल भयौं तर सर्ने जिद्दी गर्यौं। उनले आएर कोठामा हेरे। एक दुई ठाउँमा काँटी ठोकेकाले भित्तामा साना खाल्टा थिए। उनले भित्तामा खाल्टा बनाएको भन्दै पैसा मागे। पैसा तिर्न नपर्ला भनेर पैसा छैन भन्यौं तर मान्दै मानेनन्। सामान लान नदिने कुरा गर्न थाले। घर बाहिर बाटामा टेम्पु रोकिराखेका थियौं। दुईवटा काँटी ठोकेको जरिवाना स्वरुप एउटा खाटको प्लाइउड त्यही छोडेर हिड्यौं।

सामानसहितको टेम्पु लिएर हिडेका, तर दुई तीन पटक चाहर्दा पनि ताहाचहलमा काकाको डेरा पत्ता लगाउन हम्मे पर्यो। बल्ल तल्ल डेरा पत्ता लगाइयो। तर हामीलाई घरबेटीले सामान भित्र हुल्नै दिएनन्। काका फिल्डमा गइसक्नु भएको थियो। एक जनालाई भनेर मात्र कोठा दिएको, 'तीन तीन जना बस्ने भए हुँदैन' भन्न थाले। पुरानो डेरा छोडेर आएको नयाँ ठाउँमा सामान राख्न नपाइने, पक्का किरियापुत्रीको सराप लायो भने जस्तो भयो। अक्क न बक्क परियो। अनेक अनुनय विनय गरेपछि ती घरबेटीले सामान राख्न दिए। तर साँझ खाना पकाउने बेलामा पानी छोडिदएनन्। हामी साँझ साथीहरुको डेरा तिर लाग्यौं। भोलिपल्ट देखि नै नयाँ डेरा खोज्न थालियो।

घर घर चाहर्दै कोठा छ भन्दै हिड्ने क्रम फेरि सुरु भयो। तीन दिनको प्रयासपछि कुपन्डोलमा भुई तलामा एउटा फ्लाट पाइयो। अरु पनि साथीहरु मिलेर फ्लयाट लिन भयौं। तीन हजार चार सय रुपैयाँमा तीन कोठाको फ्लाट थियो। त्यसबाहेक एउटा स्टोर जस्तो सानो ट्वाइलेट जत्रो कोठा पनि थियो। हामीले दुईटा कोठा लियौं र एउटा कोठा र स्टोरजस्तो सानो कोठा साथीहरुलाई भाडामा दियौं। त्यहाँको बसाइ महंगो भयो। यहाँ पनि घरबेटीको अरु आम्दानीको स्रोत रहनेछ। बुढाबुढी र छोराछोरी थिए घरमा। कि त छोराको क्याम्पस भर्ना गर्ने बेला भयो भन्दै कि छोरीको फिस तिर्ने बेला भयो भन्दै प्रत्येक महिना सुरु भएको दुई तीन दिनमा भाडा लिन आउँथे। एकदिन ढिला भयो भने आपत पार्ने। आफूले भाडामा राखेका साथीभाइले बेलामा पैसा दिएनन् भने तिन्को पनि पिर लिनुपर्थ्यो।

छोरा चाहिँ हाम्रो साथी जस्तै थिए। बेला बेला बाउले पैसा दिएन भन्दै हामीसँग सापट मागिरहने। हामी केटा केटा मिलेर बसेका थियौं, त्यहाँ। घरबेटीका छोरीसँग बेलाबेलामा जिस्किन्थ्यौं। तिनकी श्रीमती एकदमै धर्मकर्म गर्थिन्। हाम्रो कोठा बाहिरतिर पनि बेलाबेलामा पवित्र पार्ने भन्दै पानी छर्कन्थिन। नेपाल भाषामा के के मन्त्रोच्चारण पनि गर्थिन । एकदिन नेपाल भाषा जान्ने मेरो साथी आएका बेला उसले ती महिलाले भनेकी कुराको अर्थ लगायो। उनले बिस्तारै भन्दिरैछन् - मेरो छोरीमा यिनीहरुको आँखा नलागोस्।

त्यो घरमा करिब दुई वर्ष बसियो। साथीहरु पढाइ सकाएर घर फर्कने भए। मलाई मात्र भाडा बढी हुने भयो। डेरा खोज्दै हिड्दाँ कुपन्डोलमै नजिकैको घरमा कोठा पाइयो। त्यहाँ घरबेटीका दुई छोराहरु रहेछन्। भाडामा दिने बेलामा नै घरबेटीले छोराहरुको पढाइमा सहयोग गर्नुपर्ने शर्त राखेका थिए। जुम्ल्याहा छोराहरु भने पढाइमा लद्दु रहेछन्। छोराहरु म कहाँ पढ्न भनेर आउने तर झोला थन्काएर टाप। कता हो कता ? छोराहरुले पढे भनेर बाउले सोध्थे। एलएलसी दिने बेलाका तिनका छोराहरुले पढेनन् भनुँ भने आफ्नै ढाड सेकाइदेलान् भन्ने चिन्ता।

घरबेटीका छोराहरु दश कक्षा पढ्दै गर्दा म त्यहाँ बस्न थालेको थिएँ। उनीहरुको एसएलसीको रिजल्ट हुनुपहिले फेरि डेरा सर्नतिर लागें। खासमा म एक्लै बस्छु भनेर त्यो घरमा भाडा लिएको थिएँ। त्यहीबीच आफ्नो बिहे हुने भएकाले अन्तै डेरा सर्नुपर्ने भयो। त्यो घरमा कपाल काट्ने केही मधेशीहरु पनि बस्थे। ती मध्ये एक जना दिन दिनै नुहाउँथे। घरबेटी पानीमा एकदम कन्जुस थिए। भएको इनारमा समेत ढक्कन लगाएर ताला मारेर राख्ने। बिहान र बेलुका एक एक घन्टा मात्र खोल्दिन्थे। एकदिन त ती नुहाइरहेका मधेशीलाई भन्दै थिए, ‘तिमी राजा हो र दिनदिनै नुहाउनुपपर्ने।‘

कलेजमा सँगै पढ्दै गरेका साथीको सहयोगले गौशला सिफलमा डेरा मिल्यो। साथीका दाइले चार कोठे घर नै भाडामा लिएका रैछन्। तीनवटा कोठा आफूले प्रयोग गरेपछि बाँकी एउटा कोठा भाडामा लगाउने उनको सोंच रहेछ। उनैलाई भाडा तिर्ने गरी त्यो कोठमा श्रीमान् श्रीमती सरियो। दाइ नेपाली भए पनि भाउजु बंगलादेशी थिइन्। दुबै जना रसिया पढ्न जाँदा बिहे गरेका। तिनका दुई छोराहरु थिए। भाउजुले बाबुहरुलाई फलफूल, अण्डा खुब कोची कोची धेरै खुवाउन खोज्ने। बिचरा केटाहरु अंकल अन्टी यती खाइदिनोस्न नत्र ममीले मलाई मार्नुहुन्छ भन्दै हाम्रो कोठातिर आउँथे। हामी पनि फोकटमा आएको फलफूलले कहिलेकाही स्वाद फेर्थ्यौं। भाउजु कहिलेकाहीँ एउटा केरा हातमा लिएर अर्को साता शनिबार तिमीहरुको प्लान के छ भनेर सोध्न आउँथिन्। हाम्रो साता दिन अगाडि के पो योजना बन्थ्यो र।

हामीले केही योजना छैन भनेपछि 'बाबुहरूलाई हेरिदेउ है' भन्दै दाजुभाउजु बाहिर जान्थे। बाबु आमा नभएपछि केटाहरुले खुब सास्ती दिन्थे। भाउजुले नेपालीलाई धेरै हेप्ने। बंगलादेशलाई असाध्यै सभ्य देशका रुपमा प्रस्तुत गर्ने। उनलाई हामीले नेपाली पनि धेरै सिकायौं । त्यहीँ बस्दै गर्दा हाम्री ठूली छोरीको जन्म भयो। दाइ भाउजुले त्यो बेला निकै सहयोग गरे। दुई वर्ष पछि हामीलाई पनि त्यो कोठा सानो भयो र दाइ भाउजुलाई पनि त्यो कोठा चाहिएला जस्तो भयो। हामी काठमाडौं छाडेर केही वर्ष घरतिर लाग्यौं । घर गएर बसेपनि थप अध्ययन र जागिरका लागि पछि फेरि काठमाडौं आउन परिहाल्यो।

कोठा खोज्दै हिड्ने हाम्रो पुरानो दैनिकी फेरि सुरु भयो। कुनै घरको झ्यालमा पर्दा नहालेको कोठा देखियो भने कोठा खाली छ कि भनेर सोध्न छोडिएन। प्रत्येक किराना पसलमा गएर यता कतै कोठा खाली भएको तपाइलाई थाहा छ कि भनेर सोध्यो। कोठा त पाइने। कहिँ भाडा असाध्यै मंहगो। कहिँ बच्चा भएकालाई दिन सकिन्न भन्ने। कहिँ पाहुना आउने भए हुँदैन भन्ने। पहिले पहिले कोठा खोज्न हिड्दा विद्यार्थीलाई दिन्नौं परिवारलाई दिन्छौं भन्ने भेटिन्थे भने अहिले परिवार वालालाई हुन्न विद्यार्थीलाई दिने भन्ने भेटिन थाले।

हप्तौंको प्रयासपछि सामाखुशी कपुरधारामा कोठा पाइयो। पानी नआइएहाले पनि ढुङ्गेधारा नजिकै। भाडा पनि मिल्दो। कोठा पनि एकदम ठूलो। वल्लो पल्लो कोठामा बस्नेहरु पनि सबै परिवारवाला। घरबेटी भने एकदम छट्टु रहेछन्। आफ्नो फोन हुँदा हुँदै कहिलेकाही मेरो कोठामा फोन गर्न आउने। यसो फोनमा कुरा गरेको सुन्दा मानिसहरुलाई युरोप अमेरिका पठाउने काम गर्दारहेछन् जस्तो लाग्यो। उनले राम्रोसँग कम्प्युटर जान्दा रहनेछन् क्यारे। मलाई विभिन्न स्कूल र शैक्षिक संस्थाको नाममा दूताबास र विदेशस्थित शैक्षिक प्रतिष्ठानहरुमा चिठी लेख्न लगाउँथे।

एकपटक त एक हुल मानिसहरु घरबेटी खोज्दै आए। विदेश पठाइदिन्छु भन्दै पैसा लिइसकेपछि पनि नपठाएकाहरु भेला भएर उनलाई पिट्न भन्दै खोज्दै हिडेका रैछन्। त्यो ताका उनी घरमा बस्न छोडेका थिए। पछि त उनलाई खोज्ने फोन मेरो फोनमा पो आउन थाल्यो। बेकारको तनाव। कति पटक डरै लाग्न थाल्यो। कता बेकारको के लफडा हुने हो र तिनले ठगेकाहरुले आँफूलाई पो बझाउने हुन् कि भन्ने पिर । झ्याप्पै डेरा सरी हाल्न पनि श्रीमती गर्भवती थिइन्। कता लिएर जाने भन्ने चिन्ता। कोठा खोज्ने सास्ती त्यही हो। सानी छोरीको जन्म यही डेरामा भयो। पानीको दुःख भए पनि कपुरधारामा एक घण्टा जति लाइन बसेपछि पाइन्थ्यो। कपुरधाराको डेरा र जागिर खाने स्पेसटाइम पत्रिकाको कार्यालय लाजिम्पाट नजिकै भएकाले त्यहाँ कोठा छोड्न मन थिएन। तर तीन वर्षपछि पत्रिकाको कार्यालय लाजिम्पाटबाट शान्तिनगर सर्यो।
त्यहिताका मैले पनि स्पेसटाइमको जागिर छोडेर कान्तिपुर टेलिभिजन तिनकुने सुविधानगरमा सरें। डेराबाट कार्यालय असाध्यै टाढा हुन थाल्यो। बसभाडाको हिसाब गर्दा डेराभाडा अलि बढी तिरे नै फाइदा होला जस्तो भयो। फेरि डेरा खोज्ने अभियान सुरु भयो। शान्तिनगरमा एउटा फ्ल्याट पाइयो तीन कोठे। माथि सडक तल बास। हतारमा धेरै निदीखुदी नगरी मिनी ट्रकमा सामान लिएर शान्तिनगर पुगियो। सडकको लेभल भन्दा तल बास भएकाले कोठा त्यति मन परेन। जाडामा त घामको मुख एकछिन मात्रै देखिने। भान्सा कोठा र ट्वाइलेटमा कहिल्यै घाम नपर्ने। बस्दै जाँदा सडकको फोहर पनि भान्सा कोठामा आउने थाहा भयो। त्यहाँबाट पनि सर्नुको विकल्प थिएन।

घरबेटी असलै थिए। बेलैमा भाडा दिइन्थ्यो। घरबेटीसँग कुनै विशेष सम्बन्ध हुन पाएन। त्यतिबेला कान्तिपुर बाहेक इमेज र नेपाल टेलिभिजन मात्र थिए। कहिलेकाही म टेलिभिजनमा देखिएर रिपोर्टिङहरु गर्थें। मलाई टिभीमा देखेकाले होला घरबेटीले मलाई देख्नासाथ नमस्कार गर्थे आफैलाई अप्ठेरो लाग्ने गरी। घरबेटीका एउटा छोरा गिटारिस्ट थिए। आमालाई त्यो मन पर्दैनथ्यो क्यारे। बेलाबेलामा उनीहरुका बाझाबाझ तलसम्म पनि सुनिन्थ्यो।

त्यहाँ बस्दै गर्दा नजिकै बन्दै गरेको एउटा घरमा बैना दिइयो। घरबेटी त्यहाँ नबस्ने रैछन्। घर बनाएर सकेपछि चार तले पुरै घर भाडामा लगाए। अरु त सबै राम्रै थियो तर तेत्रो घरमा सबै कोठाहरु भाडामा बस्नेले मात्र भरिँदा घरको स्याहारमा कसैले वास्ता गर्दैनथे। सबैले आफ्नो कोठा र फ्ल्याटबाट त फोहर निकाल्ने तर भर्याङहरु सफा नराख्ने। धारामा प्रयाप्त पानी नआउने हुँदा भाडामा बस्नेहरुबीच पानीलाई लिएर तनाव भइरहने। एउटा रहर सँधै भइरह्यो, किचनको धारामा नै पानी आओस् र बेसिनमा भाँडा माझ्न पाइयोस्। प्लास्टिकको बाटामा भाँडा माझ्ने र ट्वाइलेटमा लगेर त्यो पानी फाल्ने कामले कहिल्यै छोडेन।

जीवन डेरामै बित्ने भो, तर आनन्दसँग बस्ने डेरा कहिँ पाइएन भन्ने लागिरेका बेला बैंकहरुले घरजग्गामा लगानी गर्न थाले। एउटा बैंकले ऋण पत्तायो र बसुन्धारा चौकीमा घर बनाउने क्रम सुरु भयो। श्रीमती, बुबा र साला असिन पसिन हुँदै खटिए पनि दुई तले सानो घर बनाउन वर्ष दिन लागिहाल्यो। घर बनेर नसकिदैंदेखि भाडावालाले भने धर्ना दिन थाले। तपाइहरु माथी तलामा बसे भइहाल्छ तल भाडामा दिनुहोस् भन्नेहरु थुप्रै भए।

करिब १६ वर्षे डेरा बसाइलाई बाइ गर्दै बैंकले पुर्जा राखेको घरमा दुई वर्ष अगाडि सरेपछि कोठा खोज्नु पर्ने तनाव हट्यो। तर कोठा भाडामा दिनुपर्ने तनाव सुरु भयो। बैंकको ऋण तिर्न अलिकति भए पनि सजिलो हुने भएकाले भाडामा दिने काइदा आफूलाई पनि गज्जब लाग्यो।
भाडामा दिँदा कस्तो मान्छे बस्न आउने हो, कुनै भर छैन। परिचित मान्छेलाई भाडामा दिन पाए त एउटा कुरा। नत्र चोर, लफंगा पर्ने हो कि। गैर कानुनी काममा लागेका व्यक्ती घरमा बसेर, पछि आफैलाई अप्ठेरोमा पार्ने हुन् कि। रातरात भर जाँड खाएर हल्ला गर्नेलाई पो भाडामा दिइन्छ कि । महिनौंसम्म भाडा नदिएर झुलाइरहेन अनि भाडा माग्न जाँदा 'हामी भाग्छौं र' भन्दै उल्टै थर्काउने डेरावाल पो पर्ने हुन् कि। कसैको निधारमा कस्तो मान्छे हो भनेर लेखेको हुँदैन। भाडा लिन भन्दा भाडा दिन झ्न अप्ठेरो पर्ने रहेछ जस्तो लाग्न थाल्यो।

केही महिना खाली राखेपछि हेर्दा सज्जन जस्ता लाग्ने श्रीमान् श्रीमती र एक जना छोरी मात्र भएको सानो परिवारलाई घर भाडामा दिइयो। भाडामा बसेको आठ महिना नहुँदै धाराको टुटी भाँचियो। पावर प्लगहरुले काम गर्न छाडे। ट्वाइलेटको फल्स बिग्रियो। बनाउँदा खेरी महंगो सामानहरु प्रयोग गर्न सकेको भए पो। ओहो तनाव घट्ला भनेको त झन् बढ्ने लक्षण देखियो। कहिले पलम्बर खोज्दै हिड्यो। कहिले लाइट म्यान। तिनीहरु भनेको बेलामा आउने होइनन्। उता ठिक्क समयमा विजुली-पानीको पैसा तिर्ने लाइनमा बस्न जाने हतार। समयमा नतिरे जरिवाना। घरबेटीका समस्या त दिन दिन बढ्दै गए।

भाडामा बस्नेका श्रीमान् रोजगारका लागि विदेश जानेभएछन्। 'ल है आमाछोरीको ख्याल राख्दिनु' भने। अब अर्काका श्रीमती र छोरीको समेत चिन्ता थपियो। सानी नानी विरामी भइहाले अस्पताल लानु पर्यो। डेरामा बस्नेकहाँ कोही नचिनेको मानिस आयो भने को आयो, किन आयो, भन्ने चिन्ता। पछि काम गर्ने किशोर राखिन्। कस्तो होला त्यो केटा, भन्ने लाग्न थाल्यो।

बेलामा पानी धारामा नआउने। कुबेलामा उठेर हुन्छ कि, टेंकरमा पानी ल्याएर हुन्छ भाडामा बस्नेलाई पानीको जोहो समयमै गरिदिनुपर्ने। नभए फेरि 'कस्तो पानी पनि नदिने घरबेटी' भन्लिन भन्ने चिन्ता। झ्याल ढोका राम्रोसँग नलगाएर पसाङ्गिए कि भन्ने चिन्ता।
तल कहिलेकाही ठूलो आवाज आए पनि लउ भित्तामा काटी ठोकिछन् भनेर बुढाबुढी खासखुस गर्न थालियो। भित्ता बिगारिन् होला भन्ने चिन्ता। कति दुःख गरेर बनाएको घरको भित्तामा भाडामा बस्नेले काँटी ठोके भने आफ्नै छातिमा ठोके जस्तो लाग्छ भन्थ्यो एउटा साथीले।
श्रीमान् विदेश गएको केही समयपछि भाडामा बस्नेले महिलाले एउटा कोठा धेरै भएकाले त्यस्को भाडा तिर्न नसक्ने बताइन्। अब त्यो कोठा के गर्नु। कसैलाई एउटा कोठा छुट्टै भाडा दिन पनि सकिएन। केही महिना आफैले पर्दा हालेर खाली नै राखियो।

बैंकको ब्याज बढ्दै जाने र घर भाडा कम आउने भएपछि धान्न मुश्किल हुँदैगयो। त्यहीबेला बिदामा आएका उनका श्रीमान् लाई 'अर्को घर खोज्नुहोस्' भन्यौं। धन्न जाने बेलामा सजिलै गए। फेरि अर्को किरायादार खोज्नुपर्ने भो। पर्दा नहाली खाली राख्दा दैनिक सोध्न आउनेलाई जवाफ दिँदा दिँदा हैरान भइन्छ। पर्दा हाल्यो भने बा भाडामा बस्ने कोही नपाइने हो कि भन्ने चिन्ता।

अहिले चिने जानेको साथी एक्लै बसेका छन्। न बेलामा आउँछन् न बेलामा खान्छन्। कहिलेकाही महिला साथी लिएर आउँछन्। श्रीमती भन्छे बरु बिहा गरेर सँगै बसिदिए भाडामा बस्ने साथीको स्वास्थ्य त राम्रो हुन्थ्यो नि। दुई वर्षे घरबेटी कालमा पनि चिन्ता कम हुन सकेको छैन। समस्या फरक छन् तर तिनले छोडेका छैनन्।

र फेरि कवि सुरेश हाँचेकुलीको कविता।

कुनै क्रुर भुइँचालो
अथवा निर्दयी प्रकोपले
तपाइँको घर गर्ल्यामगुर्लुम ढल्यो भने
.....तपाइँको भव्य महल
र मेरो भाडा तिरेको डेरा
इतिहासको गर्वमा हराइसकेका हुनेछन्।

(नागरिक शनिबारको 'अक्षर'मा प्रकाशित भएको छ। http://archives.nagariknews.com/2010/blog/a-a-a-a-a-a-a-a-a-a--18076.html?blogger=deepak

No comments:

Post a Comment

Please leave your comment here