Saturday, June 13, 2009

खोइ त छहारी प्रधानमन्त्री, माधव नेपाल जी !


सत्ता छाड्न परेको झोँकमा एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री माधवकुमार नेपाललाई 'विषवृक्ष' भनेर कटाक्ष गरे। प्रधानमन्त्री नेपालले पनि दाहाललाई मुखभरको जबाफ दिँदै भनेका थिए - 'म न विषवृक्ष हुँ न त कल्पवृक्ष नै। तर म त्यस्तो एउटा वृक्ष बन्न चाहन्छु जसले नेपाली जनतालाई सकेसम्म मीठो फल दिन प्रयत्न गर्नेछ नसके बाटो हिंड्ने बटुवालाई छहारीसम्म अवश्य दिनेछ।' उनको त्यो भनाइ प्रतीकात्मक होला । यथार्थमा भने साना नानीलाई जेठको चर्को घाममा उभ्याएर स्वागत ग्रहण गर्ने उनको व्यवहारसँग कथनी पटक्कै मिलेन। साँच्चै नेपाली जनतालाई साँच्चै छहारी दिने उनको मन थियो भने विद्यालयका साना नानीलाई त घन्टौंसम्म घाममा टट्याएर राख्नेको स्वागत ग्रहण गर्ने थिएनन्।


हेटौंडामा खेलकुद प्रतिष्ठानको शिलान्यास कार्यक्रमका लागि जाँदा जेठको चर्को घाममा साना बालबालिकालाई तीन घन्टा उभ्याएर राखियो। उनले त्यसको कुनै ख्याल गरेको देखिएन। सञ्चार माध्यममा यसको समाचार आएपछि पनि उनले दुःख मानेको थाहा पाइएको छैन। समाचारमा उनका सल्लाहकारले दिएको स्पष्टीकरण पनि पटक्कै चित्त बझ्दो छैन। साना नानीको त माया नगर्ने नेपालले बटुवालाई छहारी दिन्छु भन्दा के पत्याउनु यस्ता प्रधानमन्त्रीले राष्ट्रपतिको कदमविरुद्ध प्रतिपक्षी माओवादीले गरेको दिनहुँको बन्दले लाखौं जनताले पाएको सास्तीको के हेक्का गरे होलान् र ?

यसैले होला प्रधानमन्त्री माधवकुमार नेपालले देशका सामु उभिएका गम्भीर चुनौती हल गर्ने कामभन्दा भविष्यमा कीर्ति राख्न धेरै ध्यान दिन थालेको उनको व्यवहारबाट देखिएको छ। फलाना प्रधानमन्त्री भएका बेला यी भौतिक संरचना बनेका हुन् भन्ने सम्झना पुस्तौँ पछिका सन्तानले समेत गर्ने आशाले त होला उनले शीलान्यास र उद्‍घाटनमा आवश्यकभन्दा बढी समय दिएका छन्। पहिले पटकपटक प्रधानमन्त्री पदको मुखैमा पुगेर पनि वन्चित भएकाले होला शपथ ग्रहणको तीन साताभित्रै नेपाल पदमा कतिन्जेल टिकिने हो भन्नेमा बढी चिन्तित देखिएका छन्।

प्रधानमन्त्री नेपालसामु शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउने देशमा शान्ति सुरक्षा कायम गर्ने र एक वर्षभित्रै संविधान निर्माण गर्ने तीनवटा मुख्य जिम्मेवारी र चुनौती छन्। तर तीन साता यताको उनको कि्रयाकलापले प्रधानमन्त्री नेपालले अहिलेको ती चुनौती समाधानभन्दा कम प्राथमिकतामा राख्नुपर्ने औपचारिकता धेरै समय खर्चेका छन्।

प्रधानमन्त्रीले सबैभन्दा पहिले त मन्त्रिपरिषद्लाई पूर्णता दिन ध्यान केन्द्रित गर्नुपर्ने हो। प्रधानमन्त्रीले आवश्यक ध्यान नदिएकाले नै मन्त्रिपरिषद्ले पूर्णता पाउन ढिलो भएको हो। पार्टीभित्रबाट अध्यक्ष झलनाथ खनालसहित संस्थापन पक्षबाट आवश्यक सहयोग नपाएका भनिएका नेपाल आफूले पनि मन्त्रिपरिषद् विस्तारमा तदारुकता देखाएनन्।

एमाले अध्यक्ष खनाल त सत्ता साझेदारीसम्बन्धी हरेक महत्वपूर्ण बैठकबाट उम्कन पूर्वदेखि पश्चिमसम्म जिल्ला भ्रमणमा गएका देखिन्छन्। शनिबार पनि उनी विराटनगर लागेका छन्। प्रधानमन्त्री नेपाल सम्मान लिन र भवन शीलान्यास गर्न राजधानी जाँदा सत्ता साझेदार दलबीच तय गरिएका बैठक बस्न स्थगित गरिएका छन्।

प्रधानमन्त्री नेपाल शनिबार मात्रै पनि नाङ्लेभार पुगे। त्यहाँ उनले दुई दिनभित्रै मन्त्रिपरिषद् विस्तार हुने जानकारी राजधानीका आफ्ना मतदातालाई बताए। संविधानसभा निर्वाचनमा नेपाल हारेको काठमाडौं - २ को लप्सेफेदीमा कार्यकर्तासँग प्रधानमन्त्री नेपालले आफ्नो कमजोरी मज्जाले लुकाए। उनले हतार गर्दा काम बिग्रन सक्ने भन्दै संयमी भएर अघि बढेको बताए। संयमका नाममा ६ जना मन्त्रीलाई कति दिन काम नदिएर राख्ने हो ?

व्यवस्थापिकाको सबैभन्दा ठूलो दल विपक्षमा छ। गठवन्धन सरकारको पहिलो कर्तव्य अन्य दलसँग मिलेर मन्त्रिपरिषद्लाई पूर्णता दिनु र संक्रमणकाललाई घटाउँदै लानु पर्ने हो। प्रधानमन्त्री नेपालले शपथ लगत्तै बसेको पहिलो मन्त्रिपरिषद् बैठकले रत्नपार्कमा धरहर भन्दा अग्लो गणतन्त्र स्तम्भ बनाउने निर्णय गर्‍यो।
शपथको छैठौं दिनमा उनले त्यस स्तम्भको शिलान्यास पनि गरे। कस्तो अचम्म भने स्तम्भको लागत र डिजाइनको टुंगो नै नलागी भवनको शिलान्यास भइसक्यो। अझ अचम्म त त्यो स्तम्भ एक वर्षभित्रै बनाइसक्ने निर्देशन पनि दिए। २०६७ जेठ १५ गते नयाँ संविधान घोषणासँगै भवनको उद्घाटन गर्ने रे।
त्यसको भोलिपल्ट उनले निजामती कर्मचारी अस्पताल उद्घाटन गरे। गोकर्ण, कीर्तिपुर चम्पादेवी तथा नवलपरासीको डन्डामा विश्वस्तरका संग्रहालय बनाउन चाहने नेपालले पक्कै यिनको शीलान्यास गर्न खोज्लान्। उनले आफ्ना योजनाका लागि पर्याप्त बजेट छुट्याउन अर्थन्त्रालयलाई निर्देशन पनि दिए।

कीर्ति राख्ने काम ठूला स्तम्भ र संग्रहालयले मात्र गर्दैनन्। देशले समयमै संविधान नपाएर शान्तितर्फ लम्कन नसके प्रधानमन्त्री नेपालले शिलान्यास गरेको स्तम्भ बन्दै नबन्न र बने पनि भत्किन सक्छ।

No comments:

Post a Comment

Please leave your comment here