डेढगाउमा कृषि शिक्षाको आवश्यकता
डिल्लीराज भण्डारी
डेढगुउमा कृषि शिक्षाको नितान्त आवश्यकता रहेको पाइन्छ । डेढगाउलाई यस वरपर गाविसका बासिन्दाले जतिनै विकसित देखे पनि यहाँका बासिन्दाका लागि विकट नै छ ।
न त यस क्षेत्रमा प्रशस्त मात्रामा सिंचाई छ न त यातायातको राम्रो सुविधा छ । न त कुनै नयाँ खेतीपाती यहाँ लगाएको पाइन्छ न त कुनै नयाँ कृषि शिक्षाको प्रशिक्षण नै यहाँ भएको छ ।
जेटिए र भेटनरीको सुविधा पाउन नसक्दा यहाँका खेतीपाती र पशुपालन राम्रोसँग फस्टाउन सकेको छैन । गाँउघरमा पालिने गाई भैंसी वाख्रा विरामी परे पनि औषधीमुलो बिना अकालमै मरेका छन् । भेटनरी सेवा पाउन नसक्दा यहाँ यस्तो पीडा धेरै सहनु परेको छ ।
यो देशमा ठूला ठूला परिवर्तन भए । तर यहाँका बासिन्दाहरुले लगाउने बालीनाली फेरिएको छैन । बावुबाजेले लगाउँदै आएका धान गहुँ मकै आजसम्म पनि यहीं बालीहरु लगाइन्छ ।
यहाँ लगाइएका फलफुल सागपात तथा अन्य बालीनाली त्यति राम्रो संग उब्जाउ भएको छैन । फलफुल र सागपातलाई चाहिने भिटामिन दिन जान्ने कृषकको कमी छ । किनकि यस ठाँउमा जे टि ए सेवा छैन ।
खेतीयोग्य ठाँउ भनेर चिनिने चितवन र पाल्पा जिल्लामा वर्षैपिच्छे वीउविजन फेरेर खेती गरिन्छ । साथै त्यस ठाँउमा उन्नत खालका सागपात र फलफुल उब्जाएको पाइन्छ । ती ठाउँहरुमा समय अनुसारका सागपात लगाइएको हुन्छ । किनकि त्यसठाँउमा सिचाइको राम्रो सुविधाका साथै जेटिए सेवा पनि सुलभ तरिकाले पाइन्छ।
यस क्षेत्रमा भौगौलिक कारणले गर्दा प्रशस्तमात्रमा सिचाइ हुन सकेको छैन । यहाँका प्रशस्त खेतीयोग्य जमिन त्यसै खाली रहेका छन् । यस्ता ठाँउमा मौसम अनुसारको सागपात र फलफुल लगाउन तथा चरनको विकास गरी पशुपालन गर्न सकिने तर्फ यहाँका बासिन्दाले उचित ध्यान पुर् याउन सकेका छैनन्।
यहाँका बासिन्दाले वर्षमा एकचोटी मात्र सागपात र फलफुल लगाउने चलनलाई पनि परिवर्तन गर्न आवश्यक छ । यस ठाँउका यस्ता समस्या हल गर्न कृषकलाई उचित सल्लाह दिने कृषि प्राविधिकहरु जेटीए र भेटनरी शिक्षाको आवश्कता अति नै छ।