Monday, July 7, 2008

"पहिरोमा परि एकको मृत्यु दूइ घाइते"

पुण्य प्रसाद खनाल
व्याधान
मोटरबाटो निर्माणको क्रममा पहिरोमा परि एक जनाको मृत्यु भएको छ भने अन्य २ जना गम्भीर घाइते भएका छन् । २०६५ साल जेष्ठ २६ गते आइतबारका दिन घटेको उक्त घटनामा रुचाङ गा.वि.स. वडा नं. १ व्याधान निवासी ५५ वषिर्य पदम सिं आलेको घटनास्तलमानै मृत्यु भएको थियो भने सोही गाउँकी श्रीमती दुर्गामाया सिंजाली र मनकुमारी वि.क. घाइते भएका थिए।
घाइते मध्ये दुर्गामायाको टाउको तथा अनुहारमा चोट लाग्नुका साथै देब्रेहातको हड्डी भाँचिएकाले उनलाई उपचारका लागि केउरेनी लगिएको छ भने मनकुमारीको देब्रे खुट्टामा चोट लागेकाले उनको घरमै उपचार भइरहेको इलाका प्रहरी कार्यालयका नायब प्रहरी निरिक्षक गोविन्द रेग्मीले बताउनु भयो ।

दलदले राइका भञ्ज्याङ्ग मोटरबाटो अर्न्तर्गत रुचाङ खण्डको वाङसा खोलामा उक्त घटना हो । बाटो खन्ने क्रममा दिनको करिब ३ वजेतिर माथिबाट ढिस्को भत्किदा करिब १०० मिटर तल खोलामा खस्दा उक्त दुर्घटना भएको थियो । वि.स. २०५५/५६ मा जर्मन संस्था जेटि जेडको कामका लागि खाद्यान्न सहयोग कार्यक्रम अन्तर्गत निर्माण सुरु गरिएको मोटर बाटो पछि उक्त संस्थाले सहयोग बन्द गरेपछि बेवारीसे अवस्थामा थियो।
जि.वि.स र गा.वि.स. को अनुदान तथा स्थानीय वासिन्दाहरुको श्रमदातमा हाल निर्माण गर्न लागिएको उक्त बाटो नरम गा.वि.स. को मधुकोट जोडने लक्ष्य रहेको छ । सडक निर्माण गर्ने कार्यमा डोजरको प्रयोग गरिएको भएता पनि कडा चट्टानको कारण मानिसले खन्नु परेको हो । करिब ६०/६५ जना श्रमदाताका लागि गएकोमा उक्त घटनाले सबैलाई मर्माहत बनायो । मृत्यु हुने पदम सी‌ आले नरम गा.वि.स. वडा नं. ६ माझडाडाँका स्थायी वासिन्दा भएको र व्याधानकी आसमति सिंजालीसँग वैवाहिक सम्बन्ध कायम भएपछि व्याघातमै बस्दै आएका थिए । कमजोर आर्थिक अवस्था रहेको चार छोरा र एक छोरीको पिता आलेको परिवारमा उनको मृत्युले झन आर्थिक वोझ थपिदिएको छ ।
गाउँमा मोटर पुर्‍याउने सुन्दर सपना बोकेर जनश्रमदानमा जुटदा ज्यान गुमाउने तथा घाइते हुनेहरुलाई सहयोग गर्नेको लागि कसैको ध्यान गए पिडितहरुको पिडा कम हुने थियो।