Monday, January 27, 2014

आफ्ना छोराछोरी बाहेक

एक पूर्व स्वास्थ्य मन्त्री भने - डेलिगेसन लिएर आफ्नो जिल्ला/क्षेत्रका अस्पताल/स्वास्थ्य केन्द्रमा डाक्टरहरु गएनन् भन्न आउने सांसदहरु एक्लै आएर भन्छन्, 'लउन मेरो डाक्टर छोरा/छोरी/बुहारीलाई काठमाडौंको कुनै अस्पतालमा जागिरको व्यवस्था गरिदिन पर्यो।' हाम्रो नेपालमा....

Tuesday, January 21, 2014

प्रचण्ड र बाबुराम दुबै प्रधानमन्त्री भएकाले माओवादी हारे

एउटा मान्छे मलाई पटक पटक सुनाइरहन्छ, 'दाइ! प्रचण्ड र बाबुराम दुबै जना प्रधानमन्त्री नभएको भए अहिले बहुमत आउँथ्यो। कम्तिमा बाबुराम मात्र पनि प्रधानमन्त्री नभइदिएको भए केही आशा गरेर सबैभन्दा ठूलो दल भइन्थ्यो।'

Monday, January 20, 2014

प्रचण्ड र डा‍. गोविन्द केसी

नागरिक दैनिकका संवाददाता मित्र सुरेन्द्र पौडेलले तीन वर्षदेखि डा. गोविन्द केसीका बारेमा लेखिरहनुभएको छ। उहाँले आज लेख्नुभएको फेसबुक स्टाटस चित्त बुझेर यहाँ शेयर गरेको हुँ।
एक दिन डा. गोविन्द केसीले भेटमा भनेका थिए :
एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री पदबाट राजिनामा दिए लगत्तैको कुरा हो । प्रचण्डले डा. गोविन्द केसीलाई आफ्नै निवासमा बोलाएका थिए आफ्नो चेकअप गर्न । प्रचण्डको प्रस्ताव केसीले अस्विकार गरे र सन्देश लिएर आउने हुलाकीलाई जवाफ दिए, ‘आजसम्म मैले कसैको घरमा गएर चेकअप गर्ने गरेको छैन ।’ केसीले दैनिक सयौं असाह्य विरामी शिक्षण अस्पतालमा आउँछन् आँफुलाई घर घरमा गएर चेक अप गर्ने फुर्सद नहुने समेत बताए । हुलाकीले साहै कचकच गरेपछि डा. केसीले सुझाव दिए बरु अध्यक्ष प्रचण्डलाई यहीं ल्याउनोस् । सुरुमा त हुलाकी मानेनन् । डा. केसी डेग नचलेपछि दल बल सहित आउने बताए । यसलाई पनि उनले अस्वीकार गरे । डा. केसीले भनेका थिए, ‘अरु सर्वसाधरण विरामी जसरी आउँछन् त्यसरी नै ल्याउनु । तीन जना भन्दा बढि नआउनु । र, अरु विरामी सरह लाइन बसेर आफ्नो पालो आएपछि मात्र छिर्नु ।’ प्रचण्डको चेकअप त्यसरी नै भयो जसरी डा. केसीले भनेको थिए । यसको केही समयपछि शिक्षण अस्पतालमा भएको अनियमियत र राजनीतिकरणबारे ध्यानाकर्षण गर्न डा.केसी लगायत केही डाक्टर प्रचण्डकोमा गए तर उनले आफ्नो फुर्सद नभएको भन्दै निवासको गेटबाट प्रवेस गर्न समेत दिएनन् । प्रचण्डकोमा जानु अघि उनीहरुले सबै दलका नेतालाई भेटी अस्पतालको अवस्थाको बारेमा जानकारी गराई राजनीतिकरण रोक्न आग्रह गरेका थिए । जुन आवाज नसुन्दा डा. केसी आमरण अनसन बस्न बाध्य भए । यो अघिल्लो पटक अनसन बस्दाको कुरा । डा. केसी अहिले फेरी अनसन बस्न बाध्य भएका छन् ।

Wednesday, January 15, 2014

जेब्रा झोला साटियो

माघे संक्रान्तिको बेला : यात्रा गर्दा धेरैले जेब्रा झोला लिएर हिड्नेहुँदा साटिनसक्छ। कृपया कुनै चिनो जेब्रा झोलामा लगाउनुहोला। गाउँबाट ल्याएको जेब्रा झोला माइक्रोबसको यात्रामा साटिएछ। घ्यू, तरुल, खुदो, बटुक तथा फुरौला बनाउने र खित्रो खाने दाल तथा चामल अन्तै पुगेछ। केही थोत्रा कपडाहरु र पिंडालु चाहिँ आइपुगेको छ।

Saturday, January 11, 2014

झम्के साँझको साथी

अन्नपूर्ण बेसक्याम्पको यात्रामा एक दिन साँझ अबेलासम्म हिंडियो। केही साथीहरु ह्यार्के (बिजुली पानीको नयाँ नाम उतै सुनेको) तालमा निकै अगाडि हिंडे। केही साथीहरु विदेशी महिलाको साथ पाएकाले निकै पछाडिए। जंगलको बाटो एक घन्टा भन्दा धेरै उकालो एक्लै हिड्नुपरो झम्के साँझमा। तर साँझपरेपछि तल्लो गाउँबाट सँगै हिंडेको एक कुकुर राति माथ्लो गाउँ पुगेपछि मात्र हरायो। पुन: तल फर्क्यो कि जस्तो लाग्छ। बाटोभर डर भगाउन मैले उसँग कुरा गरें। उसले बुझ्यो/बुझेन तर साथ भने दिइरह्यो।
(चाहेर नि क्यामेरा नभएकाले फोटो खिच्न सकिन तर गुगलमा भेटिएको यस्तै थियो त्यो कुकुर)https://www.facebook.com/photo.php?fbid=10152124656895040&set=a.39549630039.46994.640935039&type=1&theater

Tuesday, October 1, 2013

राष्ट्रसंघलाई कस कस्को पत्र

मित्र मदनमणि अधिकारी कुरा रमाइलो लाग्यो, ''हैसियत हुनेले मनमोहन सिंह गुहार्छन हैसियत नहुनेले बान कि मुन।"
यस अगाडि केही दिन यताका समाचार अनुसार सेना परिचालन रोक्न मोहन वैद्यले संयुक्त राष्ट्रसंघ गुहारे। प्रधान न्यायाधीश खिलराज रेग्मीलाई मन्त्रिपरिषद्बाट राजीनामा गराउन नेपाल बारले राष्ट्रसंघ गुहार्यो। काक्रेबिहारमा बुद्ध मूर्ति राख्ने ब्यवस्था मिलाइदिन आदिवासी जनजातिले राष्ट्रसंघ गुहार्यो। भ्रष्टाचारमा जेल भुक्तान गरी फर्केका जेपी गुप्ताले आफूमाथि राज्यले हिंसा प्रयोग गर्न सक्ने राष्ट्रसंघ गुहारेछन्।
मित्र मिलन बगाले भन्दैछन, "कुनै दिन स्टेशनरी पसलको भित्तामा पढ्न पाईनेछ, 'यहाँ राष्ट्रसंघलाई लेख्ने चिठीको फर्म्याट पाईन्छ।"

Wednesday, September 25, 2013

सचिव गाउँमा बस्छन् र ?

'जनसेवाका लागि छिटोभन्दा छिटो स्थानीय निकायको चुनाव गर्न केन्द्रीय नेताहरुलाई कसरी भन्ने होला ?' पिताजीले फोनमा भन्नुभयो, ' जनप्रतिनिधि नहुँदा गाउँमा सचिव बस्दै बस्दैनन् । नयाँ पिँढीलाई त सचिव गाउँमा बस्नपर्छ भन्ने नि थाहा नहुने भयो। जन्म दर्ता गर्न परे नि नागरिकताको सिफारिस चाहिए पनि जिल्ला सदरमुकाम वा सेवा केन्द्रमै धाउँने भए मानिसहरु।'

Tuesday, September 24, 2013

दुई माओवादीको वार्तालाप

एक नम्बर : मलाई त यी ड्यासको भरै लाछैन । चुनाव विथोल्छौं भनिरहेका छन्, कतै चुनावका बेला हाम्रै पार्टीका उम्मदेवारमाथि आक्रमण गर्ने पो हुन् कि ?
दुई नम्बर : मलाई त्यस्तो लाग्दैन । भोट हाल्ने दिन काँग्रेस एमालेका भोटरलाई बाटोबाटै फर्काइदिन्छन् र हाम्रा समर्थकलाई मात्र बुथसम्म पुर्याउँछन् । चुनाव विथोल्न् त विथोल्छन् तर माओवादीको हैन काँग्रेस र एमालेको मात्र ।
एमाओवादीका दुई कार्यकर्ता होलान्, राजधानीको एउटा मध्यम खाले रेष्टुँरामा गफ गर्दै छन्।

Monday, September 23, 2013

सभासदका उम्मेदवार छान्ने काइदा

बाहिर समाचारमा - संविधानसभाको दोस्रो चुनावमा उम्मेदवारको टिकटका लागि जिल्ला जिल्लाका कार्यकर्ताहरु नेताका घर, डेरा र पार्टी कार्यालय धाइरहेका छन् र टिकट नपाए बागी हुने घुर्की लाइरहेका छन्।
भित्री कोठाहरुमा - नेताहरु पार्टीको चुनावी प्रचार खर्च धान्न सक्ने उद्योगी व्यापारीहरु खोज्दै संविधानसभाको टिकट बाँड्दैछन्।
अनि म सोच्दैछु - यसरी मिसिएर आउने यी दुईथरी भविष्यका सभासद्ले देशलाई अब पनि बेलाबेलामा सरकारमात्र देलान् कि एक थान संविधान पनि देलान्?

Monday, September 2, 2013

किन आत्तिएका अरु दल?

एनेकपा माओवादीले भर्खरै पुनगर्ठित गरेको राज्यका नेताहरुको नाम हेरेको। मगरात राज्यको संयोजक गिरिधरीलाल न्यौपाने ।
तमुवान राज्यको इन्चार्ज भीम गौतम र संयोजक हरी अधिकारी ।
नेवा राज्यको इन्चार्ज देवेन्द्र पौडेल र संयोजक झक्कु सुवेदी ।
तामशालिनको इन्चार्ज विश्वभक्त दुलाल र संयोजक नारायण दाहाल ।
अवध राज्यको इन्चार्ज चन्द्रदेव खनाल र संयोजक वामदेव क्षेत्री ।
किरात राज्यको संयोजक वालकृष्ण ढुंगेल रहेछन् ।
जातीय पहिचाहन सहितको संघीयतामा विशेष जातिलाई अग्राधिकार भन्ने एमाओवादीले किन यसो गरेको ? तमुवान, नेवा, अवध सबका सबमा किन बाहुनलाई नेतृत्व दिएको?
अनि अरु दल किन आत्तिएको होला, धेरैजसो बाहुन, क्षेत्री छन् त  राज्यका प्रमुख तै पनि एमाओवादीले जातीय पहिचाहन सहितको संघीयता बनाउन लागे भनेर किन चिच्याउनु ?

Sunday, September 1, 2013

नेपाल सुहाउँदो नेता राजेन्द्र महतो

यी राजेन्द्र महतो भन्ने मान्छे खुब मन परो। एक त 'अब म मन्त्री बन्दिन' भने। अब नि संविधानसभामा बहुमत कसैको नआउला र गठवन्धन सरकारमा मन्त्री बन्ने चान्स पाइएला भनेर कोहीकोही उनको पार्टीमा लागे। दोस्रो, पार्टीमा १३ जना उपाध्यक्ष बनाउने निर्णय गरिसकेछन्, आवश्यक परे थप्ने गरी। जो जसलाई पद चाहिने हो (ठूलाबडा) उनको पार्टीमा प्रवेश गरे ठाडै उपाध्यक्ष। अनि यत्रा धेरै एफएम, टिभी, अनलाइन, पत्रपत्रिका छन् भनेर प्रवक्ता नै पनि ४ जना राख्ने निर्णय गरेछन्। पत्रकारलाई 'कोट' लिन नि सजिलो एउटा नभेटे अर्को त भेटिइहाल्छ। नेपाल सुहाउँदा नेता हुन् यिनी महतो जी।

Wednesday, August 28, 2013

शान्ति प्रकृया अझै भाँडिएन?

अख्तियारले भ्रष्टचारी भन्दै भकाभक पक्राउ गर्न थालेपछि तीन ठूला पार्टीका कर्मचारी संघले सामुहिक बैठक गरेर बिरोध गरेछन् । तर अहिलेसम्म पनि अख्तियारको 'यो कदमले शान्ति प्रक्रिया भाँडिने खतरा भो' भनेर कसैले किन नभनेको होला भनेर अचम्म मानिरहेछु।