Sunday, September 30, 2012

सरकारी अस्पतालको ट्वाइलेट सफा गर्ने संस्था छैन कुनै?



हैन, सरकारले गरेको कामले मात्र जनताको फलिफाप भएन भनेर नेपालीको जीवनस्तर उकास्ने भन्दै यत्रा एनजिओ आइएनजीओ ले काम गरिरहेका छन् नेपालमा। सरकारले त सकेन सकने सरकारी अस्पतालको ट्वाइलेट सफा गर्ने कोही एनजिओ आइएनजीओ छैन भन्या यो देशमा ?
वीर अस्पताल भित्रको एउटा शौचालय बाहिरबाट हेर्दा यती राम्रो देखेर भित्र छिरेको। राम राम! सात वर्षदेखि पिनासबाट थलिएकाले पनि थाहा पाउने गन्धले धन्नै 'फेन्ट' भइएन।
सरकारी अस्पतालका शौचालय सफा राख्ने मात्र कुनै संस्था भए वर्षको पाँच हजार रुपैयाँ मै पनि दान गर्थे‌ सक्दासम्म त बरु। किन सरकारी अस्पतालका शौचालय त्यति विघ्न फोहर हुन् भन्या ?

Wednesday, September 26, 2012

तपाईंको शौचालय कहाँ छ कुन्नि ?

कतै सुनेको : खोल्सा-खोल्सी, रूख वा ढुंगाको कापमा लुकेर शौच गर्ने परिवार आर्थिक हिसाबले मात्र होइन ज्ञानको हिसाबले पनि 'गरिब' हो। घरको अलि पर कान्लाछेउमा बोराले घेरेको शौचालय छ भने गरिब भन्दा अलिक माथिका। आँगनको छेउ वा करेसाबारीनिर अर्धपक्की शौचालय बनाएमा 'मध्यमवर्गीय' तर्फको यात्रामा। घरसँगै टाँसिएका तर मूल ढोकाबाहिर शौचालय बनाएका 'मध्यमवर्गीय'। घरको मूल ढोकाभित्र शौचालय भए पक्कापक्की 'मध्यमवर्गीय'। शयनकक्षभित्र शौचालय भए त 'उच्च मध्यमवर्गीय'।
तपाईंको शौचालय कहाँ छ कुन्नि ?

अछाममा दुई धाराको कथा

अछाम सदरमुकाममा एउटै मुलमा दुई धारा छन्। भाँडाको बढी भिड भएको धारा चाहिँ कथित उपल्ला जातको। कम भएको चाहिँ तल्ला बनाइएका जातिको। आजभोलिका केही दलित युवाहरु भने बाहुन क्षेत्रीका भनिएका धारामा गएर पानी भर्दारहेछन्। तर अहिलेसम्म पनि सबैको त्यो हिम्मत आइसकेको रहेनछ।
उता दलित बाहेककाहरु पनि भिड बढी नै भए पनि पालो कुरेर कथित माथिल्लो जातकै भनिएको धाराबाट पानी भर्दा रहेछन्। भिड कम भए पनि दलितको लागि छुट्टयाइएको धारामा जाँदा रहनेछन्।

नेपाली फिल्ममा 'बाई वन गेट वन फ्री'

मलाई चलचित्रकर्मीहरु मन पर्छन् कारण एक त उनीहरुमा 'सेलिब्रेटी'को आकर्षण हुन्छ। अर्को नेपाली चलचित्रकर्मीले कहिलेकाहीँ रमाइला घटना सुनाउँछन्। आज एकजनालाई सोधेको थिएँ,'फिलिम कत्तिको पाइरहिएको छ?
उनले सुनाइन्, 'आजभोलि Buy one get one free चलेको छ नेपाली फिलिम क्षेत्रमा, मेरो पिताजी पनि फिलिम क्षेत्रकै हुनुहुन्छ त्यसैले मलाई लिएपछि बाले फ्रीमा अभिनय गर्दिने भएकाले खाली बस्नुपरेको छैन।'
अरु पनि छन् रे नेपाली फिलिम इन्डष्ट्रीमा बालाई डाइरेक्टर लिए छोरीले फ्रीमा हिरोइन खेल्दिने, छोरालाई फिल्ममा खेलाए बाउले फ्रीमा डान्स/फाइट डाइरेक्सन गर्दिने।

Sunday, September 23, 2012

दुई थरी विश्लेषकलाई सुन्न नपरे हुन्थ्यो


प्रभु दुई किसिमका विश्लेषकहरुको कुरा सुन्नबाट मलाई बचाइदेउ,
1) विश्वमा अन्यत्र यस्तो कतै हुनै सक्दैन/भएकै छैन भनेर संसारकै ठेक्का लिनेहरुबाट।
र
2) यो निर्वीकल्प हो अरु विकल्पै छैन भन्नेहरुबाट।
(निर्वीकल्प भन्ने पञ्चायती व्यवस्था त ढल्दो रहेछ। संसारमा निर्वीकल्प भन्ने एक दुई कुरा मात्र होलान्। श्वास प्रश्वास नफेरी बाँच्न सकिदैंन, परिवर्तन भन्ने कुरा निर्वीकल्प हो)

Friday, September 21, 2012

'सुन्न नसक्ने' भनेर किन थपेको ?

समाचारको शिर्षकमा बहिरा मात्र नभनेर किन सुन्न नसक्ने थप्न परेको होला?
यो समाचार लेख्ने, सम्पादन गर्नेलाई सुन्न सक्ने पनि बहिरा हुन्छन् भन्ने लाग्छ कि ?  बनेपास्थित बहिरा स्कूलको सूचना पाटीमा टाँसेर राखेको एउटा समाचार। 

Thursday, September 20, 2012

मन्त्री मोडल


हाम्रा अर्थमन्त्रीलाई मोटरसाइकलमा चढेको पनि कस्तो सुहाउँदो रहेछ भनेर सकारात्मक कुरा मनमा आएको भए पनि हुने। तर कस्तो नकरात्मक कुरा खेल्यो भने मेरो मनमा। हेर त! व्यापारीले नेता अझ अर्थमन्त्रीलाई नै मोडल बनाएको। (ती पछाडि उभिएका पद्म ज्योती, माओवादीबाट विघटित संविधानसभामा मनोनित सभासद थिए।)

Tuesday, September 18, 2012

'खलनायक' नै भनी श्रद्धान्जली

कसैको मृत्युमा 'खलनायक' नै भनी श्रद्धान्जली व्यक्त गरेको विज्ञापन पहिलोपटक पत्रिकामा देखियो, सायद फिल्मको खलनायक थिए होलान् यिनी।

Monday, September 17, 2012

दशैंमा घर आउँने तर सुटुक्क

बिदेशमा बस्ने मध्ये कति जना बिचरा नेपालीहरुले 'बिदामा घर जाँदैछु' भनेर आफ्ना नेपाली साथी भाइलाई भन्न पनि सक्दैन रहेछन्। 'दशैंका बेलाँ घर आउँदैछु। तर कसैलाई भन्न मिल्दैन है, यहाँबाट सामान लगिदे भनेर हैरान पार्छन'- अमेरिकाबाट दशैंमा घर आउन लागेकी एक जना भद्र महिलाले भन्नुभयो।

तीजको ज्वाईं

चार वर्ष यता तीजको दर खाने दिन सबैभन्दा मन नपर्ने दिन मध्ये एक हो मेरा लागि। ससुराली नजिकै घर बनेदेखि दरमा आफ्नो चेलीसँगै बोलाउँछन् ससुरालीबाट। जति जान्न भनेर बस्दा नि सुख पाउन्न। 'कहाँ एक्लै' भन्दै घरै लिउन आउँछन्। कि गाउँमा बाबुआमासँगै बसेको भए आनन्द हुनेरहेछ। 'जान्न' भन्यो भने, 'एक्लै किन घर बस्ने' भन्दै बुढी पनि ठुस्सिएर हैरान पार्छे। जाम 'श्राद्धको सालो तिजको ज्वाईँ' भन्ने उखान सम्झेर साह्रै आत्मस्वाभिमान गिह्रे जस्तो लाग्छ।

Wednesday, September 12, 2012

अफिस टाइम जस्तोमा खुल्ने ATM


ATM भनेको Automated Teller Machine भए पनि म जस्तो अबुझहरुले Anytime Money भनेर बुझिन्छ। तर हाम्रो देशमा यो एउटा बैंक रहेछ ATM मा पनि निश्चित समयमा मात्र पैसो झिक्न पाइने। त्यो पनि बिहान ८ बजेदेखि ९.३० सम्म अनि साँझ ४ बजेदेखि ५.३० सम्म। अछाम सदरमुकाम मंगलसेनमा देखेको एउटा मात्र ATM मेसिन बाहिरको सूचना।

Tuesday, September 11, 2012

झ्याम्म लाग्ने दर

भदौ २४ गतेको कान्तिपुर दैनिकमा छापिएको एक विज्ञापन, वाइन खाऔं तीज मनाऔं
श्रीमान्: दर कस्तो थियो?
श्रीमती: खोई गिलासमा राखेका थिए। 2/3 गिलास पिइदिएको, एकछिनमा झ्याम्म पार्नेरहेछ। त्यसपछि एकछिन जोसले नाचियो।
तीजका अवसरमा भन्दै तीज आउन भन्दा महिना दिन अगाडि देखि नै दर खाने/खुवाउने चलन बढ्दो छ। तर दाजुभाइ, आमाबुबा, माइतीले दिदी बहिनी वा छोरी चेलीलाई बोलाएर घरमा होइन । व्यापारिक संघसंस्थाले पैसा लिएर दरको टिकट बेच्छन्। टिकट किन्नुस र दर खानुस्।