Saturday, June 29, 2013

कुरान माथि टुथपेस्ट राखेकाले जेल

कतार जेलबाट भर्खरै रिहा भएर आएका नेपालीले भने, एकजना नेपाली कामदार एउटा पुस्तकमाथि टुथपेस्ट राखेर दाँत माझ्दै रहेछन्। उनले टुथपेस्ट राखेको पुस्तक संयोगले कुरान पर्न गएछ। अनि ती नेपाली अहिले कतारी जेलमा छन्। कहिले छुट्ने हो कुनै टुंगो छैन।
स साना कुराको ज्ञान नभएर कति नेपाली यसरी विदेशी जेलमा सडेका होलान्?

धन्न हिरो बन्ने सपना देखेर जोवन गएनछ?

धन्न यो Raanjhanaa भन्ने हिन्दी फिलिम ९० को दशकमा बनेनछ। नत्र त मेरो जोवन 'म पनि हिरो बन्छु' भनेरै जाने रहेछ। अनुहार उसको अलिक राम्रो होला, तर जिउ त त्यो बेलाँ मेरो जस्तो थियो त्यस्तै छ त फिलिमको हिरो धनुषको। हिन्दी फिलिममा कमै हुने कालो ख्याउटे, जीउमा कतै पोकापोकी नभएको, एक जनाले मुड्की हान्यो भने तीन हात पर पुग्ने जस्तो देखिने मान्छेलाई पनि हिरो बनाएको रहेछ यो फिलिममा। हिन्दी फिलिमको हिरो हुनलाई चाहिने गोरो अनुहार, जुल्फीवाला कपाल, सुडौलो शरीर र वलिष्ट हात पाखुरा केही देखिदैंन धनुषको।
अहिलेका कति युवाले पनि यो फिलिम हेरेर हिरो बन्ने सपना देखिरा' होलान् कि नाईं?

Thursday, June 20, 2013

पश्चिममा त घाम पनि डुब्न मात्र पुग्दो रहेछ

कोशीमा बाढी जानासाथ कलाकार, ठूला-साना मिडिया हाउस, NRN, खेलाडी, बैंकदेखि धेरैले सहयोग उठाउन पहल गरेको सम्झना छ। अहिले महाकाली र कर्णालीमा बाढी जाँदा चाहिँ ? पश्चिममा त घाम पनि डुब्न मात्र पुग्दो रहेछ।

Monday, June 17, 2013

न्यायाधीश सपथपछि पार्टी कार्यालयमा

अन्नपूर्ण पोष्टमा Madhav Dhungel ले लेख अनुसार- पुनरावेदन अदालतका नवनियुक्त १० जना न्यायाधीश आइतबार सपथ ग्रहण लगत्तै एमाले पार्टी कार्यालय बल्खुमा पुगेछन् र आफूहरुलाई न्यायाधीश बनाइदिएकोमा अध्यक्ष झलनाथ खनाललाई धन्यवाद दिएछन्।
न्यायाधीशहरु सपथपछि पार्टी कार्यालयमा पुग्ने देशमा जन्मने सौभाग्य पाउनुभएकोमा तपाईहरुलाई हार्दिक वधाई। बाँकी के राखेका छन् होला यहाँ नेताहरुले ?

Friday, June 14, 2013

बोर्डमा परेका विद्यार्थी खोज्दै सञ्चार माध्यम

यिनै रेडियो, टिभी पत्रपत्रिकाले पहिले SLC को बोर्ड प्रथाले विकृति ल्यायो। बोर्डिङहरु बोर्डमा विद्यार्थी पार्न लाखौं खर्च गर्न तम्सिए भने। सरकारले बोर्ड प्रथा हटायो। अहिले यिनै रेडियो, टिभी, पत्रपत्रिकाले को को बोर्ड आयो भनेर खोज्दैछन्। केही गरी सुख छैन यो संसारमा।

Tuesday, June 11, 2013

भ्रष्टाचार र रक्सीको नाता

लाउडा ताका लाख भ्रष्टाचारको समाचार आउँथ्यो, सुडान ताका करोड भ्रष्टाचारको कुरा आयो र अहिले त्रिशुलीका बेला अर्ब भ्रष्टाचारको खवर आइरहेको छ। भ्रष्टाचारको रकम बढे झैं नेपालमा भित्रिने रक्सी पनि महगिंदै गएको छ। पहिले १२/१५ सयको रेडलेबल, त्यसपछि ३५ सय/चार हजारको ब्ल्याक लेबल, अनि १३/१४ हजारको ब्लु हुँदै अहिले बोतलको ९९ हजार पर्ने रक्सी भित्रियो रे नेपालमा । रक्सी र भ्रष्टाचारको नाता गज्जब हुँदोरहेछ, जति भ्रष्टाचार बढ्दै जान्छ उति मह‌ंगो रक्सी नेपाल भित्रिदैं जान्छ।