Wednesday, May 30, 2012

अब कति वर्षलाई चुनाव ?

एउटा कुरा नि बाबुरामले भन्न बिर्से कि मैले सुनिन कुन्नि? बाबुरामले फेरि संविधानसभाको चुनाव गराउने कुरा त गरे। तर त्यो भोट उनले कति वर्षका लागि मागेका हुन् साँच्चै? दुई वर्ष कि अहिले झैं चार वर्ष कि अझ त्यो भन्दा धेरै ? अनि फेरि ६०१ जनालाई नै चुन्ने हो हाम्रो भोटले ?

Monday, May 28, 2012

संविधानसभा भंग पछिको बाटो


कहिलेकाहीँ स्थिति कसैको पनि काबुमा हुँदैन र कसैले नचिताएको कुरा हुन जान्छ। संविधानसभा भंग पनि नेपालमा त्यस्तै हुन गयो। हुनुपर्ने /नहुनेपर्ने जे जे भए पनि समयले कसैलाई पर्खदैंन। त्यसैले फेरि भविष्यलाई कसरी लाने भन्ने योजनामा लागिहाल्नुपर्छ। संविधानसभा भंग भएपनि  अब हामी समक्ष दुई वटा बाटा छन्।
मिलेर जाने र अर्को  नमिलेर जाने।
अब मिलेर जाने हो भने प्रधानमन्त्री वा राष्ट्रपतिको अगुवाईमा सर्वदलीय छलफल हुनुपर्छ। छलफलपछि प्रधानमन्त्री बाबुराम भट्टराईले राजिनामा दिनुपर्छ। प्रमुख दलहरुकै सहभागितामा नयाँ सहमतिको सरकार बन्नुपर्छ र त्यो भट्टराईकै  कै नेतृत्वमा भए पनि हुन्छ नभए अरु कसैको। र, त्यसले सहमतिको आधारमा संविधानसभा निर्वाचनको नयाँ मिति (यही मिति मंसिर ७ गते बिहीबार पनि हुनसक्छ) घोषणा गरी चुनाव गराउनुपर्छ।
नयाँ चुनावका लागि निर्वाचन सम्बन्धी कानूनहरु बनाउनुपर्नेछ। नभए नयाँ मतदाताले मतदान गर्न पाउँदैनन्। कति सदस्यीय संविधानसभा निर्माण गर्ने र त्यसले संविधान निर्माणका लागि कति लामो समय पाउने भन्ने विषयमा छलफल हुनुपर्नेछ।
चुनावले जनतालाई बलियो बनाउँछ। मतदाताहरु पक्कै सचेत छन् र आउने चुनावमा केही नेताहरुलाई छानीछानी पराजित गर्नेछन्। बरु सबैको ध्यान निर्वाचन निष्पक्ष गराउने र निर्धक्क भएर मत खसाउन सक्ने वातावरण निर्माण गर्नेतर्फ हुनुपर्छ।
तर डर त नेताहरु नमिलेर जालान्, राष्ट्रपति र प्रधानमन्त्रीबीच शक्ति संघर्ष होला। चुनावको घोषणा गर्ने तर जातीय वा क्षेत्रीय नाममा साम्प्रदायिक हिंसा फैलाएर देशको कुभलो चिताउनेको मनोकामना पुरा गरिदेलान् भन्ने छ।

कति आशावादी हुन् सभासद्

सान्त्वना प्रकट गर्न एक जना सभासदलाई फोन गरेको उल्टो सम्झाए, 'बिर्सेउ र भाइ! पहिले पनि शेरबहादुर देउवाले भङ्ग गरेको प्रतिनिधिसभा आन्दोलन गरेर पुनः स्थापना भाथ्यो। अहिले आत्तिहाल्न पर्दैन भोलिपर्सी फेरि पुरानै संविधानसभा पुनःस्थापना गर्न पर्यो भनेर आन्दोलन हुनसक्छ।' राजनीतिको कुरा, के पो असंभव छ र अझ फेरि हाम्रो छिट्टै पुराना कुरा भुल्दिहाल्ने र माफी दिने बानी छ। अनि कति आशावादी हुन् यी सभासद्।

सगरमाथा चढेर संविधान नआउने रैछ

ई..... सगरमाथा चढेर त शान्ति र संविधान नआउने रैछ भो। (नोट: प्रचण्ड पुत्र प्रकाश दाहाल शान्ति र संविधानका लागै भन्दै सगरमाथाको आरोहण गरे। तर पनि यता भने संविधान आएन।)

संविधान आउँदैन भनेर त मैले त सुरु मै भनेको थिएँ नि

अब फेरि कति जना उडन्ते विश्लेषकहरुको भनाइ सुन्न पर्ने भयो 'मैले त सुरु मै भनेको थिएँ नि यो संविधानसभाले संविधान दिनै सक्दैन भनेर।' तर मलाई थाहा छ ती तिनै विश्लेषकहरु हुन् जसले पाँच वर्ष अगाडि संविधानसभाको चुनाव नै हुँदैन भन्थे र तिनैले ४ वर्ष अगाडि गणतन्त्र आउनै सक्दैन भन्थे।
कहिलेकाहीँ त त्यस्ता भविष्यवाणी मेरो छिमेकी ज्योतिषले गरेको नि मिल्छ। जो अन्त कहिँ काम नपाएपछि ३ महिने एउटा ज्योतिषको संगत गरेर फर्केर त्यही काम गरिरहेका छन्। उनले प्रायलाई एउटै भन्छन् - तपाइको मन चञ्चल रहेछ। केही कुरामा थिर भएर बस्दो रहनेछ। मनमा कुरा खेलिरहनेरहेछ।

सभासदहरु प्रति दया लागेर आयो

जीन्दगानीमा सभासदहरु प्रति साह्रै दया लागेर आयो अहिले ठ्याक्कै संविधान सभाको मृत्यु भएको अवस्थामा। बिचराहरुले संविधानसभा मृत्युको खवर पनि रेडियो र टिभी सुनेर थाहा पाउनुपर्ने भो। कमसेकम संविधानसभा अध्यक्षले सभासदहरुलाई बोलाएर बैठकमा बोल्न मन लाए जति बोल्न दिनुपर्ने थियो।

Saturday, May 26, 2012

संघीय प्रदेश बनेपछिको बन्द

महिनौं दिनका बन्दबाट वाक्क भएका मोफसलका नेपालीहरुले भोलिपर्सी संघीय प्रदेश बनेपछि आ-आफ्नो प्रदेशमा बन्द गर्न नपाइने र बन्द गर्नै गरी केही माग गर्न परे केन्द्रीय राजधानी गएर त्यहीं बन्द गर्नेपर्ने नियम बनाउलान्। भविष्यको नेपाल...

जान्नेले संघीयताबाट पनि पैसा कमाउँदै छन्

ए! संघीयताको बिबादमा अहिले कतिले त पैसा पो जम्मा पारिरा' रैछन्। बहिनीको गाउँबाट फोन आयो - गाउँलाई प्रादेशिक राजधानी बनाउन आन्दोलन गर्ने भन्दै घरघरबाट पाँच/दश हजार रुपैया उठाइरहेका छन् रे। अन्तका बजारहरुमा पनि प्रादेशिक राजधानी बनाउने भन्दै जान्नेले कति कति पैसा उठाइरहेका छन् होला? अझ प्रदेशै बनाउनका लागि आन्दोलन भन्दै पनि पैसा जम्मा गरिराका होलान्। आखिर राजधानी आफ्ना गाउँ/बजारमा होस् भन्ने मन कसलाई हुन्न र? रोगडा भेला पार्ने अनेक अनेक उपाए निकाल्छन् केटाहरु...

Friday, May 25, 2012

आखिर संविधान बनाउने यिनैले हो

सर्वोच्चको फैसलापछि संविधान आँफैले बनाउन पाइयो झैं गरी मानिसहरु तीन हात बित्ताको बुर्कुसी मारिरेहका छन्। तर 'संविधानसभा'ले बनाउने भनिएको संविधानको बाँकी भाग अब संसदले बनाउने भयो। के फरक भो? आखिर बनाउने यिनैले हुन्, प्रधान न्यायाधीश खिलराज रेग्मी आएर बनाइदिने होइनन्। धेरैले चिन्ता गर्ने गरेको सभासद (पर्सीबाट सांसद)को तलबभत्ता पनि सभासद हुँदा धेरै संसद हुँदा कम हुँदैन होला। जनता र अदालत संविधानसभा भंग भो भनेर मख्ख, सभासद संसद भइयो भनेर मख्ख, ठूला साना नेता आखिर संविधान बनाउने हामी नै हौं भनेर मख्ख। Win win situation भनेको यस्तै होला?

नेता बोलीमा एकछिन पनि अडिग हुन्नन्

आजभोलि फेसबुक भन्दा टि्वटर https://twitter.com/#!/dipakbhattarai चल्तीमा छ जस्तो छ। एकजनाले त्यसमा लेख्याथे: 'माधव नेपालले पहिलोपटक कुनै शिर्ष नेताका बारेमा टिप्पणी गर्दै सत्य बोलेका थिए त्यही नि फेरि २४ घन्टा नहुँदै माफ मागेछन्।' नेताहरु गतिलो कुरामा त एकछिन पनि टिक्नै सक्दैनन् किन हो? (हास्नुपर्ने कारण धेरै छन् हा हा हा....)

Thursday, May 24, 2012

प्रचण्डको डेरा

‎'प्रचण्डले नयाँबजारबाट लाजिम्पाट डेरा सर्‍या होइन सारिएको रहेछ लैनचौरबाट नजिक हुन्छ भनेर' - लास्टै जोक गर्छन् साथीभाइ।

Wednesday, May 23, 2012

सरकारले दिन सक्ने र नसक्ने

सरकारले दिन नसक्ने भनेको रोजगार, स्वास्थ्य उपचार, सुलभ र गतिलो शिक्षा, बिजुली, पानी, इन्धन, मल आदि रहेछ। पहिचान, राज्य, आरक्षण, आदीबासी जे माग्नोस् दिन तयार छ।

Tuesday, May 22, 2012

बन्दको रोग त पत्रकारमा पनि सरेछ

पत्रकारहरु माथि आक्रमणको विरोध भन्दै मंगलबार बुटवलका पत्रिका र एफएममा समाचार बन्द भयो। बुधबार र बिहीबार झापाबाट प्रकाशित हुने पत्रिका बन्द गर्ने निर्णय भएछ। बन्दको रोग त पत्रकारमा पो सरेछ...

Monday, May 21, 2012

मायाले अगाडि बन्द

मेरो घर छेउ बस्ने लैलालाई भेट्न एकजना मजनु RAV 4 जिपमा आइरहन्छन्। कान्छीलाई महिनाको १२ हजार रुपैयाँ पर्ने फ्ल्याट लिएर भाडामा राखेको भनेर कानेखुशी हुन्छ छिमेकमा। आजको यस्तो बन्दको (प्रेस र एम्बुलेन्सलाई पनि नछाडेका) दिन पनि उनी जिप लिएरै आए। नतमस्तक भएँ प्रभु....

११ प्रदेशले मर्का पर्ने भो

यो सहमति भयो भनिएको ११ प्रदेशको प्रस्तावले त मलाई साह्रै मर्का पर्ने भो। घर छ नवलपरासी जिल्लाको पहाड डेढगाउँमा। नुन तेल र बिहेबारीको सामान लिन तनहुँ र पोखरातिर पाइपर्छ। अहिले नवलपरासी जिल्लालाई बाँके-बर्दीयासँग लगेर जोडदिएछन्। जिल्ला सदरमुकाम परासी जान भन्दा अहिले त काठमाडौं आउन नजिक छ। भोलिपर्सी प्रदेशको राजधानी दाङ वा नेपालगञ्ज पुर्याए भने झन् के हाल हुनेहोला। यति बोलुँ संघीयता बिरोधी भन्देलान्। नबोलुँ आफूलाई मर्का परेको कुरो।

शुभकामना हजुर्बा .

अफिस आउँदा चक्रपथ परिक्रमा गर्ने बसको मसँगैको सिटमा अमेरिकामा ९ वर्ष काम गरेर फर्केका ७१ वर्षीय युवा भेटिए। वनस्थली घरमा एक्लै बस्दा दिक्क लागेर रिङरोडको बस यात्रामा निस्केका। उनको सर्टकर्ट कुरा: 'श्रीमती जेठो छोराको परिवारसँग अमेरिकामै बस्छु भनी, आउनै मानिन। कान्छो छोरा अमेरिकामै जर्मनी केटी बिहे गरेर जर्मन तिर लाग्यो। छोरी युकेको ज्वाइसँग उतै छे। मलाई उता बस्नै मन लागेन, म त यो उमेरमा एक्लै परें, त्यसैले अर्की बिहे गरौं कि भनेको अरुले जे सुकै भनोस्।' शुभकामना हजुर्बा ..

अर्को चुनावमा केही नेतालाई हराउनैपर्नेछ

‎'मिसप्लेस' भएको नागरिकता भेटिएपछि भोटर कार्ड बनाउनका लागि काठमाडौं निर्वाचन कार्यालय गएको थिएँ। मान्छेहरु दुई तीन घन्टा लगाएर लाइनमा बसी फोटो खिचाइरहेका थिए। एकजनालाई सोधें, नेपालीलाई अझै राजनीतिबाट वाक्क ला'रैनछ हगि। उनले भने, 'अर्को चुनावमा केही नेतालाई हराउनैपर्नेछ त्यही भएर भोट हाल्नु पर्नेभो।'
तिनी कुन जिल्ला कुन क्षेत्रका मतदाता भनेर सोध्नै बिर्सेछ। कसलाई हराउन खोजेका रैछन् कुन्नि ?

Friday, May 18, 2012

कति लामो होला राष्ट्रपतिको मतपत्र

‎'राष्ट्रपतिको उम्मेदवार हुन कति उमेर चाहिने गराए कुन्नि?' एक जनाले सोधेका। पहिलो प्रत्यक्ष राष्ट्रपतिको उम्मेदवार हुन मन छ अरे हारेपनि। यसो सोचिरहेको, जो पनि उम्मेदवार हुन पाउने अवस्थामा कति लामो हुन्छ होला राष्ट्रपतिको मतपत्र। देशभरीमा मिनिममै पाँच सय जना त राष्ट्रपतिको उम्मेदवार हुन खोज्लान् नि।

Tuesday, May 15, 2012

फेसबुकमा मेरिज एनिभर्सरी विज्ञापन

मान्छेहरुलाई जन्मदिनको शुभकामनाले मात्र नपुगेर हो कि के हो कुन्नि आजभोलि फेसबुकमा श्रीमान्/श्रीमतीको बिहेको फोटो राखेर हाम्रो बिहे भएको यति वर्ष भयो भनेर लेख्ने चलन बढ्या जस्तो लाइराच। कुन दिन जुकरवर्गले फेसबुकको दाइने कुनामा बर्थडे सँगसँगै मेरिज एनिभर्सरी डे पनि राख्दिन्छन् भन्ने हाम्लाई लाइराछ...

कत्रा ढुङ्गा हुन् खानामा?

कत्रा ढुङ्गा हुन् खानामा? शहरमा मान्छेले चामलमा हाल्ने सेता ढुङ्गा र दालमा हाल्ने दालको रङ अनुसारको कालो/रातो ढुङ्गा- माटोको कारखाना नै खोलेर पनि व्यापार गर्छन् कि के हो? ...दाँत धन्नै भाँचिएन।

प्रदेशको राजधानीका लागि कति मारमुङ्ग्री पर्ने होला?

एउटा अस्पताल होस् कि विश्वविद्यालय वा रंगशाला नै किन नहोस् कुनै क्षेत्रमा पर्दा त यो र त्यो ठाउँमा भन्नेमा बिबाद गरी बन्द प्रदर्शन हडताल आयोजना गरेर दुई चार जनाले ज्यान फाल्ने हामीहरुलाई भोलिपर्सी साँच्चै राज्य बाँडेर दिए भने यो ठाउँमा र त्यो ठाउँमा राजधानी चाहियो भनेर कति जनाले ज्यान फालिन्छ होला ? आजभोलि वीरगञ्ज र विराटनगर मा त प्रादेशिक राजधानी चाहियो भनेर आन्दोलन हुन थालिसक्यो।

अखण्ड सुदुरपश्चिमै भइहाले पनि त्यहाँ राजधानी धनगढी, महेन्द्रनगर, दीपायल कि डडेल्धुरा कहाँ राख्ने भनेर कति मारमुङ्ग्री पर्ने हो फेरि।

Sunday, May 13, 2012

सञ्चार माध्यममा विभत्स भिडियो र फोटो

जापानमा पोहोर आएको सामुन्द्रिक आँधीले २० हजार भन्दा धेरैको ज्यान गयो तर कुनै पनि जापानी मिडियाले एउटा पनि शव देखाएन रे। हाम्रोमा हिमपहिरोपछि सेती नदीमा आएको बाढीबाट मृत्यु हुनेको ३० जना जतिको शब भेटिएको छ। तर फेसबुक, वेवसाइट र टिभीमा शब देखाउनेकै होड छ।
प्राकृतिक विपद्‍मा परेर बितेका तिम्रो साथी, दाजु-भाइ, दिदी-बहिनी, आमा-बाबु वा इष्टमित्रको क्षतविक्षत शब फेसबुकका वाल, टिभी र पत्रिकाभर आएको तिमीलाई मन पर्छ? तिमीलाई आफ्नो आफन्तको क्षतविक्षत शबको चित्र मन पर्दैन भने अरुलाई पनि मन पर्दैन।

उपप्रधानमन्त्री मण्डल

माओवादीका नारायणकाजी, मधेशी मोर्चाका गच्छदार र काँग्रेसका सिटौला उपप्रधानमन्त्री भइसके। अहिले घुर्क्याए नि एमाले सरकारमा गए भने उप प्रधानमन्त्री चार जनाको हुने पक्कै भो। अझ साना दलहरु पनि सरकारमा जाने भए भने पाँच जना उपप्रधानमन्त्री हुने भए। दलहरुले सहमतिको मन्त्रिमण्डल होइन उपप्रधानमन्त्रिमण्डल पो बनाउने सहमति गरेका रैछन् क्याहो ?

सजिलै पेट्रोल

अफिस आउनासाथ हानिदैं कोठाँ आएर साथीले सुरुमै पत्रिका मागे र राशीफल हेरे, किन हो भनेर सोधेको आज लाइनमा नबसी पेट्रोल पाए रे। हाँस्नुपर्ने कारण धेरै छन् हा हा हा...

Thursday, May 10, 2012

काठमाडौं बाहिरको नेपाल हैन?

यी कुटनीतिक नियोगकाहरुलाई पनि काठमाडौं मात्र नेपाल लाग्दो रहेछ कि के हो? एक दिन कसैले काठमाडौं बन्द आव्हान गर्दा भिसा बन्दसम्मको ध्वाँस दिनेहरुले १५ दिनदेखि सुदुरपश्चिम बन्द छ, पूर्व पनि चार दिनदेखि बन्द छ। जेठ १४ सम्म अझ बढ्दै जाँदा कति कति दिन काँ काँ बन्द हुने हो। चुँइक्क क्यै बोलेका छैनन् त...

Sunday, May 6, 2012

मिस नेपाल पनि मध्य रातमा

सप्पै महत्वपूर्ण घोषणा र सहमति मध्यरातमै गर्ने राजनीतिक नेताहरुको बानीबाट सिकेर होला मिस नेपाल आयोजकहरुले पनि यसपालीको मिस नेपालको घोषणा मध्यरातम मै गर्ने भएछन् । मिस नेपाल कार्यक्रम राती ८:३० बजे सुरु हुने भएपछि नतिजा त पक्कै मध्यरातमा मात्रै आउला।

Saturday, May 5, 2012

मन्त्री बन्न छाडेर संविधान

अबको तीन सात्रा भित्र दुई दुई वटा सरकार; अझ एउटा त एक वर्षभित्र चुनाव गराउने भनिएको र चुनाव हुने परिस्थिति नभए वर्षौं लम्बिने सरकार बन्ने सहमति भाको बेलामा देशका गिनेचुनेका नेताहरु मन्त्री बन्ने लाइनमा लाग्न छाडेर संविधान बनाउन तिर ध्यान देलान् र २०/२२ दिनभित्र संविधान बन्ला भनेर म जस्तै पत्याएर बस्नेहरु कति छौं होला?

Thursday, May 3, 2012

भारतीय राजदूत जी मन्त्रालय पनि भाग लगाइदिनुहोला

महामहिम भारतीय राजदूत जयन्त प्रसाद जी, सहमतिको सरकार र संविधान बनाउने दलहरुको बुधबारको शिर्षस्थ बैठकमा यहाँ सक्रीय हुनुहुन्थ्यो भन्ने समाचार विहीबारको कान्तिपुर दैनिकमा पढ्न पाइयो। अब कृपा गरेर यहाँले मन्त्रालय पनि भाग लगाइदिनुहोला नत्र फेरि कसलाई गृह, कसलाई अर्थ, कसलाई रक्षा भन्दै मन्त्रालयमै झगडा गरेर यिनीहरुले बाँकी २०/२२ दिन सकाइदिन्छन्। कस कसलाई कुन कुन मन्त्री/मन्त्रालय दिदाँ तपाइको हित हुन्छ त्यो तपाइलाई पनि थाहै छ र मह काढ्नेले हात चाट्छ भन्ने उखान हामीलाई पनि थाहा छ।

Wednesday, May 2, 2012

कसले फुक्यो नेताहरुको कान


चमत्कारिक रुपमा सहमतिको नजिक पुगेका भनेका दलहरु कतै संविधान जेठ १४ सम्म लेख्छन् कि जस्तो भाको थियो। फेरि नाटकीय रुपमा कताबाट सरकार फेर्ने राप आयो। दलहरु संविधान लेखन छाडेर सरकार फेर्ने र टिकाउने तिर केन्द्रीत हुन थाले झैं भाछ।
हात्तीवन रिसोर्टमा सात आठ प्रदेश र मिश्रीत शासकीय स्वरुपमा सहमत हुन तयार भनिएका प्रचण्ड कुनै अदृश्य शक्तिले गर्दा हो कि १० वा १४ प्रदेशतिरै र राष्ट्रपति प्रणालिमा फर्के।
अर्कातिर कुन अदृश्य शक्तिले गर्दा हो केपी ओली र रामचन्द्र पौडेलहरु संविधान छाडेर सरकार फेर्नतिर लागिरहेका छन्। कतै नेपालमा शान्ति पनि आउने भो संविधान पनि बन्ने भो भनेर अतालिएका कुनै अदृश्य शक्तिले माओवादी, काँग्रेस र एमालेलाई छुट्टाछुटै कान भरिदिएर ल्हासा जान कुतीको बाटो त देखाइरहेको छैन।
त्यो अदृश्य शक्तिले प्रचण्डलाई प्रदेशको संख्यामा सम्झौता गरे तपाइको पार्टीको पकड जनजातीमा गुम्छ र तपाई राष्ट्रपति त के अर्को चुनावमा एमालेको संविधानसभाको जस्तो हविगत हुनसक्छ भनिएको हुनसक्छ। काँग्रेस-एमालेलाई अहिल्यै सरकार विरुद्ध अविश्वास प्रस्ताव ल्याए माओवादी फुट्छ र अर्को चुनावमा तिमीहरुको बहुमत आउँछ भनेर त्यही अदृश्य शक्तिले कान भरेको हुनसक्छ र त्यो शक्ति आफू भने जनकपुरमा वम विष्फोट गराएर मख्ख परिरहेको हुनसक्छ।