Tuesday, September 27, 2011

साँच्चै किरा पर्ने भए

फोटो इकान्तिपुर
गतिलो शुद्ध कुरा खान पाएको भए पो गतिलो कुरा खेल्थ्यो र दिमागमा, अब काठमाडौंमा सँधै कुहेको कुरा खाइदै आएको रहेछ। अनि त्यस्तै कुरा खेल्छ मेरो दिमागमा त। '..र्कीले भन्दैमा गाउँको कोरेली भैंसी मर्छ र ?' भन्ने आहान खुब चल्थ्यो हाम्रो घरतिर। भ्रष्टाचारीलाई साँच्चै किरा पर्ने भए यी मध्ये धेरैको अनुहार कस्तो हुँदो हो भनेर सोचिरहेको छु म त...

गाउँकाले राहत लिन कहाँ जाने हो ?

मेरो घर नवलपरासीको पहाडी भेग डेढगाउँबाट फोन आयो, 'प्रधानमन्त्री हुने बितिकै बाबुराम भट्टराईले चामलमा ५ रुपैयाँ, चिनीमा ३ रुपैयाँ दालमा कति रुपैयाँ हो, राहत दिने भनेका थिए। तर गाउँका पसलमा भाउ घटेको छैन, सदरमुकाम जान एक/डेड दिन लाग्छ, अनि विकासे मलको भाउ पोहोर भन्दा किलैमा १०/१२ रुपैयाँ धेरै छ। त्यो राहत कहाँ कुन पसलमा पाइन हो बुझ्दिन परो' रे। 'राहतको घोषणा कागजमा र काठमाडौं तथा शहरकालाई मात्र त होइनहोला' भन्दैछन्।

मौसमविद‌लाई जमलमा पौडी खेलाउनुपर्ने

मंगलबारबाट काठमाडौंमा वर्षा रोकिन्छ भनेर पत्रिका/रेडियो/टिभीहरुमा कोट दिने को को थिए कुन्नि मौसमविद्हरु ? साँझ जमलमा ल्याएर पौडी खेल्न लगाउने पर्ने थियो। मौसमविद्लाई पत्याएर छाता नलिइकन बाहिर निस्कियो मुसो चुटाइ भो मेरो त....

Monday, September 26, 2011

दशैं सबैभन्दा नरमाइलो


"दशैंमा सबभन्दा नरमाइलो लाग्छ," विकासे डकुमेन्ट्री खिच्न  परार साल चितवनको माडी पुग्दा मुना गुरुङले भनेकी थिइन्। नौ वर्षदेखि जतन गरिराखेको एल्बमका फोटो हेर्दै गरेको उनको भावनात्क दृश्य डकुमेन्ट्रीका लागि राम्रो सट हुँदै थियो। अझ त्यसमा मुनाको आँखा रसाएको दृश्य थप्न पाए। अरुको भावनालाई विक्री गर्ने मेरो पत्रकार मन स्वार्थी हुँदै थियो। आँसु झार्ने आशाले मैले सोधेको थिएँ, "सबैभन्दा नरमाइलो कहिले लाग्छ?"

Saturday, September 24, 2011

भुकम्पपछि आएका मेसेज

गत साता आइतबार नेपाल, भारत सिमानामा भुकम्प गयो। त्यसको भोलिपल्ट बिहान दुईवटा मेसेज आएको थियो।
१) खासमा भुकम्पको केन्द्रबिन्दु ताप्लेजुङ घुन्सामा हो। तर वुद्ध जन्मस्थल आफ्नातिर पर्छ भनिरहेको, विभिन्न स्थानमा नेपालको सिमाना मिचिरहेको भारतले हुँदा हुँदा भुकम्पको केन्द्रबिन्दु पनि आफ्नैतिर भनिरहेको छ, यसको विरोधमा टायर बाल्ने कि ?
२) हाम्रो नेपालमा नेता देखि गुण्डासम्म जे पनि इंडियाले पठाउने! हुँदा हुँदा अब भूकम्प पनि इंडियाले नै पठायो। यसमा ठुलो षड्यन्त्र भएको देखिन्छ! यसको विरोधमा टायर बाल्ने कि ?
(तत्काल नबाली हालौं होला। सत्यतथ्य बुझ्दै गरौं न पहिले...)

भट्टराईलाई भेट्न पाए दबाब दिनुहोला

राष्ट्रसंघमा भाग लिन गएका प्रधानमन्त्री बाबुराम भट्टराई अहिले अमेरिका न्यूयोर्कमा छन्। पहिले पहिले राजाहरु विदेश भ्रमणमा जाँदा त्यो बेलाको शाही नेपाल वायुसेवा निगमको बोइङ जहाज नै लिएर जान्थे। त्यसको कति भाडा अझै पनि वायु सेवा निगमले पाएको छैन। अरु पूर्व प्रधानमन्त्रीहरु, मन्त्रीहरु विदेश भ्रमणमा जाँदा जहाजको बिजनेस क्लासमा जान्थे, जसको भाडा सधारणतया इकोनोमी क्लासको भाडा भन्दा दोब्बर हुन्छ। तर यसपटक प्रधानमन्त्री भट्टराईले मितव्ययी यात्रा गर्ने भन्दै इकोनोमी क्लासमा यात्रा गरेका छन्।

Thursday, September 22, 2011

विपश्यना अनुभव

दशैं नजिकै आउँदै गर्दा पोहोर साल दशैंको सम्झना आयो। पोहोर दशैंमा विपश्यना शिविरमा जानका लागि नाम लेखाए पनि मेरो नाम प्रतिक्षासूचीमा थियो । महिनाका दुई चोटि हुने अरु बेलाका शिविरमा करिब सय जनामात्र सहभागी हुने भए पनि दशैंका बेला बिदा पर्ने भएकाले शिविरमा जान तीन सय ५० जतिले नाम टिपाएका थिए। शिवपुरीको फेदीमा रहेको शिविरस्थलमा एकपटकमा दुई सय ८० भन्दा धेरैले ध्यान गर्न नमिल्ने रहेछ। प्रतिक्षासूचीमा नाम भएकाले  विपश्यना जाने दिन मध्यान्ह १२ बज्नासाथ घरबाट ध्यान केन्द्रको सम्पर्क कार्यालय ज्योतिभवन कान्तिपथ लागेँ ।

Wednesday, September 21, 2011

लेदो पाइएको रियल जुसलाई के कारबाही भयो कुन्नि

जसरी आजभोलि खाद्य पदार्थमा मिसावट भएको समाचार, अखाद्य पदार्थ खाद्य पदार्थ मिसाएको समाचार आइरहेको छ त्यस्तै समाचार करिब ५/६ अगाडि पनि खुब आएको थियो, 'रियल जुसमा लेदो, लेउ के के पाइयो' भन्ने। आजभोलि रियल जुसमा मिसावट भएको समाचार पढ्न, सुन्न, हेर्न पाइएको छैन। तर रियल जुसमा लेदो-लेउ पाइएकोमा कारबाही चाहिँ के भयो भन्ने पनि सुन्न जान्न पाइएको छैन।

योगाले फिजियोथेरापीको व्यवसाय बढायो

केही गतिलो काम त गर्न थाल्यो कि केटाहरुले के के सुनाउँछन् सुनाउँछन्, योगामा जान थालेको साता दश दिन जति भा'छ। घुँडो खुस्क्याएर फिजियोथेरापीमा गइरेहको एउटा साथीले आज सुनायो - वुझिस् फिजियोथेरापी गर्न आउने धेरै त योगामा गलत तरिकाले जिउ मर्काउने र तास खेल्दा ढाड सड्काउने हुँदारहेछन् नि, दशैमा तास खेल्दाको र योगाको गलत आशनले फिजियोथेरापीको बजार बढ्यारहेछ...(हास्नुपर्ने कारण धेरै छन् हा हा हा...)

एम्बुलेन्समा रक्तचन्दन तक्सरी गर्नेलाई..


मान्छेको मनमा 'हरि' नभएपछि के गर्ने ? एम्बुलेन्समा रक्तचन्दन हालेर तस्करी गर्नेले अरु के विधि छोडेका होलान् र तस्करी गर्नका लागि यो देशमा। के अब विरामी राखेको हरेक एम्बुलेन्स प्रहरीले चेक गर्ने ? रक्तचन्दन तस्करीलाई कति सँजाय हुन्छ कुन्नि तर एम्बुलेन्सलाई बिना अवरोध चल्ने वातावरण बनाउनका लागि पनि तस्करीमा एम्बुलेन्सको प्रयोग गर्नेलाई नेपालमा भएको मध्ये सबैभन्दा ठूलो सँजाय हुनुपर्छ/होस्...

Tuesday, September 20, 2011

कुहेको कुरा खानेको बुद्धि पनि त्यस्तै त होला

पानी, मिठाई, दुध, मसला, तेल, गुँदपाक के के मा हो मिसावटको कुरा आइराथ्यो हिजोसम्म आज के मा मिसावटको समाचार आयो कुन्नि ? राष्ट्रपति 'राम' वरण, प्रधानमन्त्री बाबु 'राम', प्रतिपक्षी नेता 'राम' चन्द्र, कस्तो 'राम' राज्य भयो हो यो ? कलियुगमै भए पनि 'राम' हरुले हरामलाई जित्लान् नि, नभए त यस्ता मिसावट भाको चिजले हामी मानिसलाई पनि मिस्कट जस्तो बनाइदिन्छ होला ...

'सरकारले भुकम्प किन रोक्न सकेन'

सभासदलाई उडाएको कि साँच्चै भनेको हो ? Kiran Nepal को स्टाटसको एक लाइनले खुब हँसायो आज, सभासदहरुले आजको संसदमा भने रे 'यो सरकारले भुकम्प किन रोक्न सकेन'। (सभासदहरु छन् र हाँस्न पाइएको छ। हाँस्नुपर्ने कारण धेरै छन् हा हा हा....)

Monday, September 19, 2011

भारतीय राजदूतले शिष्टाचार सिकुन्

नेपालका लागि भारतीय राजदूत जयन्त प्रसादले आफ्ना प्रधानमन्त्रीबाट पनि केही कुरा सिकुन्। मर्यादा, भद्रता र शालिनता कुटनीतिज्ञहरुले जान्नै पर्ने कुरा हो। (फोटो मिलान र शब्द स‍योजन कार्टुनिस्ट राजेश के सी)

Sunday, September 18, 2011

सुई लगाएको फर्सी

यो मिठाई, गुँदपाक, दुध, माछा-मासु काण्डपछि एक जनाले सुनाए - फर्सी किनेर फ्रिजमा हालेर राखेको रे। भोलिपल्ट काट्न खोज्दा त अलिक ठूलो देखियो, अनि जाँच्न भनेर अर्को दिन पनि राखेको, झन् ठूलो भयो रे र तीन दिनपछि कुह्यो रे, पक्का पनि फर्सी ठूलो बनाउने सुई दिएको हुनुपर्छ भन्दैछन्। साँच्चै भाको कुरा हो कि मान्छे विघ्नै शंकालु बनेर त्यस्तो देखेको हो कुन्नि...

Saturday, September 17, 2011

जे.डी. ले दुःख दिएपछि


'यो जग्गा बिक्रीमा छ भनेर' सम्पर्क गर्ने फोन नम्बरसहित विज्ञापन टाँसेको त खुब धेरै ठाउँमा देखेको हो। तर  पुतलीसडक चोक काठमाडौंमा 'यो जग्गा बिक्रिमा छैन, अनावश्यक कष्ट नगर्नुहोला' भनेको विज्ञापन पनि देखियो। जग्गाको भाउ साउ सोधेर कति दिक्क लगाइदिएका थिए होलान्, अनि यस्का छिमेकीले हो कि साहु आँफैले पनि जग्गा बिक्रीमा छैन भनेर पनि विज्ञापनै टाँस्न परो। कारोबारमा मन्दी भन्दै गरे पनि शहराँ जेडी (जग्गा दलाल) को जो बिगबिगी छ...

Thursday, September 15, 2011

पार्टीले कहाँबाट तिर्छ हेलिकप्टर भाडा ?

प्रधानमन्त्री बाबुराम भट्टराईले पार्टीको काममा हेलिकप्टर चढी गोरखा गएको पैसा सरकारले नदिएर पार्टीले दिने भनेछन्। तर मलाई लागेको,  त्यो पैसा पार्टीले चाहिँ कहाँबाट दिन्छ भन्ने हो वा पार्टीलाई कसले पैसा दिन्छ भन्ने हो ?

सर्वाहाराको पार्टीमा लेबी तिर्ने कार्यकर्ता त कति पो छन् होलान् र। भएनै पनि सर्वहारा कार्यकर्ताले दिएको पैसा हेलिकोप्टरमा किन खर्च गर्ने ? भ्याट छल्ने व्यापारी, ढल मिसाएको गुँदपाक-मिठाइ बेच्नेले पार्टीलाई दिएको चन्दाबाट हेलिकोप्टर भाडा तिर्ने हो भने त तिनले घुमाइ फिराई हामीसँग त्यो पैसा उठाउँछन्..

Tuesday, September 13, 2011

पोखरामा 'बफेलो पेन्टिङ'


'बफेलो पेन्टिङ' पोखरा लेकसाइडमा देखेको। भैंसीको जीउमा जुम्रा धेरै पर्यो रे, भेटनरी डाक्टरले भैंसीलाई पहेंलो पेन्ट लाइदिनोहोस् जुम्राको भागाभाग मचिन्छ भनेसी आमा छोरा मिलेर भैंसीको जीउलाई क्यानभास बनाइराथे भने बोरालाई पेन्टिङ बुरुस...

Saturday, September 10, 2011

विदेशमा सभासद देख्नासाथ फर्काइदिम्न साथी हो !

अस्ति नै विभिन्न जिल्लामा जस्तै देश बाहिर पनि सभासद पुगे त्यहाँका नेपालीहरु मिलेर ती सभासदलाई 'तुरुन्त देश फर्किहाल्नुहोस र संविधान बनाइहाल्नुहोस्' भनेर दबाब दिने अभियान चलाउने कुरा भाथ्यो। तर विदेशबाट दबाब पाएका कारण कोही सभासद अहिलेसम्म फर्केर आए झैं मानेको छैन। कहिँ पढ्न पनि पाइएको छैन।

Thursday, September 8, 2011

भन्ने निषेधित गर्ने चाहिँ खुलमखुल्ला


पोखराबाट जोमसोम उड्नु अगाडि विमानस्थलका भित्ताहरु यताउति हेर्दै थिएँ। पर्यटन बोर्डले प्रकाशन गरेका विभिन्न भावका नेपाल चित्रण गर्ने पोस्टरहरुसँगै यात्रु प्रतिक्षालयको एउटा खम्बामा मुस्ताङमा प्लास्टिक झोला प्रतिवन्धको सूचना पनि थियो।

पेशागत संस्थामा गैर पेशाकर्मीको बाहुल्यता

१७२ जना सदस्य रहेको फोटो पत्रकारहरुको संस्थामा फोटो पत्रकारभन्दा अरु धेरै भए भन्दै ३० जना साँच्चैका फोटो पत्रकारले अधिवेशन वहिष्कार गरेछन्। नेपालमा धेरैजसो यस्ता 'प्रोफेसनल' संस्थामा त्यस काममा लागिरहेका भन्दा अरुको बाहुल्यता हुन्छ।

Sunday, September 4, 2011

देश बिग्रिएको नेता धेरै बोलेर हो, नबोलेर हैन

हुन त आफ्नै वर्ग (पत्रकार) विरोधी कुरा पर्‍यो। तर पनि सल्लाह मान्ने‌ भए बाबुरामजीले यो एउटा एउटा पत्रिका, टिभी, रेडियोमा अन्तरवार्ता दिदैं हिड्नु भन्दा हरेक १५/२० दिन जतिमा करिब ३० जना सम्म अलिक बुझेका पत्रकार भेला पारेर व्यवस्थित पत्रकार सम्मेलन गरे राम्रो हुन्छ। नेपाल बिग्रिएको नेता धेरै बोलेर हो, नबोलेर हैन....

Saturday, September 3, 2011

प्रमले कुन शहिदलाई सम्मान गरेर काम सुरु गर्ने

हुन त बाबुराम भट्टराईको केही नकरात्मक कुरा गर्यो कि पिटाइ खाइहालिन्छ कि भन्ने डर छ आजभोलि सोसाइटीमा। 'कसैलाई केही गर्नै नदिने, आफूले केही नगर्ने - खाली नकरात्मक टिप्पणी मात्र गर्ने' भन्ने जस्तो आरोप लागिहाल्छ। तै पनि देखेको कुरा लेख्न खसखस लागिहाल्छ।

अरु काम राम्रै गरे पनि बाबुराम भट्टराई प्रधानमन्त्री हुने वितिकै शहिदप्रति सम्मान व्यक्त गर्ने नाममा फर्पिङ पुगेर नेपालमा कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको शालिकमा माल्यार्पण गरेको चित्त बुझेको छैन। प्रधानमन्त्री हुनासाथ शहिदलाई सम्मान गरेर काम सुरु गर्ने परम्परा अनुसार उनी फर्पिङ गएका हुन्। पुष्पलाल के देशका शहिद हुन् ? कि बाबुराम भट्टराई कम्युनिस्टका मात्र प्रधानमन्त्री हुन् ?

बधाईका विज्ञापन

पत्रिकाहरुमा आएका बधाई हेर्दा त बाबुराम भट्टराई कि गोरखाका कि म्यानपावर र ठेकदारका कि उद्योगपति र व्यापारीका मात्र प्रधानमन्त्री हुन् कि जस्तो लाग्न थाल्यो। गोरखाका विभिन्न संस्थाले मात्र बधाई भन्दै देको विज्ञापनका लागि करोड रुपैयाँ खर्च गरे झैं मान्याछु। बाबुराम जीले पत्रिकाँ दिने विज्ञापनको साटो बरु एउटा बैंक खाता दिएर त्यो रकम त्यसमा जम्मा गर त्यसलाई म जनहितकारी काममा खर्च गर्छु भने हुने। पत्रिका साहुहरु भने मेरो यो प्रस्तावसित खुब रिसाउलान्...

Thursday, September 1, 2011

मिस नेपालको विरोध/प्रायोजन दुबै हुन छाड्यो

माओवादी परिवर्तन भाछैन भन्नेलाई त गोपीक्याँच नै भन्न पर्छ। उहिले उहिले मिस नेपाल हुँदा कति विरोध गर्थे माओवादीले ? अहिलेको संविधानसभा हल भित्र पहिले मिस नेपाल हुँदा गेट बाहिर माओवादी महिला र प्रहरीबीच कस्तो लछार पछार नै चल्थ्यो। अहिले आर्मीको हेडक्वाटराँ मिस नेपाल प्रतियोगिता हुँदा पनि सरकारको नेतृत्व गरेका माओवादी चुपोचाप बसिरहेका छन्... परिवर्तन बिस्तारै हुने कुरा रच आत्तिएर कहाँ हुँदोरहेछ र  ?